१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

दुबईबाट फर्केर गाउँले अचार

गाउँमा उत्पादन हुृने काफल, अमला, लसुन, खुर्सानी खरिद गरेर अचार बनाएर सहर पठाउँदै अर्घाखाँचीका युवा
वीरेन्द्र केसी

अर्घाखाँची — सन्धिखर्क नगरपालिका–८ पकलेका युवा सुमन अर्यालले सन्धिखर्कमा थरीथरीका अचारका परिकार तयार पारेर बजारका भान्सामा पुर्‍याउँछन् । गाउँमा फल्ने काफल, अमला, लसुन, खुर्सानी, अकबरे खुर्सानी र मिक्स अचार रातभर तयार पार्ने र दिनभर बजारमा बिक्री गर्छन् । अचारका लागि चाहिने सामान खरिद गर्न उनी गाउँगाउँ डुल्छन् ।

दुबईबाट फर्केर गाउँले अचार

‘स्थानीय उत्पादन संकलन गरेर सिजनअनुसारका विभिन्न प्रकारका अचार तयार गर्छु,’ उनले भने, ‘यही वैशाख ११ गतेबाट बजारमा अचार ल्याएका छौं । बिस्तारै मार्केट बढ्दो छ ।’ केही वर्षअघिसम्म यसरी अचार बिजनेस गर्ने सोच उनलाई थिएन । छिमेकी साथीभाइ वैदेशिक रोजगारीमा जानेको लहरले उनलाई स्वदेश बस्न मन लागेन । केही वर्षअघि उनी मलेसिया पुगे । म्यानपावर कम्पनीले नक्कली भिसामा पठाएका कारण ११ महिनासम्म जेल बसेर फर्केको उनले बताए । त्यसपछि दुबई गए । त्यहाँ पनि राम्रो कमाइ नभएपछि स्वदेश फर्केर अचार उद्योग सञ्चालन गरेको उनले बताए ।

स्वदेश फर्केपछि अचार उद्योग खोल्न छत्रदेव गाउँपालिका–५ का मोहन रानाभाट दौंतरी भए । ‘गाउँमा उत्पादन भएको काफल, अमला, लसुन, खुर्सानी खरिद गरेर हामी अचार बनाउँछौं,’ उनले भने, ‘बिस्तारै ठूला सहरमा पठाउने लक्ष्य छ ।’ मलेसिया र दुबईमा दुःख पाएकै कारण आफ्नै देशमा अचार उद्योग सञ्चालन गरेको उनले बताए । सानो लगानीमा सुरु भएको व्यवसायलाई बिस्तारै ठूला सहरका होटल, रेस्टुरेन्ट र व्यक्तिका भान्सामा पहाडको अचार पुर्‍याउने लक्ष्य रहेको उनले सुनाए । ‘विदेशमा धेरै दुःख भोगें,’ उनले भने, ‘दैनिकी पीडादायी हुन्छ । यहाँ आफ्नो बिजनेससँगै परिवारसित बसेर गाउँको सामाजिक काममा पनि सक्रिय भइन्छ ।’

रानाभाट १७ वर्ष भारतको दिल्लीमा गाडी चालकको काम गरेर फर्किएका हुन् । ‘दिल्लीमा गाडी चलाउँदा अचार उद्योगमा लगानी गरेको देखेको थिएँ,’ उनले भने, ‘स्वदेश फर्केर आफैं उद्योग खोलें । भारतमा भन्दा आफ्नै ठाउँमा केही गर्नु ठीक लागेर म फर्कें ।’ अचारका लागि सबै सामान जुटाएर आफैं तयार गरेर डब्बामा राखेर बजार पुर्‍याउने उनले बताए । ‘हाम्रो उद्योगले किसानलाई पनि टेवा दिन्छ,’ उनले भने, ‘अमला, काफल, खुर्सानी, लसुन, आँपलगायत सिजनअनुसारका सबै खरिद गरिदिन्छौं । हामीले अर्घाखाँचीकै उत्पादनको अचार तयार गर्छौं ।’

दुबई र कतारमा रोजगारीबाट फर्किएका पशुपति पाण्डेले सन्धिखर्क नगरपालिका–५ बलेवाङमा ३० रोपनी जमिन भाडामा लिएर दुई वर्षदेखि अकबरे (डल्ले) खुर्सानी खेती गरेका छन् । उनले पनि अचार तयार गर्छन् । घरमै आधा र एक किलोको डब्बामा खुर्सानीको अचार तयार गरेर बजार पठाउने उनले बताए । काठमाडौं र बुटवलका मार्केट पसलमा गाडीबाट पठाइने र माग बढ्दो रहेको उनले सुनाए । ‘खुर्सानी पनि बिक्री भएको छ,’ उनले भने, ‘खुर्सानी चाउचाउ उद्योग र तरकारी पसलेले खरिद गर्छन् । अचार काठमाडौंका ठूला मार्केट पसलमा जान्छ ।’ स्वास्थ्यलाई राम्रो मान्दै खुर्सानी र अचारको माग बढ्दो छ । जवानी छँदासम्म अरूको देशमा श्रम गर्ने र उमेर ढल्केपछि फर्कनुभन्दा युवा उमेरको बल आफ्नै माटोमा खर्चिंदा धेरै राम्रो हुने भएकाले आफू कृषि उद्यममा लागेको पाण्डेले बताए ।

प्रकाशित : जेष्ठ २३, २०८० ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?