२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६१

आजकै दिन : बेलायतमा महिला प्रधानमन्त्री

काठमाडौँ — सन् १९७९ मा आजकै दिन (मे ३) मार्गरेट थ्याचर बेलायतको प्रधानमन्त्रीमा निर्वाचित भएकी थिइन् । कन्जरभेटिभ दलकी नेतृ थ्याचर बेलायतको मात्र नभई समग्र युरोपकै पहिलो महिला सरकार प्रमुख हुन् ।

आजकै दिन : बेलायतमा महिला प्रधानमन्त्री

थ्याचरले निर्वाचित भएको भोलिपल्ट मे ४ देखि करिब ११ वर्ष बेलायतमा शासन गरिन् ।

१९२५ मा इंग्ल्यान्डको ग्रानथाममा जन्मिएकी थ्याचरले अक्सफोर्ड विश्वविद्यालयमा रसायनशास्त्र अध्ययन गरेकी थिइन् । त्यसका साथै उनी वकिलसमेत थिइन् । पहिलो पटक १९५० मा पराजित भएकी थ्याचर १९५९ मा सांसद भएकी थिइन् । १९७० मा कन्जरभेटिभ दलले निर्वाचन जितेपछि इडवार्ड हेल्थको सरकारमा उनी शिक्षा तथा विज्ञानमन्त्री बनेकी थिइन् । १९७४ मा लेबर पार्टी सत्तामा आएपछि प्रतिपक्षी कन्जरभेटिभको छाया सरकारमा उनी जोयन्ट स्याडो चान्सलर थिइन् ।

१९७५ को फेब्रुअरीमा पार्टीको नेता बनेपछि थ्याचरले राष्ट्रिय उद्योग तथा स्रोतको निजीकरण राष्ट्रिय स्वार्थका विषयमा स्पष्ट अडान राखेकी थिइन् । १९७८/७९ मा मजदुरहरूले तलब वृद्धिको माग गर्दै गरेको आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री जेम्स कालाघानले विश्वासको मत जुटाउन नसकेपछि मे ३ मा भएको आमनिर्वाचनबाट थ्याचर विजयी भएकी थिइन् ।

थ्याचरले प्रधानमन्त्री भएलगत्तै सरकारको खर्च कटौती गर्न अधिकांश उद्योगहरू निजीकरण गरिन् । बेलायतले सन् १९८२ मा अर्जेन्टिनाविरुद्ध फकल्यान्ड युद्ध जितेका कारण खराब बेरोजगारी दरका बाबजुद उनी १९८३ मा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री चुनिइन् ।

१९८७ मा अर्थतन्त्र सुधार गर्न सफल भएपछि उनी तेस्रो कार्यकाल प्रधानमन्त्री बन्न सफल भएकी थिइन् । तर, बहुमत आफ्नो पक्षमा नदेखेपछि १९९० को नोभेम्बरमा संसदीय नेतामा प्रतिस्पर्धा गरिनन् । नयाँ नेतामा जोन मेजर निर्वाचित भएपछि उनले १९९० को नोभेम्बरमा प्रधानमन्त्रीबाट राजीनामा दिएकी थिइन् ।

निर्णय क्षमताका साथै सरकार तथा दल सञ्चालनमा निकै दह्रो रूपमा प्रस्तुत हुने गरेकोले रुसी अखबारले उनलाई ‘आइरन लेडी’ (लौह महिला) को संज्ञा दिएको थियो । पछि उनी यही उपनामबाट चर्चित बनिन् । २०१३ अप्रिल ८ मा थ्याचरको ८७ वर्षको उमेरमा निधन भएको थियो । थ्याचरभन्दा अघि सिरिमाभो बन्दरानायके १९६० को जुलाई २१ मा श्रीलंकाको प्रधानमन्त्री बनेकी थिइन् ।

प्रकाशित : वैशाख २०, २०८० ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?