कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६
४२ वर्षीया प्रधानमन्त्रीको राजनीतिक अवकाश

आदर्श बहिर्गमन कि असामयिक समर्पण ?

पार्टीभित्र प्रतिस्पर्धी थिएनन्, प्रतिपक्षीबाट चुनौती थिएन । जनादेशले पनि आगामी अक्टोबरसम्म उनलाई नेतृत्वको जिम्मेवारी दिएको थियो तर विकल्पबिना बिदा भइन् न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डन ।

काठमाडौँ — ‘अब पनि म पदमा बसिरहनु भनेको न्युजिल्यान्डका लागि हानि पुर्‍याउनु हो ।’ अप्रत्याशित रूपमा बिहीबार प्रधानमन्त्रीको पदबाट राजीनामा घोषणा गरेकी जसिन्डा आर्डनको भनाइ हो यो । भर्खरै ४२ वर्ष पुगेकी आर्डनले अर्को महिनादेखि नै देशको नेतृत्व छाडिहाल्नुपर्ने के त्यस्तो कारण आइलाग्यो त ? 

आदर्श बहिर्गमन कि असामयिक समर्पण ?

प्रधानमन्त्री बनेदेखि नै कुनै न कुनै रूपमा चर्चामा आइरहने आर्डनको अप्रत्याशित घोषणाले विश्व राजनीतिमा चासो राख्ने सबैका कान ठाडा बनाइदिएको छ । अझ देशभित्रका उनका समर्थकहरू त आश्चर्यमा नै परेका छन् । महिला सरकार प्रमुखका रूपमा सधैंजसो चर्चित उनले यसअघि पुरुषको तुलनामा महिला राजनीतिज्ञले सामाजिक तथा पारिवारिक विषयमा बढी चुनौती सामना गर्नुपर्ने बताउने गरेकी थिइन् । आखिर पारिवारिक जिम्मेवारीकै कारण अन्ततः उनी राजीनामा दिने निर्णयमा पुगिन् किन ? तर आर्डनले दिएको कारण भने अर्कै छ । ‘मैले अब देशका लागि थप योगदान दिन सक्ने अवस्था छैन ।’

सन् २०१७ को अक्टोबर २६ मा देशको प्रधानमन्त्री पद सम्हाल्दा आर्डन मात्र ३७ वर्षकी थिइन् । उनको राजनीतिक करिअर लोभलाग्दो थियो । २७ वर्षको उमेरमा सांसद बनेकी आर्डन त्यसको एक दशकमा देश हाँक्ने कुर्सीमा पुगेकी थिइन् । एक अर्थमा उनी विश्व राजनीतिमा युवाहरूको रोलमोडल नै थिइन् । देशको कार्यकारी प्रमुखको पद सम्हाल्दा उनले विश्वकै कान्छी महिला प्रधानमन्त्रीको रेकर्डसमेत राखेकी थिइन् । तर, पछि सन् २०१९ मा ३४ वर्षमा फिनल्यान्डको प्रधानमन्त्री बनेकी सन्ना मरिनले उनको रेकर्ड तोडिन् । प्रधानमन्त्रीको पद सम्हालेको एक वर्षपछि आमा बनेकी आर्डन पदमै रहँदा सन्तान जन्माउने विश्वकै दोस्रो नेतृसमेत हुन् । त्यसअघि पाकिस्तानी नेतृ बेनजिर भुट्टोले १९९० मा प्रधानमन्त्री रहेकै बेला सन्तानलाई जन्म दिएकी थिइन् ।

प्रधानमन्त्रीका रूपमा आर्डनले आफ्नो सन्तानलाई साथमै लिएर पनि देशको हितमा काम गर्न पछि परिनन् । संयुक्त राष्ट्रसंघको एक बैठकमा सहभागी हुने क्रममा चार महिनाकी छोरीलाई काखमा लिएर पुगेपछि उनी विश्वभर चर्चामा आएकी थिइन् । संसारभरका कामकाजी महिलालाई जागिर र जिम्मेवार पदमा रहँदा पनि आमाको जिम्मेवारी सम्हाल्न सकिन्छ भन्ने सन्देश दिएकी भन्दै उनको अभूतपूर्व प्रशंसा भएको थियो । प्रधानमन्त्रीका रूपमा आर्डनले अप्ठ्यारो समयमा न्युजिल्यान्डलाई सफल नेतृत्व प्रदान गरिन् । उनले देशलाई कोभिड–१९ को महामारीबाट जोगाइन् । प्रधानमन्त्रीका रूपमा उनले अघि लागू गरेका भाइरस नियन्त्रणसम्बन्धी नीतिले न्युजिल्यान्ड कोभिडका कारण निकै कम क्षति हुने देशको सूचीमा रह्यो ।

त्यसका साथै उनले कोभिडपछिको आर्थिक मन्दीबाट देशलाई सफल रूपमा अवतरण गरिन् । अनि, क्राइस्ट चर्च गोलीकाण्ड र ह्वाइट आइल्यान्ड ज्वालामुखी विस्फोटको कठिन समयमा निकै असल नेतृत्व प्रदान गरिन् । जसका कारण अधिकांश अन्तर्राष्ट्रिय मञ्च र नेताका भाषणहरूमा उनी ‘उदाहरणीय नेतृ’ का छाइरहिन् । करिब ६ वर्ष देशको नेतृत्वमा रहेकी आर्डनले आफ्नो कार्यकाल कति चुनौतीपूर्ण थियो भन्ने बताउँदै गर्दा बिहीबार उनको गला अवरुद्ध भएको थियो । ‘मान्छे दयालु तर बलियो । अरूप्रति समभाव राख्ने, तर निर्णय लिन सक्ने । अनि आशावादी तर लक्ष्य पछ्याउँदै त्यसैमा केन्द्रित हुनुपर्छ र हुन सक्छ भन्ने गहिरो छाप छाडेर म न्युजिल्यान्डरहरूबाट बिदा हुँदै छु भन्ने मेरो आशा छ,’ पदत्यागको घोषणाका क्रममा आर्डनले भनिन् । आर्डनले जलवायु परिवर्तनका असरहरूबाट बच्ने उपायबारे आफूले चालेका कदम, राज्यबाट दिइने आवासको सुविधाको कटौती र बाल गरिबी हटाउने आफ्ना कामलाई सम्झनलायक उपलब्धि भनेकी छन् । न्युजिल्यान्डका जनताले सधैं दयालु बन्न खोज्ने’ नेताको रूपमा देशवासीले आफूलाई सम्झने बताइन् । ‘तपाईं आफू आफ्नै किसिमको नेता बन्न सक्नुहुन्छ, त्यस्तो नेता जसलाई अब छाड्ने बेला भयो भन्ने कुरा राम्ररी थाहा हुन्छ,’ उनले भनिन् ।

आर्डनले ग्रीष्मकालीन बिदामा बसेका बेला आफ्नो भविष्यबारे चिन्तन गरेको र पछिल्लो निर्णय लिएको बताएकी छन् । ‘मैले त्यो अवधिमा अब अगाडि बढ्न के गर्नुपर्छ र देशका लागि के गर्न सकिन्छ भन्ने कुरा पत्ता लगाउन सक्छु कि भन्ने आशा गरेकी थिएँ । तर दुर्भाग्यवश, म त्यसमा सफल हुन सकिनँ,’ उनले पत्रकारहरूमाझ भनेकी छन् । अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजीले आर्डनलाई विद्वता, ताकत र समानुभूति भएकी नेतृका रूपमा प्रशंसा गरेका छन् । ‘आर्डन न्युजिल्यान्डकी प्रखर पैरवीकर्ता हुन्, धेरैका लागि प्रेरणाकी स्रोत हुन् । अनि, मेरी महान् साथी पनि हुन्,’ उनले ट्वीटरमा लेखेका छन् । त्यस्तै, विपक्षी दल नेसनल पार्टीका नेता क्रिस लक्सनले देशको सेवाका लागि आर्डनलाई धन्यवाद दिएका छन् । ‘पदमा रहेर उनले न्युजिल्यान्डका लागि अविश्वसनीय योगदान दिइन्,’ उनले भनेका छन् ।

आर्डन सन् २०१७ को अगस्ट १ मा लेबर पार्टीको नेता निर्वाचित भएकी थिइन् । उनको नेतृत्वमा पार्टीले सन् २०२० को निर्वाचनमा फराकिलो जित हासिल गरेको थियो । फलस्वरूप उनी दोस्रो कार्यकाल प्रधानमन्त्री बनेकी हुन् । उनले फेब्रुअरी ७ अघि नै लेबर पार्टीको नेताबाट राजीनामा दिने जनाएकी छन् । उनको उत्तराधिकारी चयन गर्न अब पार्टीमा मतदान हुनेछ । पार्टीका उपनेता ग्रान्ट रोबर्टसनले भने दलको नेताका चयनका लागि हुने निर्वाचनमा आफूले प्रतिस्पर्धा नगर्ने बताएका छन् । दलको नेताका आकांक्षीले पार्टी नेताहरूको दुई तिहाइ मत नपाएको खण्डमा भने नेतृत्व चयनको प्रक्रिया पार्टी कार्यकर्ताहरूको हातमा पुग्नेछ । न्युजिल्यान्डमा आगामी अक्टोबर १४ मा आमनिर्वाचन हुँदै छ । चुनावमा लेबर पार्टी नयाँ नेतृत्वसहित मैदानमा उत्रनेछ । तर पछिल्ला सर्भेक्षणहरूमा आर्डनको लोकप्रियता खस्कँदै गएको देखिएका कारण आगामी नेतालाई सत्तामा टिकिरहन भने त्यति सहज देखिँदैन ।

आगामी निर्वाचनमा लेबर पार्टी पराजित हुने डरका कारण पनि आर्डनले राजीनामा घोषणा गरेकी कपितयको दाबी छ । तर आगमी चुनावमा पार्टीको जित हुने आफूले ठानेको आर्डनको भनाइ छ । ‘त्यो चुनौतीको बोझ बोक्न सक्ने आँटिला र ताजा काँधहरूको हामीलाई आवश्यकता छ,’ उनले भनिन् ।

देशलाई नेतृत्व प्रदान गर्न पाउनु भनेको जनताको विश्वास हो । अनि, कपितय अवस्थामा जोड घटाउको विषय पनि होला । तर पदमा पुगिसकेपछि कुन समयमा कस्तो निर्णय गर्ने र देशलाई कसरी गति दिने भन्ने कुरा भने नेताको क्षमताको कुरा पनि हो । जुन क्षमता करिब ६ वर्ष लामो आफ्नो प्रधानमन्त्रीय कार्यकालमा पुष्टि गरेकी छन् । र, उनको कार्यक्षमताबाट मौका पाएको खण्डमा युवा नेतृत्वले कठिन समयमा पनि देशलाई सही दिशामा लैजान सक्छ भन्ने उदाहरण पनि हो । त्यसैले त आर्डन भन्छिन्, ‘शान्तिको समयमा देशको नेतृत्व गर्नु एउटा कुरा हो । तर, अप्ठ्यारो र संकटका बेला सफल नेतृत्व दिन सक्नु मुख्य कुरा हो ।’ तर उनले जवाफ दिनुपर्ने अर्को विषय पनि छ । पार्टीभित्र प्रतिस्पर्धी थिएनन्, प्रतिपक्षीबाट चुनौती थिएन । जनादेशले पनि आगामी अक्टोबरसम्म उनलाई नेतृत्वको जिम्मेवारी दिएको थियो तर विकल्पबिना बिदा भइन् जेसिन्डा । त्यसैले उनको बहिगर्मनलाई आदर्शभन्दा पनि जिम्मेवारीबाट पन्छिने असामयिक कदमका रूपमा हेरिएको छ ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : माघ ६, २०७९ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?