आजकै दिन : अमेरिका र सोभियत संघले गरेका थिए क्षेप्यास्त्र सन्धि

जेष्ठ १२, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९७२ मा आजकै दिन (मे २६) मा अमेरिका र सोभियत संघले बलिस्टिक क्षेप्यास्त्रविरुद्धको सन्धि गरेका थिए । सन्धिमा तत्कालीन अमेरिकी राष्ट्रपति रिचार्ड निक्सन र सोभियत संघका नेता लियोनिद ब्रेन्झनेबले हस्ताक्षर गरेका थिए । 

बलिस्टिक क्षेप्यास्त्रको प्रयोग रोक्ने विषयमा अमेरिकाले १९६६ मा पहिलो पटक सोभियत संघसँग प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव रणनीतिक हतियार सीमासम्बन्धी वार्ताका क्रममा गरिएको थियो । तर करिब तीन वर्षसम्म त्यस विषयमा कुनै छलफल तथा प्रगति भएको थिएन । पछि १९७२ मा मस्कोमा आयोजित एक सम्मेलनका दौरान दुवै देशबीच सहमति जुटेको थियो । 

बलिस्टिक क्षेप्यास्त्र नियन्त्रणका लागि गरिएको सन्धि त्यसै वर्षको अन्त्यमा दुवै देशका संसद्बाट अनुमोदित भएको थियो । अमेरिका २००२ मा उक्त सन्धिबाट अलग भएको थियो । त्यससँगै अमेरिका र रुसले २००२ को मे २४ मा रणनीतिक आक्रमण नियन्त्रण गर्ने विषयमा सन्धि गरेका थिए ।

युवा ग्यालरीआजकै दिन

कान्तिपुर

Link copied successfully