खाडी युद्धको अन्त्य

फाल्गुन १६, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९९१ मा आजकै दिन (फेब्रुअरी २८) मा पहिलो खाडी युद्धको अन्त्य भएको थियो । इराकी राष्ट्रपति सद्दाम हुसेनले १९९० को अगस्टमा छिमेकी देश कुवेतमाथि अतिक्रमण गरेपछि खाडी क्षेत्रमा तनाव उत्पन्न भएको थियो ।

जसका कारण साउदी अरब र इजिप्टले अमेरिका र पश्चिमी देशलाई हस्तक्षेपका लागि आग्रह गरेपछि खाडी क्षेत्रमा युद्ध थप चर्कने अवस्था उत्पन्न भएको थियो । 

तनावबीच १९९१ को जनवरी मध्यमा राष्ट्रसंघीय सुरक्षा परिषद्ले कुवेतबाट सेना फिर्ता गर्न इराकसँग माग गरेको थियो । तर राष्ट्रपति हुसेनले त्यसको अवज्ञा गरेपछि अमेरिकाले ‘अपरेसन डेजर्ट स्ट्रोम’ सुरु गरेको थियो । त्यसअन्तर्गत अमेरिकी सेनाले इराकमा भीषण हवाई आक्रमण गरेको थियो । 

आक्रमण सुरु गरेको ४२ दिनमा अमेरिकी राष्ट्रपति जर्ज एच डब्लू बुसले फेब्रुअरी २८ मा युद्धविरामको घोषणा गरेसँगै युद्ध अन्त्य भएको थियो । कुवेतमाथि आक्रमण गर्नेमध्ये अधिकांश सैनिकले आत्मसमर्पण गरेका थिए भने केही मारिएका वा भागेर इराक फर्केका थिए । करिब ६ महिना चलेको युद्धका कारण कम्तीमा एक लाख सर्वसाधारणले ज्यान गुमाएका थिए ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully