कर्णाली चिनाउने अभियानमा युवा

सुर्खेतका बालरोग विशेषज्ञ नवराज केसीले विभिन्न समयमा कर्णालीका १० वटै जिल्लामा पााच दर्जन स्वास्थ्य शिविर सञ्चालन गरिसकेका छन् । उनले नै सुरु गरेको ‘ग्रिन एन्ड क्लिन मुभमेन्ट’ मा जोडिएका सयौं विद्यार्थी, कर्मचारी, सुरक्षाकर्मी, व्यापारी तथा स्थानीयले हरेक साता सहर सफा गर्छन् । 

फाल्गुन १४, २०७९

तृप्ति शाही

वीरेन्द्रनगर — नवराज केसी प्रदेश अस्पतालका बालरोग विशेषज्ञ हुन् । सुर्खेतको वीरेन्द्रनगरका स्थायी बासिन्दा केसी फुर्सद पाउँदा दुर्गम गाउँमा निःशुल्क स्वास्थ्य शिविर चलाउन निस्किहाल्छन् ।

७ वर्षअघि जाजरकोटको नलगाड गाउँपालिकाबाट स्वास्थ्य शिविरको अभियान सुरु गरेका उनले कर्णालीका १० वटै जिल्लामा शिविर चलाए । अहिलेसम्म उनको नेतृत्वमा झन्डै पाँच दर्जन स्वास्थ्य शिविर सञ्चालन भइसकेका छन् । जसबाट झन्डै ८ देखि १० हजार बिरामीले उपचार र औषधि निःशुल्क पाएका छन् । उनको यो अभियानमा साथ दिएका छन्– कर्णालीका डाक्टरहरूको लाइन्स क्लब र फाउन्डेसनमा आवद्ध अरू डाक्टरहरूले । क्लबले औषधि जुटाइदिन्छ भने डाक्टरहरूले निःशुल्क उपचार गर्छन् । केही ठाउँमा उनीहरूलाई पालिकाले सहयोग गरेका छन् । ‘खर्च नहुँदा गाउँका महिलाहरू उपचारै नपाएर वर्षौंदेखि रोग पाल्न बाध्य छन्,’ उनले भने, ‘कतिपयले त आफ्ना श्रीमान् र घरपरिवारलाई समेत आफ्नो स्वास्थ्य समस्याबारे भन्नै सक्दैनन्, कर्णालीमा पाठेघर खस्ने समस्या भयाभह छ, हाम्रो सानो प्रयासले पनि उनीहरूले वर्षौंदेखिको रोगबाट मुक्ति पाएका छन् ।’ 

केसीकै नेतृत्वमा प्रदेश राजधानी वीरेन्द्रनगरमा २०७७ सालदेखि ‘ग्रिन एन्ड क्लिन मुभमेन्ट’ सञ्चालनमा छ । फोहोरको धेरै समस्या भएपछि उनले प्रत्येक साता बजार सफा गर्ने गरी यो अभियान चलाएका हुन् । विद्यार्थी, कर्मचारी, सुरक्षाकर्मी, व्यापारी र स्थानीयहरूको साथमा सञ्चालन भइरहेको मुभमेन्टले १ सय १० साता पूरा गरिसकेको छ । अभियानको अर्को उद्देश्य १ लाखभन्दा बढी बोटबिरुवा रोप्ने हो । अभियानअन्तर्गत विद्यालयहरूमा विद्यार्थीहरूसँग सचेतना कार्यक्रम पनि हुन्छ । जसमा विद्यार्थीहरूलाई कसरी सरसफाइ र वृक्षरोपणमा मा जुटाउन सकिन्छ भनेर छलफल गर्ने गरिएको छ । केसीले सामाजिक काममा आर्थिक सहयोग पनि जुटाएर गरिब तथा असहाय बालबालिकालाई पनि सहयोग गर्ने गरेका छन् । पश्चिम सुर्खेतको इखेनी सुकुम्बासी गाउँका लागि उनले गरेको योगदान ठूलो छ । ‘कोरोनाको बेला सहयोग गर्दै जाँदा भेटाएको त्यो गाउँका मान्छेहरू रोजगारीको लागि धेरैजसो भारत जान्थे, केही महिना घर र केही महिना परिवारसहित उनीहरू जाँदा बालबालिकाले पढ्न पाएका थिएनन्,’ उनले भने, ‘१ सय १० परिवार रहेको बस्तीका बालबालिकालाई विद्यालय पठाउन उनीहरूकै आमाहरूसँग छलफल गरेर योजना बनाए, त्यो कुरा मैले नै पालिकासम्म पुर्‍याए, अहिले सबै महिलाले कम्तीमा ५० वटा कुखुरा पालिरहेका छन् । उनीहरू भारत जानबाट त रोकिए नै, छोराछोरीले पनि पढ्न पाए ।’ डा. केसीले बादी समुदायका ६ जना बालिकाको पठनपाठनको पनि जिम्मा लिएका छन् । प्रत्येक महिना उनीहरूलाई केही रकम दिएर पढाइ खर्चको जोहो गरिदिएका छन् उनले । 

 डा. केसीको परिचय यतिमा मात्र सीमित छैन् । उनले कर्णालीकै कथाहरू समेटेर ‘शून्यको मूल्य’ किताब प्रकाशन गरे । जसमा कर्णालीका आमाहरूको कथा समेटिएको छ । ‘बच्चाहरूको उपचार गर्दागर्दै भेटिएका पात्रहरूको कथालाई यो पुस्तकमा समेटेको छु,’ उनले भने, ‘किताबमार्फत कर्णालीका व्यथाहरू सबैलाई चिनाउन पाइएको छ ।’ 

 फोटोग्राफी पनि उनको बाल्यकालदेखिकै रुचि हो । ‘डाक्टर भएर कमाउने भएपछि क्यामेरा किनियो, म जहाँजहाँ पुग्छु, त्यहाँका फोटा खिच्छु र समाजलाई देखाउँछु,’ उनले भने, ‘मेरो फोटामार्फत पनि कर्णालीका कथाव्यथा सबैले थाहा पाएका छन् ।’ पछिल्लो समय केसीको काम ‘कर्णाली पार्क’ मा केन्द्रित छ । ढुंगाका मूर्तिहरू राखेर खेर गएका विभिन्न सामग्रीलाई सजावट गरी विभिन्न संरचनासहितको पार्क बनाउन थालिएको छ । जसबाट युवाहरूलाई समाजको प्रगति र सामूहिक विकासका लागि प्रेरणा दिने पार्क निर्माण थालिएको उनले बताए । ‘कर्णाली चिनाउनका लागि आफ्नै डिजाइन र लगानीमा पार्क बनाइरहेको हुँ,’ उनले भने, ‘पार्क भ्रमण गर्नेले समग्र कर्णालीलाई अब एकै ठाउँबाट चिन्नेछ ।’ 

 कर्णाली चिनाउने अभियानमा जुटेका अर्का युवा हुन्– वीरेन्द्रनगर नगरपालिका–६ का राजेन्द्र विष्ट । कर्णालीमा भएका जडीबुटीको पहिचान र उत्पादन गर्ने गरी उनको अभियान सुरु भएको छ । बायो क्यामेस्ट्रिकमा स्नातकोत्तर गरे पनि उनको मन जागिरतिर गएन । उनले कर्णालीका जडीबुटीबाट सामानहरू उत्पादन गर्नका लागि २० लाख रुपैयाँको लगानीमा वीरेन्द्रनगरकै तातोपानीमा बायो कर्णाली एरोमा प्रालि उद्योग खोलेका छन् । उद्योगबाट ७ महिनादेखि ३ प्रकारका तेल लेमनग्रास, युकालिप्तस र क्याम्फर उत्पादन भइरहेको छ । योसँगै उद्योगले हर्बल नामक हेन्डवास पनि बजारमा ल्याएको छ । जसको माग कर्णालीभन्दा बढी काठमाडौंमा छ भने जापानमा समेत उत्पादन पठाइरहेको उनले बताए । ‘कर्णालीका लागि जडीबुटी र प्राकृतिक स्रोत अमूल्य सम्पत्ति हो,’ उनले भने, ‘कर्णालीमा उत्पादित जडीबुटी पहिचान मात्र गर्न सके हाम्रो प्रदेश सबैभन्दा धनी बन्छ ।’ 

 उनले कर्णालीको जडीबुटी पहिचानका लागि ५ वर्षदेखि आफ्नो ‘सपना’ सुरु गरेका हुन् । उनी फुर्सद हुनबित्तिकै विभिन्न जंगल चहार्छन् र त्यहाँ भेटाएको जडीबुटीलाई कसरी उपयोग गर्न सकिन्छ भन्नेबारे योजना बनाउँछन् । ‘कर्णालीको जडीबुटी कच्चा पदार्थको रूपमा बाहिर गएर विभिन्न सामान र औषधि बनी फेरि फर्केर आउँछ,’ उनले भने, ‘त्यसैले कच्चा पदार्थलाई कति सकिन्छ कर्णालीमै प्रयोग गर्दै प्रोडक्ट निकाल्ने मेरो योजना हो ।’ विदेशमा पनि यहाँको उत्पादन पठाएर कर्णालीलाई चिनाउन लागिपरेको उनले बताए । 

दैलेखको गुराँस गाउँपालिका–६ का २६ वर्षीय श्याम बीसीले सुरुमा सामाजिक सञ्जालमा ‘कर्णाली ग्यालरी’ पेज खोलेर विभिन्न फोटो र भिडियोहरू राख्न थाले । अहिले उनको अभियानमा कर्णालीका सबै जिल्लाका २० जना युवा जोडिएका छन् । अहिले कर्णालीमा कुनै नयाँ काम वा घटना भयो भने ‘ब्रेकिङ’ गर्ने काम उनीहरूले नै गर्छन् । महिनामा ५ लाखसम्मले अवलोकन गर्ने ग्यालरीका लागि फोटो र भिडियो खिच्न उनी आफ्नै खर्चमा कर्णालीका १० वटै जिल्लामा घुमेका छन् । गत मंसिर पहिलो साताबाट कर्णालीको भ्रमण सुरु गरेका उनले ४७ दिनको पैदल यात्रामा पहिलो चरणको अभियान सकाएका छन् । ‘सबैले कर्णाली दुर्गम छ भन्छन्, त्यसैले मैले पैदलै यात्रा गरेँ, मान्छेका मन बुझे, उनीहरूको कथाव्यथा देखेँ, सुन्दरता महसुस गरे,ँ’ उनले भने, ‘त्यसैलाई ग्यालरीमार्फत सबैलाई देखाइरहेको छु ।’ 

युवा ग्यालरी

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully