आजकै दिन : कम्बोडियामा खमेर रुज शासन

वैशाख ४, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९७५ मा आजकै दिन (अप्रिल १७) मा खमेर रुजले तत्कालीन खमेर गणतन्त्र (हाल कम्बोडिया) माथि नियन्त्रण कायम गरेको थियो । 

खमेर रुजले नियन्त्रण कायम गर्दै गएसँगै अमेरिकाले १९७५ को अप्रिल १२ मा आफ्ना नागरिक तथा सहयोगीहरूलाई कम्बोडियाबाट फिर्ता लगेको थियो । १९७५ को सुरुवातदेखि खमेर गणतन्त्रले अमेरिकी सेनाको समर्थनमा अन्तिम सहर नोमपेन्हलाई नियन्त्रणमा लिएको थियो । उक्त सहरमाथि नियन्त्रण कायम गरेपछि खमेर रुजले कम्बोडियामा चार वर्ष शासनसत्ता चलाएको थियो । 

सन् १९७५ देखि १९७९ सम्म पोलपोटको नेतृत्वमा उग्र साम्यवादी खमेर रुज सत्ताले १७ देखि ३० लाख मानिसको हत्या गरेको बताइन्छ । यो संख्या त्यतिबेलाको कम्बोडियाको जनसंख्याको एक चौथाइ हो । पोलपोट नेतृत्वको सत्ताले कम्बोडियालाई मध्ययुगीन समयमा धकेलेको बताइन्छ । 

उक्त समय विद्यालयलाई नै जेलमा परिणत गरिएको र अधिकांशलाई चरम यातना दिएर वा अपराध स्वीकार गर्न बाध्य पारेर मारिएको थियो । तीमध्ये धेरै खमेर रुज शासनको विरोध गर्ने बौद्धिक तथा र विभिन्न पेसामा आबद्ध व्यक्तिहरू थिए । भियतनामी सेनाले १९७९ मा खमेर रुज सत्तालाई अपदस्थ गरेको थियो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully