२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सेवा आश्रममा युवा स्वयंसेवी

तृप्ति शाही

वीरेन्द्रनगर — काभ्रेको धुलिखेल नगरपालिका–११ की २५ वर्षीया सञ्जिता गौतमले व्यवस्थापानमा स्नातक सकेकी छन् । पढेलेखेकी भए पनि उनी जागिर खाएर आफ्नो भविष्य बनाउनेभन्दा पनि अरूको सेवामा खटिएकी छन् । यसरी अरूका लागि जीवन बिताउन थालेको पनि ७ वर्षभन्दा बढी भइसक्यो ।

सेवा आश्रममा युवा स्वयंसेवी

अहिले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा रहेको मानव सेवा आश्रममा रहेर उनले कोही नभएकाको सहारा बनेर काम गरिरहेकी छन् । आश्रममा मानसिक समस्या भएका, अलपत्र परेका तथा घरपरिवार नभएर बेसहारा बनेकाहरू बस्छन् । धेरैजसो ज्येष्ठ नागरिक रहेको यो आश्रममा बालबालिकाहरू पनि छन् ।

१८ वर्षकै हुँदा सञ्जिताले आश्रमको सेवा थालेकी हुन् । बीबीएस प्रथम वर्षमा पढ्दै गर्दा मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले एक दिन उनको गाउँमा एउटा कार्यक्रम गर्न पुगेका थिए । खासमा आमाहरूका गरिएको कार्यक्रममा आफ्नी आमाले नभ्याएपछि उनी पुगेकी थिइन् । तर त्यही कार्यक्रमले उनको जिन्दगी बदलियो र उनी सेवा गर्नतर्फ अग्रसर बनिन् । त्यसपछि मानव सेवा आश्रमबारे बुझ्न र हेर्न मन लागेर संस्थाको केन्द्रीय कार्यालय हेटौंडा पुगिन् । ‘अनि मलाई घर फर्कन मन लागेन,’ उनले भनिन्, ‘केही समय हेटौंडाकै आश्रममा बसे, अहिले सुर्खेतमा स्थापनाकालदेखि नै काम गरिरहेकी छु ।’

छोरी पढेपछि जागिर खाएर घरपरिवार हेरोस् भन्ने उनको परिवारको चाहना थियो । तर उनले जागिरभन्दा सेवालाई ठूलो ठानेर यसैमा लाग्ने निर्णयमा पुगिन् । पहिलेपहिले बिदामा घर गएको बेला पनि अब नजाऊ भन्ने उनका बुबाआमा आजभोलि छोरीले बेसहारालाई गरेको सेवा देखेर खुसी छन् । आश्रममा सञ्जिताले भ्याएसम्म सबै काम गरिरहेकी हुन्छिन् । काम गरेबापत कुनै रकम लिन्न् । कोही नभएको मान्छेलाई देख्दा उनीहरूका लागि केही गर्नुपर्छ भन्ने लागेर यसरी सेवा गरिरहेको उनले बताइन् । ‘मलाई उनीहरूको खुसीले नै सन्तुष्टि दिन्छ,’ उनले भनिन्, ‘जति सक्छु, दुःखी, गरिबकै सेवामा तल्लीन हुन्छु ।’

आश्रममा सञ्जिताका २२ वर्षीय भाइ सुजन पनि सेवारत छन् । दिदीलाई भेट्न आश्रममा आइरहने सुजन एक वर्षबाट आश्रममा दिदीसँगै सेवा गरिरहेका छन् । ‘दिदीलाई भेट्न आउँदा यहाँका बुबाआमाहरू देखेर फर्किएर जान मन लागेन,’ सञ्जीवनी कलेज धुलिखेलमा व्यवस्थापन संकायमा स्नातक तह पढ्दै गरेका उनले भने, अहिले स्वअध्ययन गरिरहेको छु, परीक्षा दिन धुलिखेल जान्छु ।’ आश्रमको सेवाले मनमा सन्तुष्टि मिलेको उनले बताए । उनले पनि आश्रममा निःशुल्क सेवा गरिरहेका छन् ।

मानव सेवा आश्रममा मकवानपुरको हेटौंडा–५ चिसापानीकी २८ वर्षीया सिर्जना ओली पनि कार्यरत छिन् । उनी प्रदेश प्रमुखका रूपमा आश्रममा सेवारत छिन् । स्नातकोत्तर सकेकी सिर्जना जागिर खान छोडेर १० वर्षदेखि आश्रममा कार्यरत छिन् । ‘परिवारले पढाइलेखाइ गराएपछि जागिर खाएर आफ्नो र परिवारका लागि गरोस् भन्ने चाहना त पक्कै पनि राख्ने रहेछन्,’ उनले भनिन् ‘अहिले आवश्यकतालाई सीमित राखेर काम गर्ने भए गर भनेर परिवारले पनि साथ दिएको छ ।’ आश्रममा निःशुल्क सेवा दिइरहेकी सिर्जनाले विभिन्न विषयमा तालिम दिएर आफ्नो खर्चहरू निकाल्छिन् । खान र बस्नका लागि आश्रममै व्यवस्था भएकाले आफूलाई खासै ठूलो खर्चको जरुरी नहुने उनले बताइन् ।

पेसाले स्वास्थ्यकर्मी २८ वर्षका महेन्द्रकुमार थापा पनि मानव सेवा आश्रमका युवा परिवार संयोजक हुन् । उनले आश्रमलाई सुख होस् वा दुःख जतिबेला पनि साथ दिन्छन् । महेन्द्र आश्रमका लागि बलिया सहयोगी हुन् । उनी आश्रमको कामका लागि आफ्नो काम पनि छोड्छन् । दैलेखको दुल्लु नगरपालिका–४ का महेन्द्र बेसहारा बनेर सडकका हिँडिहेकाहरूदेखि लिएर मानसिक समस्या भएर जंगलमा बसेकाको उद्धार गरेर मानव सेवा आश्रममा ल्याउँछन् ।

सुर्खेतमा २०७५ माघ १८ गतेदेखि सुरु भएको हो मानव सेवा आश्रम । आश्रम रहेको घरको भाडा भने वीरेन्द्रनगर नगरपालिकाले तिर्दै आएको छ अनि बाँकी खर्च भने मुट्ठी दानबाट । दाताहरूले आफ्नो जन्मोत्सव, वैवाहिक उत्सव, पितृहरूको श्राद्धलगायत बेलामा आश्रमलाई सहयोग गर्दै आइरहेका छन् । आश्रममा अहिले ७८ जना आश्रित छन् । अहिलेसम्म आश्रममै २७ जनाको मृत्यु भइसकेको छ भने ६५ जनाले स्वेच्छाले आश्रम छाडेका छन् । १ सय ३४ जनाको पुनःस्थापना भएको आश्रमले जनाएको छ ।

प्रकाशित : जेष्ठ ११, २०८० १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?