काठमाडौँ — अधिकांश सर्वसाधारणले ‘भिक्षु–भिक्षुणीहरू बौद्धविहार वा गुम्बामा ध्यान मात्रै गरेर बस्छन होला’ भन्ने धारणा बनाएका हुन्छन् । तर, काठमाडौंको नागार्जुनस्थित ड्रयुक अमिताभा माउन्टेन गुम्बा (सेतो गुम्बा) का भिक्षुणीहरू विश्व शान्तिको कामना गर्दै साइकल यात्रामा निस्किएका छन् । माथिल्लो मुस्ताङको यात्रमा निस्किएको टोलीमा १ सय ९५ भिक्षुणी र ५ जना भिक्षु छन् ।
कोभिडका कारण रोकिएको साइकल यात्राको यो सातौं संस्करण हो । मंगलबार सेतो गुम्बाबाट सुरु भएको साइकल यात्रा शुक्रबार साँझ बास बस्न आँबुखैरेनी पुगेको छ । यात्राको संयोजन गरिरहेकी भिक्षुणी जिग्मे यिशेका अनुसार, उनीहरूसँग बास बस्न टेन्ट, खानेकुरा, औषधि, साइकल मर्मतका लागि आवश्यक पर्ने स्पेयर पार्ट्स, पुर्जालगायत बन्दोबस्तीका सामग्री बोकेको ट्रक पनि साथसाथै यात्राभर हुनेछ ।
‘माथिल्लो मुस्ताङ पुगेर काठमाडौं फर्किंदा एक महिना लाग्छ,’ भिक्षुणी यिशेले भनिन्, ‘कोभिडपछि फेरि साइकल यात्रामा फर्किंदा खुसी लागेको छ । हामी ठाउँठाउँमा पर्यावरणमैत्री जीवनयापन, शान्ति र लैंगिक समानताको सन्देश पनि फैलाउँदै जाने छौं । मुग्लिङ, पोखरा, बेनी, जोमसोम हुँदै माथिल्लो मुस्ताङसम्मको यात्रामा सरसफाइ, चेतनामूलक कक्षा, पूजा, ध्यान, पदयात्रा पनि गर्नेछौं ।’ पहिलोपटक ०५४ सालमा काठमाडौंबाट पोखरासम्मको साइकल यात्रा गरेयता गुम्बाले ६ पटक नेपाल र भारतमा महिनौं लामो साइकल यात्रा आयोजना गरिसकेको छ । ‘हाम्रा भिक्षुणीहरूले काठमाडौंबाट नेपालभित्रका पोखरा, हलेसी, लुम्बिनी अनि भारतको उडिसा, विहार, दार्जिलिङ र लदाकसम्म हजारौं माइल साइकलमै यात्रा गरिसकेका छन्,’ यात्रामा सहभागी अर्की भिक्षुणी जिग्मे कोन्छाङले भनिन् ।
३४ वर्षअघि स्थापना भएको सेता गुम्बामा ९ वर्षदेखि ६० वर्ष उमेर पुगेका ५ सय हाराहारी भिक्षुणी छन् । साइकल यात्रामा भने उनीहरू १६ देखि ४५ वर्ष उमेर समूहका छन् । त्यहाँ रहेका अधिकांश तन्नेरी भिक्षुणी आत्मरक्षा र आत्म अनुशासनका लागि मार्सल आर्टअन्तर्गत हरेक दिन तीन घण्टा कङ्फु सिक्छन् । भिक्षुणी जिग्मे यिशेका अनुसार गुम्बाले भिक्षु/भिक्षुणीलाई पहिलोपटक कङ्फु सिकाउन थालेको हो ।
