कलामा यौनजीवन

अनिश तिवारी

सिन्धुपाल्चोक — अमूर्त यौनजीवनलाई आफ्नो ढुंगा, जरादेखि चित्रकलामा उतार्ने चौतारा साँगाचोकगढी–५ का अमित घिमिरे झट्ट हेर्दा कुनै सन्तभन्दा फरक लाग्दैनन् ।

फलफूलसँग चित्रको समायोजनबाट मानिसको यौनजीवन झल्काउने र बगर कलाका पारखी उनी भन्छन्, ‘खोलामा खेर गएका कलात्मक ढुंगा र जरा प्रयोग गर्छु, क्यानभास पनि जरा, ढुंगाकै भएपछि यस्तो चित्र एकदमै आकर्षक देखिन्छ ।’

प्रकृतिले यौनलाई विभिन्न तरिकाले देखाएकाले अमूर्त चित्रसँग समायोजन गर्दा वास्तविक जीवन पाएको महसुस हुने बताउँछन् उनी । जराजुरी, फलफूल तथा तरकारी, बगरका ढुंगालाई कलामार्फत उनले रहस्यमयी यौनजीवन उतार्छन् । प्रकृतिका सबै वस्तुले यौनको झल्को दिने दाबी गर्छन् उनी ।


घिमिरेले एक दशकअघि जराजुरीबाट बनाइएका कला र अमूर्त चित्र प्रदर्शनी गरेका थिए । शिक्षण पेसाको सिलसिलामा पैदल जाँदै गर्दा बाटोमा फालिएका रूखका जराजुरी संकलन गरेर उनले आफ्नो कला प्रस्तुत गरेका थिए । जरामा उनले मानव आकृति देखाई यौन झल्काएका थिए । प्रदर्शनीलाई उनले नाम दिएका थिए, ‘कला र यौन’ । घिमिरेले प्रयोग गरेको फलफूलसँग चित्रको समायोजनबाट मानिसको यौनजीवन झल्काउने कला सम्भवतः नेपालकै पहिलो हो । ‘यो विल्कुलै नयाँ प्रयोग हो, सम्भवतः कसैले नगरेको हुन सक्छ,’ उनी भन्छन्, ‘अरू कलाको तुलनामा झट्ट हेर्दा केहीलाई यो अश्लीलजस्तो लाग्न सक्छ । तर यसले जीवनको आवश्यकता झल्काएको छ ।’


घिमिरेले हालै चुत्रोको दानालाई युवतीको वक्षस्थलसँग तुलना गरेर नयाँ कला पस्केका छन् । हालसम्म एक हजार जति अमूर्त चित्र कोरिसकेका घिमिरेका कला काठमाडौंका क्याफेहरूमा समेत राखिएको छ । कतिपय चित्रहरू साहित्यिक पुस्तकका कभर पनि बनेका छन् । आफैं साहित्यिक व्यक्ति भएकाले पुस्तकका लागि कोरेका चित्रको पारिश्रमिक पनि नलिने उनले बताए । घिमिरे सिन्धुपाल्चोकबाट प्रकाशित हुने ओखरेनी साप्ताहिकका सम्पादक, वकिल, साहित्यकार, चित्रकार, समाजसेवी अनि रेडियोका कार्यक्रम प्रस्तोतासमेत हुन् ।

कविता, गीत, मुक्तक, हाइकु, नाटकलगायतका विधामा उनको कलम चल्छ । साहित्यकार चन्द्रप्रसाद न्यौपानेको बृहत्तर महाकाव्य चन्द्रयुगको आवरण कलासमेत उनकै हो । फेरि, एकल अमूर्त चित्रको प्रदर्शनी तयारीमा जुटेका घिमिरे कला, साहित्यमा योगदान गरेबापत वेस्ट लिरिस एवार्ड, प्रगति कला सम्मान, सरस्वती कलासम्म दर्जनभन्दा बढी साहित्यिक उपाधि पाइसकेका छन् ।


उनका ‘तिम्रो यादमा’ कथासंग्रह, संयुक्त हाइकु संग्रह, सलह लघुकथा संग्रह प्रकाशित छन् । उनले लेखेको मौन व्यथा, निरंकुश प्रजातन्त्र, कालरात्रि, कालो सडक, जिन्दगी, त्रासलगायतका दर्जन नाटकको मञ्चन भइसकेको छ ।

प्रकाशित : जेष्ठ १२, २०८० ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्

रेशमको सजाय माफी निवेदन राष्ट्रपति कार्यालयमा

राष्ट्रपति कार्यालयको राय लिएपछि गृह मन्त्रालयले सजाय माफी प्रस्ताव मन्त्रिपरिषद्‌मा लैजाने, मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपतिबाट निर्णय हुने
प्रकाश धौलाकोटी

काठमाडौँ — टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी माग गरिएको निवेदन राष्ट्रपति कार्यालय पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली चौधरीको निवेदन लिएर बुधबार राष्ट्रपति कार्यालय पुगेको थियो ।

त्यस क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग गणतन्त्र दिवसका दिन सजाय माफी दिने प्रक्रियाबारे छलफल भएको थियो ।

राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले चौधरीको निवेदनमा अध्ययन भइरहेको जानकारी दिए । ‘अदालतको फैसला निकै मोटो छ, समय लाग्छ,’ उनले भने । राष्ट्रपति कार्यालयको राय लिएपछि गृह मन्त्रालयले सजाय माफीको प्रस्ताव मन्त्रिपरिषद्मा लैजानेछ । मन्त्रिपरिषद्ले सिफारिस गरेपछि राष्ट्रपतिले आममाफी दिने निर्णय लिनेछन् । चौधरीले माफी पाए करिब १५ वर्ष कैद सजाय मिनाहा पाउनेछन् ।

संविधानको मस्यौदामा उल्लेख गरिएका विषयवस्तुको विरोधमा २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत भएको थियो । घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हबलदार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरी वरिष्ठ हबलदार ललित साउद, सहायक हबलदार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी तथा डेढ वर्षीय बालक टेकबहादुर साउदको ज्यान गएको थियो ।

उक्त घटनाको योजनाकारका रूपमा चौधरीलाई अभियोजन गरिएको थियो । ५८ जनाविरुद्ध अभियोजन गरिएकामा ३१ जना अझै फरार छन् । पक्राउ परेका २७ जनाविरुद्ध मुद्दा चलाइएको थियो ।

कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले चौधरीलाई जन्मकैद (२० वर्ष) हुने फैसला गरेका थिए । उक्त फैसलालाई सर्वोच्च अदालतले जेठ ३ मा सदर गरेको छ । जन्मकैदको सजाय पाएका चौधरीले श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर स्थापना गरेको नागरिक उन्मुक्ति पार्टी अहिले सरकारमा छ । श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथ गरिबी निवारणमन्त्री छिन् । सत्ता–गणितमा महत्त्वपूर्ण बनेको नागरिक उन्मुक्ति पार्टीले सदन र सत्ताबाट बार्गेनिङ गरेका कारण सरकारले चौधरीको सजाय माफी प्रक्रिया अघि बढाएको हो ।

नागरिक उन्मुक्ति पार्टीले गठन भएदेखि नै चौधरीको रिहाइलाई मुख्य मुद्दा बनाउँदै आएको थियो । चौधरीलाई जन्मकैदको फैसला सर्वोच्च अदालतबाट सदर भएलगत्तै उक्त पार्टीले गिरीशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्नॅपर्ने भन्दै आन्दोलनको घोषणा गरेको थियो । सरकारबाट रिहाइको अनौपचारिक आश्वासन पाएपछि आन्दोलनका कार्यक्रम फिर्ता गरिएको छ ।

संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुलतबी, परिवर्तन वा कम गर्न सक्ने उल्लेख छ । त्यस्तै, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा १५९ ले अदालतको फैसलाबमोजिम सजाय पाएको व्यक्तिले माफी पाउन, मुलतबी राख्न, परिवर्तन वा कम गर्न गृह मन्त्रालयमार्फत राष्ट्रपतिलाई निवेदन दिन सक्ने व्यवस्था छ । त्यही व्यवस्थाका आधारमा सरकारले चौधरीलाई सजाय माफी दिने प्रक्रिया अघि बढाएको हो ।

चौधरी ‘फरार’ अवस्थामै २०७४ को चुनावमा कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले २०७४ फागुन १४ मा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

प्रकाशित : जेष्ठ १२, २०८० ०६:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×