हार्वार्डको नामकरण- विश्व - कान्तिपुर समाचार
आजकै दिन

हार्वार्डको नामकरण

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १६३९ मा आजकै दिन (मार्च १३) मा अमेरिकाको मासाचुसेट्सस्थित युनिभर्सिटी अफ क्याम्ब्रिजको नाम परिवर्तन गरेर हार्वार्ड राखिएको थियो । सन् १६३६ को सेप्टेम्बर ८ मा मासाचुसेट्सको क्याम्ब्रिजमा स्थापित विश्वविद्यालय उपनिवेशकालीन अमेरिकाकै पहिलो हो । 

पादरी जोन हार्वार्डले सहयोग गरेका कारण उनको नामबाट विश्वविद्यालयको नामकरण गरिएको थियो । हार्वार्डले आफ्नो आधा सम्पत्ति (७ सय ७९ पाउन्ड स्टर्लिङ) र करिब ४ सय पुस्तक विश्वविद्यालयलाई दिएका थिए । हाल मासाचुसेट्सस्थित क्याम्ब्रिजमा हार्वार्ड क्याम्पस र बोस्टनमा हार्वाड विश्वविद्यालय छन् । हार्वाडअन्तर्गत अन्डरग्य्राजुएट कोर्सका १४ र अन्य कोर्सका लागि १३ स्कुल छन् ।

विश्वकै उत्कृष्ट विश्वविद्यालय हार्वार्डमा हाल ३५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विश्वभर हाल ४ लाखभन्दा बढी हार्वार्डका पूर्वविद्यार्थी छन् । सन् २००४ मा हार्वार्ड फाइनान्सियल एड इनिसिएटिभ सुरु भएयता विश्वविद्यालयले विद्यार्थीका लागि २.५ बिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग गरिसकेको जनाएको छ ।

प्रकाशित : फाल्गुन २९, २०७९ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्

मछिन्द्रले खाता खोल्यो

सहिद स्मारक लिगमा आइतबार साबिक विजेता मछिन्द्रले कीर्तिमानी पूर्वविजेता मनाङसँग गोलरहित खेलेर अंक बटुलेको छ
कान्तिपुर संवाददाता

काठमाडौँ — लगातार दुईपल्टको डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९–८० को तेस्रो चरणमा आएर बल्ल अंकको खाता खोलेको छ । मछिन्द्रले आइतबार एन्फा कम्प्लेक्समा मनाङ मर्स्याङदीविरुद्ध गोलरहित नतिजा निकाल्दै एक अंक जोडेको हो ।


जावलाखेल र आर्मीसँग हारेको मछिन्द्रले कीर्तिमान आठपल्टको च्याम्पियन मनाङविरुद्ध केही सकारात्मक प्रदर्शन गर्‍यो । गोलका केही अवसर सिर्जना गर्‍यो । सुरुमै पूजन उपरकोटीको प्रहारमा मनाङका गोलकिपर दीप कार्कीले राम्रो बचाउ गरे । डिफेन्डर देवेन्द्र तामाङ र मैदानमा फर्किएका स्ट्राइकर विमल घर्तीमगरको प्रयास पनि असफल रह्यो । अन्त्यतिर ओमालाजा करिमले प्रहार गरेको बलमा पोस्ट बाधक बनेपछि मछिन्द्र पहिलो जित हात पार्न चुक्यो ।

तेस्रो चरणको खेल सकिदा मछिन्द्र एक अंकसहित रेलिगेसन क्षेत्रमै रहेको छ । तीनै खेल हारेको पुलिसले मात्रै अंक जोड्न सकेको छैन । मनाङले एक जित र दुई बराबरीसँगै ५ अंक बनाएको छ ।

च्यासल रंगशालामा आइतबारै भएको खेलमा दुई गोलले पछाडि परेको स्थितिमा सुधार गरेर एनआरटीलाई ३–३ मा रोकेको आर्मीको पनि ५ अंक नै छ । ए डिभिजन लिगको नवप्रवेशी चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युवा क्लबले सबै खेल जितेर ९–९ अंक जोडेका छन् । जावलाखेल ७ अंकसहित तेस्रोमा छ । चर्च ब्वाइज, सातदोबाटो, जावलाखेल, आर्मी र मनाङबाहेक बाँकी सात टिमले चौथो चरणको प्रतिस्पर्धाअघि नै हार खेपिसकेका छन् ।

च्यासलमा नवयुग श्रेष्ठले पेनाल्टीमा गोल गर्दै १५ औं मिनेटमा अग्रता दिलाएका थिए । तर, एनआरटीले दोस्रो हाफमा १० मिनेटभित्र तीन गोल गर्दै ३–१ को अग्रता लियो । आर्मीका गोलकिपर विकेश कुथुको कमजोरीको फाइदा लिँदै लालनुन्जानाले ५२ औं मिनेटमा १–१ को बराबरी गरेपछि जिन एनिसेन्ट एम्बोउमीले पेनाल्टी अवसरमा गोल गर्दै ५७ औं मिनेटमा एनआरटीलाई २–१ को अग्रता दिलाए । लालनुन्जानाले ६२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि एनआरटी ३–१ ले अघि बढेको थियो ।

दुई गोलले पछाडि परे पनि आर्मीले खेलमा फर्किने प्रयास गरिरह्यो । आर्मीका सुदील राईले ६८ औं मिनेटमा गोल गर्दै एनआरटीको अग्रता ३–२ मा छोट्याए । दिनेश हेन्जनले फ्रि–किकमा ८६ औं मिनेटमा गोल गरेपछि आर्मीले खल बराबरीमा खेल टुंग्याउँदै अंक हात पारेको हो । यस नतिजासँगै एनआरटीले पनि अंकको खाता खोल्यो ।

प्रकाशित : फाल्गुन २९, २०७९ ०६:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×