आजकै दिन : गान्धीको हत्या

माघ १६, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९४८ मा आजकै दिन (जनवरी ३०) मा भारतीय स्वतन्त्रता आन्दोलनका अगुवा, राजनीतिज्ञ तथा आध्यात्मिक नेता महात्मा गान्धी (मोहनदास करमचन्द गान्धी) को हत्या भएको थियो । भारतमा ब्रिटिस शासनविरुद्ध अहिंसात्मक आन्दोलनको अगुवाइ गरेका गान्धीले दक्षिण अफ्रिकामा समेत नागरिक अधिकारका लागि वकालत गरेका थिए । भारतमा उनलाई राष्ट्रपिताका नाममा सम्मान गरिन्छ ।

गान्धीको सन् १८६९ को अक्टोबर २ मा भारतको पोरबन्दरमा जन्म भएको थियो । उनका पिता करमचन्द गान्धी पोरबन्दर तथा पश्चिम भारतको अन्य राज्यका मुख्यमन्त्री थिए । कानुन अध्ययन गरेका महात्मा गान्धीले ब्रिटिस संस्थाहरू बहिष्कारविरुद्ध संगठित अभियान चलाएका थिए । त्यसका साथै उनले शान्तिपूर्ण नागरिक अवज्ञाको नेतृत्व लिएका थिए । 

भारतका सबैभन्दा सम्मानित राजनीतिज्ञ गान्धीलाई राजधानी दिल्लीस्थित एउटा प्रार्थनाबाट फर्किनै लाग्दा एकदमै नजिकैबाट गोली हानिएको थियो । उनलाई जनवरी ३० को साँझ नाथुराम विनायक गोडसेले गोली हानी हत्या गरेका थिए । ३८ वर्षीय कट्टरवादी गोडसे दक्षिणपन्थी संगठन हिन्दु महासभाका सदस्य थिए ।

उक्त संगठनले गान्धीमाथि मुस्लिम समर्थक र पाकिस्तानप्रति नरम भएर हिन्दुहरूलाई विश्वासघात गरेको आरोप लगाएको थियो । भारत–पाकिस्तान विभाजनका क्रममा मच्चिएको रक्तपातका लागि गान्धी दोषी भएको संगठनको आरोप थियो । सन् १९४७ मा ब्रिटेनबाट स्वतन्त्रता पाएसँगै भारत र पाकिस्तान अस्तित्वमा आएका थिए । 

गान्धीको हत्याको एक वर्षपछि गोडसेलाई भारतीय अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । उक्त सजाय उच्च अदालतले सदर गरिदिएपछि गोडसेलाई सन् १९४९ को नोभेम्बरमा मृत्युदण्ड दिइएको थियो । गोडसेसँगै उनका साथी नारायण आप्टेलाई पनि मृत्युदण्ड दिइएको थियो । तर घटनामा संलग्न अन्य ६ जनालाई भने जन्मकैदको सजाय दिइएको थियो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully