काठमाडौँ — सन् १६३९ मा आजकै दिन (मार्च १३) मा अमेरिकाको मासाचुसेट्सस्थित युनिभर्सिटी अफ क्याम्ब्रिजको नाम परिवर्तन गरेर हार्वार्ड राखिएको थियो । सन् १६३६ को सेप्टेम्बर ८ मा मासाचुसेट्सको क्याम्ब्रिजमा स्थापित विश्वविद्यालय उपनिवेशकालीन अमेरिकाकै पहिलो हो ।
पादरी जोन हार्वार्डले सहयोग गरेका कारण उनको नामबाट विश्वविद्यालयको नामकरण गरिएको थियो । हार्वार्डले आफ्नो आधा सम्पत्ति (७ सय ७९ पाउन्ड स्टर्लिङ) र करिब ४ सय पुस्तक विश्वविद्यालयलाई दिएका थिए । हाल मासाचुसेट्सस्थित क्याम्ब्रिजमा हार्वार्ड क्याम्पस र बोस्टनमा हार्वाड विश्वविद्यालय छन् । हार्वाडअन्तर्गत अन्डरग्य्राजुएट कोर्सका १४ र अन्य कोर्सका लागि १३ स्कुल छन् ।
विश्वकै उत्कृष्ट विश्वविद्यालय हार्वार्डमा हाल ३५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विश्वभर हाल ४ लाखभन्दा बढी हार्वार्डका पूर्वविद्यार्थी छन् । सन् २००४ मा हार्वार्ड फाइनान्सियल एड इनिसिएटिभ सुरु भएयता विश्वविद्यालयले विद्यार्थीका लागि २.५ बिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग गरिसकेको जनाएको छ ।
