आजकै दिन : पहिलो विश्वकप क्रिकेट सुरु


काठमाडौँ — सन् १९७५ मा आजकै दिन (जुन ७) मा पहिलो विश्वकप क्रिकेट प्रतियोगिता सुरु भएको थियो । इंग्ल्यान्डमा ७ जुनमा सुरु भएको प्रतियोगिता जुन २१ सम्म चलेको थियो ।


प्रतियोगिता प्रुडेन्सियल एसुरेन्स कम्पनीको प्रायोजनमा सम्पन्न भएको थियो । प्रतियोगितामा ६ वटा टेस्ट खेल्ने र २ वटा टेस्ट नखेल्ने राष्ट्र सहभागी थिए । ६० ओभरमा खेलाइएको म्याचमा खेलाडीका लागि सेतो जर्सीको व्यवस्था गरिएको थियो । क्रिकेट बल भने रातो रंगको खेलाइएको थियो ।
खेल इंग्ल्यान्डका ७ स्थानमा खेलाइएको थियो । सहभागी टिमलाई २ समूहमा विभाजन गरी प्रत्येक टिमले अरू हरेक टिमसँग खेल खेलाइएको थियो । हरेक समूहका दुई/दुई उत्कृष्ट टिम सेमिफाइनल पुगेका थिए भने बिजेताले फाइनल खेलेका थिए ।
प्रतियोगितामा टेस्ट खेल्ने राष्ट्रहरू इंग्ल्यान्ड, अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, पाकिस्तान र वेस्ट इन्डिज तथा टेस्ट नखेल्ने श्रीलंका र पूर्वी अफ्रिका सहभागी थिए । लर्डसमा भएको फाइनलमा अस्ट्रेलियालाई १७ रनले पराजित गर्दै वेस्ट इन्डिजले प्रतियोगिता जितेको थियो ।
दोस्रो (१९७९) र तेस्रो (१९८३) मा भएका विश्वकप क्रिकेट प्रतियोगिता पनि इंग्ल्यान्डमै भएका थिए । भारतले तेस्रो विश्वकप आयोजनाका लागि दाबी पेस गरेको भए पनि आईसीसीले पर्याप्त स्रोत साधनका कारण देखाउँदै इंग्ल्यान्डमा नै प्रतियोगिता आयोजना गर्ने निर्णय लिएको थियो । १९८७ को विश्वकप क्रिकेट भने भारत र पाकिस्तानले संयुक्त रूपमा आयोजना गरेका थिए । उक्त प्रतियोगितादेखि खेल ५० ओभर खेलाउन थालिएको हो ।
प्रकाशित : जेष्ठ २४, २०८० ०७:१७