इन्स्टामा सेलेनाका फलोअर जेनरका भन्दा बढी

फाल्गुन १२, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — पपस्टार तथा हलिउड अभिनेत्री सेलेना गोमेज सामाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा बढी पछ्याइने महिला बनेकी छन् । ३० वर्षीया पपस्टार गोमेज अमेरिकी व्यवसायी तथा सञ्चारकर्मी काइली जेनरलाई उछिन्दै दोस्रोपटक शीर्षस्थानमा पुगेकी हुन् । 

यसअघि सेलेनालाई पछि पार्दै काइली इन्स्टाग्राममा सबैभन्दा बढी पछ्याइने महिला बनेकी थिइन् । सेलेनालाई हाल इन्स्टाग्राममा ३८ करोड ८ लाख ५३ हजार २९३ जनाले पछ्याएका छन् । तर काइलीका भने ३८ करोड ४ लाख ८ हजार २७४ जना फलोअर छन् । 

इन्स्टामा सबैभन्दा बढी फलोअर भएकी महिलाको शीर्ष स्थानमा उक्लेसँगै सेलेनाका फ्यानले सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन् । ‘र एकपटक विश्वमा सबै कुरा सही ठाउँमा आएको छ । रानी आफ्नो गद्दीमा फर्केकी छन्,’ एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन् । त्यस्तै अर्का एक सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि गोमेजलाई रानीको संज्ञा दिएका छन् । ‘इन्स्टाग्रामकी वास्तविक रानी बल्ल आएकी छन्,’ अर्का प्रयोगकर्ताले लेखेका छन् ।

त्यसैमा तेस्रो व्यक्तिले पनि पहिलो स्थानमा आउन उनी जत्तिको योग्य अरू कोही नभएको लेखेका छन् । केही वर्षयता गोमेजले सामाजिक सञ्जाल ‘विषाक्त’ भएको भन्दै आएकी थिइन् । हालै प्रकाशित भ्यानिटी फेयर म्यागेजिनलाई दिएको अन्तरवार्तामा सेलेनाले आफू समाजिक सञ्जालमा क्रियाशील नहुनुको कारणबारे उल्लेख गरेकी थिइन् । 

‘मानिसहरूले मलाई नराम्री वा मूर्ख भन्न सक्छन् । अथवा, जे–जस्ती छु, त्यो भन्न सक्छन् । तर यी मान्छे (सामाजिक सञ्जाल प्रयोगकर्ता) लाई विस्तृत चाहिन्छ,’ उनले भनाइ छ, ‘म निरन्तर रोइरहन्थें । मलाई लगातार चिन्ताले सताउँथ्यो । मैले केही गर्न सक्दैनथें । खासमा यो मेरो समयको बर्बादी मात्र थियो ।’ 

त्यसैगरी ब्रेकअपको बेला पनि आफूले सामाजिक सञ्जालमा घृणा व्यहोरेको उनको भनाइ छ । ‘ब्रेकअपको बेला म कठिन समयबाट गुज्रिएँ । अब भने म मेरो सम्बन्धका विषयमा सामाजिक सञ्जालमा कुनै प्रतिक्रिया देख्न चाहन्नँ ।’ सामाजिक सञ्जालमा कैयौं राम्रा कमेन्टहरू हुने भए पनि आफूलाई एक/दुई नकारात्मक टिप्पणीले तनाव उत्पन्न हुने उनको भनाइ छ । 

गोमेज र जेनरपछि इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गरिएकी महिला सेलिब्रेटी एरियाना ग्रान्डे हुन् । उनलाई ३५ करोड ७० लाख फलोअर छन् । त्यस्तै, किम कार्दसियनका ३४ करोड ६० लाख बियोन्सेका र २९ करोड ३० लाख फलोअर छन् ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully