आजकै दिन

विश्वकै ठूलो यात्रुवाहक विमान निर्माण

काठमाडौँ — सन् २००५ मा आजकै दिन (जनवरी १८) मा फ्रान्सले विश्वकै ठूलो यात्रुवाहक विमान ‘एयरबस ए–३८०’ को प्रदर्शन गरेको थियो । 

विश्वकै ठूलो यात्रुवाहक विमान निर्माण

‘सुपरजम्बो’ नाम दिइएको विमान २००२ को जनवरीदेखि निर्माण सुरु गरिएको थियो । युरोपेली कम्पनीले बनाएको विमानले २००५ को अप्रिल २७ मा पहिलो उडान भरेको थियो । एयरबसमा जर्मन–फ्रेन्च र स्पेनी युरोपेली एरोनटिक डिफेन्स एनड स्पेस कम्पनी (ईएडीएस) को ८० प्रतिशत र बेलायतको बीएई सिस्टम्सको २० प्रतिशत हिस्सा छ । १९७० मा स्थापित कम्पनीको मुख्यालय नेदरल्यान्ड्सको लेइडेनमा छ । कम्पनीमा हाल १ लाख २६ हजारभन्दा बढी कर्मचारी छन् ।

‘एयरबस ए–३८०’ ले सामान्यतया ५ सय ७५ यात्रु बोक्ने गर्छ । तर इकोनोमी क्लासका सिट भने ८ सय ५३ वटा राख्न सकिन्छ । करिब एक तिहाइ एयरबस ए ३८० विमान यूएईको कम्पनी इमरेट्सले चलाउने गर्छ । इमरेट्सले भने एउटा विमानमा ४ सय ८४ देखि ४ ८९ सिट राखेको छ । ती विमानमा इमरेट्सले स्पा, बार, सुइट्सलगायतका आरामदायी सेवा, सुविधाहरू थपेका कारण सिट संख्या घटाइएको हो ।

फ्रान्स, जर्मनी, स्पेन र बेलायतमा निर्मित विमानका विभिन्न अंश फ्रान्सको टउलाउसमा लगेर जडान गरिएको हो । ६ लाख २८ हजार ३१७ सत्र पाउन्ड तौलको विमानले १२ लाख ६७ हजार ६ सय ५८ पाउन्ड तौल बोक्न सक्छ । विमानमा ८५ हजार ४ सय ७२ ग्यालन इन्धन क्षमता रहेको छ ।

एयरबसले योभन्दा करिब एक सय जना बढी यात्रु बोक्ने ‘ए ३८०–८००’ जहाज निर्माण गर्ने योजना अघि सारेको थियो । तर कुनै पनि एयरलाइन्सबाट अर्डर नपाएपछि भने कम्पनीले उक्त योजना स्थगित गरेको एरोटाइमले जनाएको छ । हालसम्म कुनै पनि निर्माण कम्पनीले एयरबस ए ३८० भन्दा ठूलो विमान बनाउने घोषणा गरिसकेका छैनन् ।

प्रकाशित : माघ ४, २०७९ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?