र्‍याफ्टिङमा तन्नेरी भोटेकोसीदेखि जापानसम्म

भोटेकोसी र सुनकोसीमा र्‍याफ्टिङ सिकेका सिन्धुपाल्चोकका युवाले जापान, यूएई, नेदरल्यान्ड्स, स्विट्जरल्यान्डलगायत देशमा रिभर गाइडका रूपमा काम गरिरहेका छन्

फाल्गुन १६, २०७९

अनिश तिवारी

सिन्धुपाल्चोक — विश्वका करिब ६ हजार नदीनालामध्ये एडभेन्चरका लागि उत्कृष्ट १० मध्येमा पर्छन् भोटेकोसी र सुनकोसी । हेर्दै अत्यासलाग्दो र उर्लंदो भोटेकोसीमा पहिलो पटक बडो सकसले ‘र्‍याफ्टिङ’ सिकेका थिए, बाह्रबिसे नगरपालिका–९ का ३२ वर्षे इन्द्रबहादुर बोगटीले ।

दुबईको अल एन सहरमा र्‍याफ्टिङ र रिभर गाइड रहेका उनले त्यतिबेलाको ‘द लास्ट रिसोर्ट’ का संस्थापक दिवंगत डेभिड अलार्डिस र अल्टिमेट रिभर्स कम्पनीलाई कहिल्यै भुल्न सक्दैनन् । त्यतिबेला ‘द लास्ट रिसोर्ट बन्जी जम्प’ सुरु भइसकेको थिएन । रिसोर्टको बेसक्याम्प मात्रै थियो । 

२३ वर्षको फूर्तिलो उमेरमा उनले पोख्त ‘र्‍याफ्टिङ गाइड’ बनेर लाइसेन्स लिएपछि सुनकोसी र भोटेकोसी नदीमा सञ्चालकसहित आन्तरिक र बाह्य पर्यटकको मन जिते । त्यतिले नअघाएका उनी मलेसिया पुगेर गाइडकै रूपमा त्यहाँका नदीमा ३ महिना काम गरे । त्यसपछि आफ्नै भूमिमा फर्किएका उनले सुनकोसी नदीमा र्‍याफ्टिङ गाइड फ्रिल्यान्सर बनेर ७ वर्ष गुजारे । फेरि दुबई हानिएका उनी अहिले अल ऐन एडभेन्चर कम्पनीमा र्‍याफ्टिङ गाइड बनेर मासिक १ लाख २० हजारदेखि १ लाख ४० हजारसम्म कमाउँछन् । ‘सुनकोसी र भोटेकोसीमा महिनाको बढीमा ३० देखि ५० हजार कमाउँथें, त्यो बेलाको आनन्द र उत्साह बेग्लै थियो । तर, त्यहाँभन्दा यहाँ धेरै फरक र सुरक्षित वातावरण छ,’ उनले भने । उनका अनुसार दुबईको अल ऐनमा कृत्रिम नदी बनाइएको छ । त्यहाँ उनीजस्तै १२ जना नेपाली गाइड कार्यरत छन् । सम्पूर्ण गाइडलाई नेपालभन्दा फरक र आधुनिक ‘र्‍याफ्टिङ सेफ्टी’ को तालिम दिइन्छ । 

जापानको यासिनओगावा सहरस्थित कोचीकेन नदीमा विदेशीलाई र्‍याफ्टिङ गराउँदै आएका बाह्रबिसे–५ गाती जम्बुका ३६ वर्षे तीर्थ श्रेष्ठले आफ्नो आधारभूमि भोटेकोसी र सुनकोसी नदीलाई भने बिर्सिएका छैनन् । अहिले आफ्नो कम्पनीमा उनले चार नेपाली र तीन जापानी गरी ७ जना र्‍याफ्टिङ गाइडलाई रोजगारी दिएका छन् । ‘यसअघि लामो समय र्‍याफ्टिङ गाइड भएर संघर्ष गरें । ती मेरा अनमोल पल थिए । खुब ऊर्जाशील भएर भोटेकोसीमा र्‍याफ्टिङ गाइडको काम सिकेको थिएँ,’ श्रेष्ठले भने । भोटेकोसी नदीमा करिब १७ वर्षकै उमेरमा र्‍याफ्टिङ सिकेका उनले अनेक प्रतिस्पर्धामा भाग लिए । 

 १८ वर्षको उमेरमा र्‍याफ्टिङको जुनियर च्याम्पियनसिप प्रतियोगितामा प्रथम भएको खुसीको क्षण उनले अझै भुलेका छैनन् । त्यसयता उनी रिभर गाइड भएर टर्कीमा ६ महिना र आइसल्यान्डमा ४ महिना बिताए । त्यसपछि नेपाल फर्किएका उनले तीन वर्ष सुनकोसी नदीमा होमिएर गुजारे । तीन महिना स्विट्जरल्यान्डमा ‘समर र्‍याफ्टिङ गाइड’ रहेका उनी जर्मनी पनि पुगे । त्यसपछि उनी नर्वे हुँदै जापान पुगेपछि उनलाई लाग्यो कि ‘आफ्नै मुलुक र पर्यटनको नाम राख्नकै लागि किन केही नगर्ने ?’ त्यसपछि उनले ७० लाख लागतमा आफ्नै कम्पनी खोले– ‘योउमी र्‍याफ्टिङ कम्पनी ।’ 

दुर्गम गातीबाट जापानसम्म आइपुगेका उनी जापानमा पुग्ने अधिकांश युवा ‘र्‍याफ्टिङ गाइड’ को अभिभावक बन्ने गरेका छन् । उनकै कम्पनीमा बाह्रबिसे नगर सुखवाका २९ वर्षे राज श्रेष्ठ, जम्बुका ३० वर्ष विनोद बस्नेत, राम्चेका २७ वर्षका ईश्वर बोगटी र काठमाडौंका २० वर्षे रितेश श्रेष्ठ र्‍याफ्टिङ गाइडका रूपमा काम गर्छन् । ‘यसबाहेक अन्य कला, सीप, भाषा र दक्षताका आधारमा जापानमा गाइडले आफ्नो क्षमता बढाउन सक्छन्, नेपालमा एक गाइडले मासिक १ लाख ५० हजारदेखि १ लाख ८० हजारसम्म कमाउँछन्,’ उनले भने । नेपालका अधिकांश नदीमा विदेशीभन्दा स्वदेशी पर्यटक बढी हुने र तालिम शैली तथा अनुभव उस्तै हुने विदेश पुगेका रिभर गाइडहरूको अनुभव छ । भोटेकोसी, सुनकोसीलगायतका नदीमा रिभर गाइडको अनुभव बटुलेका चितवनका चूडामणि अर्याल हाल अमेरिकामा छन् ।

स्वदेश र विदेश दुवैमा पर्यटनको माध्यमबाट आफ्नो आयआर्जनको दायरा बढाएका उनको माध्यमबाट धेरै गाइडले अमेरिकाको क्यालिफोर्निया, लस एन्जल्स, क्युटलगायत सहरमा रिभर गाइडको अनुभव बटुल्न भ्याएका छन् । ‘एक अर्थले युवाका लागि यो सुवर्ण अवसर र आयआर्जनको माध्यम बनेको छ,’ उनले भने । ‘रिभर गाइड’ कै रूपमा आइसल्यान्डलगायतका देश पुगेका चौतारा साँगाचोकगढी–११ का ३० वर्षीय उमेश श्रेष्ठ भोटेकोसी र सुनकोसीलाई उर्वर भूमि मान्छन् । त्यसमा सहमत छन्, सुनकोसीका रामबहादुर श्रेष्ठ र मधु पहरी । उनीहरू अहिले नेदरल्यान्ड सर्जो सिटीमा रिभर गाइडका रूपमा कार्यरत छन् । उनीहरू पनि उमेशझैं विदेशलाई अवसरका रूपमा मान्छन् । 

सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष तथा पर्यटन व्यवसायी नारायण श्रेष्ठका अनुसार देशभरबाट रिभर गाइडका रूपमा विदेश जानेको संख्या धेरै छ । भोटेकोसी र सुनकोसी नदीमा पारंगत नेपाली रिभर गाइडले जापान, यूएई, नेदरल्यान्ड्स, स्विट्जरल्यान्डलगायतका देशमा र्‍याफ्टिङ गाइड गरेर राम्रो आम्दानी पनि गर्छन् । ‘देशभर यस्ता युवा धेरै छन् । तीमध्ये २०/२५ जना सिन्धुपाल्चोकका छन्,’ उनले भने । 

 भूकम्पअघि भोटेकोसी र सुनकोसी नदी किनारामा रहेका रिसोर्टमा मात्रै सात लाख पर्यटक आएका थिए । ‘र्‍याफ्टिङ’ को लोभले सिजन र अफ सिजनमा दैनिक एक रिसोर्टमा न्यूनतम ५० आन्तरिक र २० बाह्य पर्यटक भित्रने गरेका नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष तथा पर्यटन व्यवसायी शिव अधिकारीले बताए । अहिले पनि सिजनमा र्‍याफ्टिङ तथा क्यानोनिङको मनोरञ्जन लिन सिन्धुपाल्चोकमा सातामा झन्डै दुई हजार पर्यटक आउँछन् । जसका कारण करिब १० हजार जनाले रोजगारी पाएका छन् । तीमध्ये करिब आधाजसो जलपर्यटनसँग सम्बन्धित छन् । ‘यसमा युवाको आकर्षण झनै बढ्दो देखिन्छ । १७ देखि ३० वर्षसम्मका युवा जल पर्यटनमा रिभर गाइड बन्ने उत्साह देखिन्छ,’ अधिकारीले भने । 

युवाहरूकै आकर्षणका कारण सुनकोसी नदीको सुकुटे क्षेत्रमा देशभरका ५३ महिला रिभर गाइड तयार पार्ने लक्ष्य राख्दै र्‍याफ्टिङ स्कुल पनि निर्माण हुँदै छ । ब्रह्मायणी र सुनकोसी नदीको दोभानमा बन्ने ह्वाइट वाटर र्‍याफ्टिङ स्कुल सेन्टरका लागि पर्यटन मन्त्रालयले १३ करोड बजेटसमेत छुट्याएको छ । खानी निर्माण सेवाले बनाइरहेको विद्यालयको भौतिक संरचनाको काम करिब ७० प्रतिशत सकिएको छ । सुकुटे बिच एडभेन्जर रिसोर्टका सञ्चालक महेन्द्रसिंह थापाका अनुसार सुनकोसी र भोटेकोसी किनारामा मात्रै र्‍याफ्टिङसहितका ७ रिसोर्ट सञ्चालनमा छन् । जिल्लामा भने होटल र रिसोर्ट गरी १६ वटा छन् । 

युवा ग्यालरी

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully