‘छड्के–२’ को ट्रेलर सार्वजनिक

फाल्गुन १२, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — यस वर्षको प्रतीक्षित सिनेमा ‘छड्के २’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म तीनवटा ग्याङको लडाइँको कथामा केन्द्रित छ । अनमोलको स्टारडमका कारण पनि सिनेमा प्रतीक्षित बनेको छ ।

रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रिन ग्याङको कथा बोकेको फिल्म हो, ‘छड्के–२’ । जसको उद्देश्य मनाङको प्राकृतिक स्रोतको संकलन र त्यसबाट प्राप्त धन आर्जन गर्नु हो । तीनवटा ग्याङमध्ये एउटा ग्याङको नेताका रूपमा अभिनेता अनमोललाई प्रस्तुत गरिएको छ । फिल्ममा शरीरभरि ट्याटु र हातमा हमेसा खुँडा बोकेर बुलेट बाइक चढेर आफ्नो ग्याङको नेतृत्व गरिरहेका देखिन्छन् अनमोल । 

निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा अनमोलका अलवा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरञ्जीवी अधिकारी र कुमार घलानलगायत कलाकारले अभिनय गरेका छन् ।

मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको फिल्ममा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी तथा लोकेश बज्राचार्यको सम्पादन छ । निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको ब्यानरमा निर्मित सिनेमामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता तथा कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully