फोटो फ्रेम बनाउन भ्याइनभ्याई

बाँसबाट फ्रेम, फोटो फ्रेम, फूलदानी, गमला तथा सजावटका कलात्मक सामग्री बनाएर प्लास्टिकका सामग्री विस्थापित गर्ने प्रयासमा पाल्पाका मोतीलाल

जेष्ठ २२, २०८०

माधव अर्याल

पाल्पा — भर्खर सरकारी सेवामा प्रवेश गरेका मोतीलाल राई फुर्सदमा बाँसका कलात्मक सामग्री बनाउँथे । जिल्ला अदालतमा सवारी चालकको जागिर मिलेपछि पाल्पामा डेरामा बस्न थाले । साँघुरो डेरामा उनले फुर्सदमा बाँस र त्यसको जराबाट सजावटका सामग्री बनाउने गर्थे । तर सामग्री कहाँ बिक्री गर्ने भन्ने चिन्ता थियो ।

अन्य केही मेसो नपाएपछि विभिन्न स्थानमा लाग्ने मेला–महोत्सव पुगेर सामग्री बिक्री गर्थे । कतिपय पसलमा राखिदिन अनुरोध गर्दै बिक्री भएपछि मात्रै पैसा दिन आग्रह गर्थे । ‘विशेष गरी त्यसबेलामा मेला, महोत्सवमा लगेर बिक्री गर्ने गरिन्थ्यो,’ उनले भने, ‘त्यसबेलामा काठका कलात्मक सामग्री बनाउन खप्पिस अम्मर गुरुङ राईका लागि प्रेरणाका स्रोत बनेका थिए ।’ 

 गुरुङ र राईको हातमा गज्जबको सीप थियो । तर, अलग–अलग काम गर्थे । राईले बाँसका कलात्मक सामग्री र गुरुङले काठका सामग्री बनाउँथे । तर, कतिपय स्थानमा दुवै जना मिलेर हिँडेका हुन् । राईको सरकारी जागिरे भएकाले बिहान बेलुकाको समय सदुपयोग गर्नुपर्ने बाध्यता थियो । साँघुरो डेरामा नमिलेर कार्यालयका सिँढीमा बसेर काम गर्दा बिहेसमेत भएको थिएन । बाँसबाट फूलदानी, गमला, फ्रेम, फोटो फ्रेम, अन्य सजावटका कलात्मक सामग्री बनाउने उनमा कला छ ।

 ‘बिस्तारै यसलाई बढावा दिन सकिन्छ कि भन्ने सोच आयो,’ राईले भने, ‘बिहे गरेपछि श्रीमती प्रमिला राईको नाममा घरेलु तथा साना उद्योगमा दर्ता गरेर काम अघि बढाएँ ।’ सुरुमा मेला, महोत्सवमा बिक्री गरे पनि पछि विभिन्न स्थानबाट पसलबाट माग आउन थालेको उनले सुनाए । पछिल्लो समय निगालो, बाँसका सामग्रीबाट बनेका सजावटका सामग्रीको व्यापार खस्किँदै गयो । छिमेकी मुलुकबाट नै बाँस र प्लास्टिकका सजावटका सामग्री भित्रिएको छ । त्यस्ता सामग्रीसँग प्रतिस्पर्धा गर्न चानचुने थिएन । अब भने प्लास्टिकका सामग्री नै विस्थापित गर्न सकिने ठान्छन् उनी । 

 ‘बाँसका सामग्रीको प्रचलन बिस्तारै कमी हुँदै गएको मलाई पनि महसुस भयो,’ उनले भने, ‘सुरुमा थोरै संख्यामा कलात्मक काठको फोटो–फ्रेम बनाएको थिएँ,’ उनले भने, ‘यसको लोकप्रियता र माग बढ्यो । किनभने, छिमेकी मुलुक भारतबाट आउने कलात्मक फ्रेमसँग प्रतिस्पर्धा गर्न सक्ने गरी कलात्मक फ्रेम बनाउन सिकें ।’ सम्मान, पुरस्कारका लागि आवश्यक फोटो–फ्रेमको देशव्यापी माग आउन थालेको छ । हुन त अहिले रूपन्देहीका एक व्यापारीले सबै सामग्री लग्छन् । उनलाई बजारको कुनै चिन्ता छैन । 

 ‘मैले सस्तोमा सामग्री बनाएकाले पनि बजारमा कुनै समस्या छैन,’ उनले भने, ‘हेर्दा कलात्मक, बुट्टेदार र राम्र्रो देखिन्छ । त्यसैले बिक्रीमा पनि समस्या छैन ।’ जसले गर्दा बाँसका सामग्री छाडेर पछिल्ला वर्षमा कलात्मक फोटो–फ्रेम बनाउन सुरु गरेको उनले बताए । घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा मोती बाँस तथा काष्ठ हस्तकला उद्योग दर्ता गरेर काम गरेका छन् । छिमेकी मुलुकबाट धेरै सस्तोमा बाँस तथा प्लास्टिकका सजावटका सामग्री सहजै भित्रिने भएकाले घरेलु बजार प्रभावित भएको उनको अनुभव छ । हेर्दा आकर्षक र सस्तो हुने भए पनि निगालो र बेत–बाँसका सजावटका सामग्रीको बिक्री घटेको छ । त्यसैले पेसामा केही परिवर्तन ल्याए पनि कलात्मक सामग्री बनाउन भने नछाडेको उनले बताए । 

 सानैदेखि केही न केही काम गर्ने बानी भएका राईलाई बाँसबाट काठको काम गर्ने मन जाग्यो । सहज भने थिएन, लगानी गर्नुपर्ने भयो । बैंकबाट ऋण लिएर मेसिन खरिद गरे । कामलाई पूर्ण व्यावसायिक बनाए । सरकारी जागिर खान हिँड्नुपर्ने भएकाले श्रीमती प्रमिलाको साथले नै उनलाई अहिलेको अवस्थामा पुर्‍याएको छ । नियमित १० जनाले उनको कलात्मक फोटो–फ्रेम बनाउने सानो उद्योगमा रोजगार दिएका छन् । आवश्यकताअनुसार पाँच/सात जनालाई थप रोजगारी दिने गर्छन् । बजारको अहिलेसम्म कुनै समस्या छैन । ‘मेरो सानैदेखिको कलात्मक सामग्री बनाउने रुचिलाई छाड्नै मन लागेन,’ हेटौंडा उपमहानगर–५ सानो पोखरा मकवानपुरमा जन्मिएका राईले भने, ‘अहिले मलाई जन्मघरभन्दा कर्मघर नै प्यारो लागेको छ । यहीं बसेर धेरै प्रगति गरेको छु ।’

 तानसेन नगरपालिका–६, बसपार्क नजिकमै घर बनाएका छन् । नजिकमै उनको कारखाना छ । वर्षायाममा कारखानामा काम गर्न असहज हुन्छ । त्यसैले घरमै तल्ला थपेर हल बनाएका छन् । ‘बुट्टा भर्ने र अन्य काम गर्न घरमै सहज हुन्छ,’ उनले भने, ‘त्यसैले ऋणधन गरेर भए पनि घरमै तल्ला थपेको छु ।’ जिल्ला अदालतको जागिर छाडेका छैनन् । श्रीमतीले उद्योगमा पूर्ण सहयोग गर्ने भएकाले उनले बिहान–बेलुकी काममा सहयोग गर्छन् । कलात्मक बनाउने मुख्य काम राई आफैंले गर्छन् ।

त्यसबाहेक चुरी स्ट्यान्ड, विवाह, व्रतबन्ध, चौरासी पूजाका ठूला फ्रेम पनि बनाउने गर्छन् । छिमेकी मुलुकबाट आयातितभन्दा सस्तोमा उनको फ्रेम पाइने भएकाले पनि बजारमा प्रतिस्पर्धा गर्न सहज छ । सम्पूर्ण काम सकेर तयारी सामान प्याक गरेर सप्लायर्सलाई पठाउने उनले बताए । वार्षिक झन्डै ३० लाख रुपैयाँको उनले फोटो–फ्रेम बिक्री गर्छन् । ‘कोभिडपछि केही व्यापार खस्किएको छ,’ उनले भने, ‘आगामी वर्षमा व्यापार बढ्ला भन्ने लागेको छ ।’ काम गर्न दुःख हुने र बुट्टा बनाउन समय लाग्ने भएकाले मागअनुसार बजारमा पुर्‍याउन नसकेको उद्योगकी सञ्चालक प्रमिलाले बताइन् । घरधन्दासँगै उद्योगको रेखदेखको जिम्मा प्रमिलाकै हो । एक छोरा इन्जिनियरिङ पढ्दै छन् भने छोरीले विज्ञान विषय लिएर ११ मा पढ्छिन् ।

युवा ग्यालरी

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully