आजकै दिन : इजरायलद्वारा लेबनानमाथि आक्रमण


काठमाडौँ — सन् १९८२ मा आजकै दिन (जुन ६) मा इजरायलले लेबनानमाथि आक्रमण सुरु गरेको थियो । बेलायतका लागि इजरायली राजदूत सोलोमो आर्गोभको हत्या गर्ने प्रयासपछि दुई देश युद्धको अवस्थामा पुगेका थिए ।


१९८२ को जुन ३ मा प्यालेस्टाइन लिबरल अर्गनाइजेसन (पीएलओ) को अबु निदाल समूहका एक बन्दुकधारीले लन्डनमा आर्गोभमाथि आक्रमण गरेका थिए । आक्रमणलगत्तै उपचारका लागि अस्पताल पुर्याइएका उनलाई २००३ मा मृत्यु हुनुअघिसम्म कोमामा राखिएको थियो ।
इजरायली प्रधानमन्त्री मेनाचेम बेगिनले आक्रमणका लागि पीएलओ जिम्मेवार रहेको आरोप लगाएका थिए । जसका कारण जुन ६ मा इजरायली फौजले लेबनानमा आक्रमण सुरु गरेको थियो । आक्रमणका क्रममा इजरायली सेनाले लेबनानको राजधानी बेरुतमाथि घेराउ गरेको थियो ।
दुई देशबीचको युद्धका क्रममा करिब २० हजार सर्वसाधारणको मृत्यु भएको लेबनानका अधिकारीले दाबी गरेका थिए । त्यसक्रममा इजरायल र सिरियाबीच पनि लडाइँ भएको थियो ।
प्रकाशित : जेष्ठ २३, २०८० ०७:४२