कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

‘साथी’ चाहन्छन् युवापुस्ता

काठमाडौँ — संसारमा ‘साथी’ नहुने मानिस विरलै पाइएला । बालबालिका, युवा तन्नेरी, प्रौढ हुन् वा ढल्कँदो उमेरका, सबैजसो मानिसका ‘साथी’ हुन्छन् । कसैलाई दुःख पर्‍यो, पीडा सहन गाह्रो भो, मन अतालियो, जीवनको पाइला रोकिनै लाग्यो भने त झन् साथीको साथ अझै प्रिय हुन्छ र जीवनको गति नै परिवर्तनशील भइदिन्छ ।

‘साथी’ चाहन्छन् युवापुस्ता

अत्याधुनिक प्रविधिको युगमा युवा पुस्ता परिवार, समाज र भीडमा पनि एक्लो बन्दै छन् । उनीहरूको आफ्नो कुरा सुनिदिने मान्छे छैनन् । परिवार, शिक्षा, रोजगारी, जिम्मेवारीको नाममा उनीहरू एक्लाएक्लै बिरक्तिरहेका छन् । त्यही एक्लोपनाले नै उनीहरू आफैंलाई समाप्त गर्ने क्रम विकराल बन्दै गएको छ । यही विकराल माहोलमा रंगकर्मी आशान्त शर्मा सबैको ‘साथी’ बनेर अहिले रंगमञ्चमा उभिएका छन् ।

रंगकर्मी शर्माले एक्लो बनिरहेको युवा पुस्ता, त्यसैमा उब्जिरहेको मानसिक समस्या र आफैंले जीवन समाप्त पार्ने आत्महत्याजस्ता कारक विषयलाई उठान गर्दै नाटकमार्फत नै साथी बनेर समाधानको उपाय खोजेका छन् । उनकै लेखन तथा निर्देशनमा पुस २८ गतेदेखि टेकुस्थित कौसी थिएटरमा मञ्चन सुरु गरिएको नाटक ‘साथी, साथी आइदेऊ न !’ मा शर्मा साथीकै भूमिकामा देखिएका छन् । नाटकमा सामाजिक, पारिवारिक, आर्थिक तथा मानसिक कारणले विक्षिप्त बनेकी एक युवती अस्मिताको कथा छ । उनको मानसिक अवस्थालाई घर, परिवार, साथीभाइ कसैले बुझ्ने कोसिस गर्दैनन् । उनको अन्तिम अवस्थामा मनको पीडालाई बुझ्ने साथीको प्रवेश भएपछि उनमा आउने परिवर्तनलाई नै नाटकमा मुख्य विषयका रूपमा केन्द्रित गरिएको छ ।

युवापुस्ताले घर परिवारप्रति राख्ने माग, गरिने जिद्दीपना, साथीभाइबीच हुने प्रतिस्पर्धी भावना, ख्यालठट्टा, प्रेमसम्बन्धका कुरालाई जोड्दै नाटकको कथा अगाडि बढेको छ । यसैमा जोडिएको परिवारमा अभिभावकले सन्तानका लागि गर्ने संघर्ष, अभिभावक र सन्तानबीच चल्ने आन्तरिक द्वन्द्व र असमझदारीले कसरी युवापुस्ताले गलत बाटो अपनाइरहेका छन् भन्ने विषयलाई नाटकले मूल रूपमा उठान गरी अन्तिम बिन्दुमा समाधानको उपायसमेत बताइदिएको छ ।

मानसिक समस्या त्यसमाथि आत्महत्या जस्तो संवेदशील विषयलाई नाटककै रूपमा बुझाउन शर्माले रंगमञ्चको क्लाउन (जोकर) विधालाई प्रयोग गरेका छन् । नाट्य क्षेत्रमा भने अभिनय, शरीरको हाउभाउ, पहिरनजस्ता पक्षबाट दर्शकलाई हास्यरस र मनोरञ्जन प्रदान गर्ने विधा नै क्लाउन हो । संवेदनशील विषयलाई उठान गरिएको हुनाले नाटकभित्र जे–जति दृश्यहरू समावेश छन्, ती सबै नाटक नै हुन् भन्ने दर्शकमा महसुस गराउन उनले यस विधालाई रोजेका हुन् ।

नाटकमा सबै पात्रहरूको नाकमा रातो रङको जोकरजस्तै देखिने कपडा प्रयोग गरिएको छ । मानसिक समस्याजस्तो गम्भीर विषय त्यसमाथि पनि क्लाउन विधालाई प्रयोग गरेर शर्माले नौलो काम गरेको रंगकर्मी पुष्कर गुरुङ सुनाउँछन् । अहिलेको समय र अवस्थालाई नाटकले भरपुर रूपमा उठान गरेको उनको ठम्याइ छ । नाटक हेर्न आइपुगेका अस्मिता पौडेल र सन्तोष बजगाईले नाटकको विषयवस्तुले आफ्नै कथा पस्केको जस्तो भान भएको सुनाए । अहिलेका युवापुस्ताले आफ्नो कुरा भन्ने मान्छे नपाइरहेको बजगार्इंले स्विकारे ।

पछिल्लो समय ९० प्रतिशत आत्महत्याका कारण डिप्रेसन रहेका मानसिक रोग विशेषज्ञ तथा परामर्शदाता डाक्टर निराकारमान श्रेष्ठ सुनाउँछन् । कुनै मानिसको दैनिक जीवनमा फेरबदल आयो, जुन कुराले उसलाई निराश बनाउन थाल्यो यस्तो अवस्थामा आफ्नो कुरा आदानप्रदान गर्ने मान्छे अर्थात् साथीको आवश्यकता पर्ने श्रेष्ठको भनाई छ । उनले भने, ‘मान्छेमा मर्छु भन्ने सोच केही समय मात्र रहन्छ । त्यस्तो बेलामा सँगै बसेर उसको कुरा सुनिदिने मान्छे भएमा तुरुन्तै उसलाई बचाउन सकिन्छ ।’ यस्तो अवस्थामा उसलाई मनोपरामर्श र उपचार गरेमा मानसिक समस्याबाट निकाल्न सकिने उनको भनाइ छ । स्वयं शर्मासहित प्रभाकार न्यौपाने, सरला पराजुली, दिव्या मगर, छिरिङ शेर्पा, प्रनिश मगरलगायत कलाकारको अभिनय रहेको नाटक माघ १५ गतेसम्म मञ्चन हुनेछ ।

प्रकाशित : माघ ५, २०७९ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?