१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

मार्लीलाई सुन्ने एक बहाना

मार्ली परिवारले विश्व संगीतलाई धेरै कलाकार दिएको छ, हजुरबुबा बबदेखि नाति जोसेफसम्म । मार्लीले ख्याति कमाएको पाँच दशक छोएको छ । सन् १९७३ मा उनका दुई एल्बम निस्केका थिए, ‘क्याच अ फायर’ र ‘बर्निन’ । एल्बमका कारण उनी पश्चिममा खुबै कहलिए, खासगरी अमेरिकामा ।
हिमेश

काठमाडौँ — बब मार्लीलाई सम्झिरहन कुनै ठूलो कारण चाहिन्न । उनका कालजयी गीत सुन्ने एक इच्छा भए पुग्छ । उनको नामै जोडेर एउटा दुःखद् समाचार भर्खरै जस्तो संगीत बजारमा आएको थियो ।

मार्लीलाई सुन्ने एक बहाना

तीन साता जति भयो, उनका नाति जोसेफ मार्लीको पनि अकालमै निधन भएको । उनी पनि कलाकार नै हुन् । डीजे भएर बढी नाम कमाए । उनका बुबा स्टेफेन मार्ली पनि उत्तिकै कहलिएका गायक हुन् । उनले आठ पल्ट ग्रामी अवार्ड जिते ।

स्टेफेन बब मार्लीका पहिलो सन्तान हुन् । मार्ली परिवारले विश्व संगीतलाई धेरै कलाकार दिएको छ, जोसेफ तेस्रो पुस्ताका भए । विश्व संगीतमा बाजे मार्लीप्रति कति धेरै सम्मान छ भने उनको परिवारमा केही हुनुपर्छ, त्यो समाचार भइहाल्छ । जोसेफको पनि धेरै चर्चा किन भयो भने उनी दोस्रो नाति भएर बब मार्लीको परिवारमा जन्मेका थिए । जति बेला जमैकाको किङ्सटनमा उनको जन्म भएको थियो, बब मार्लीको निधन भएको पनि धेरै वर्ष भइसकेको थियो ।

तर परिवारमा संगीत ज्युँको त्युँ कायम थियो । तर ३१ वर्ष पुग्दा नपुग्दै उनले पनि मृत्यु आत्मसात् गरे, बब मार्लीले भन्दा चाँडै । बब मार्ली पनि जम्मा जम्मी ३६ वर्ष बाँचे । ठीक यही बेला बब मार्लीलाई किन धेरै सम्झिन कारण पनि बनेको छ भने उनले खास ख्याति कमाएको पनि ठ्याक्कै ५० वर्ष छोएको छ । सन् १९७३ मा उनका दुई अल्बम निस्केका थिए, ‘क्याच अ फायर’ र ‘बर्निन’ नाममा । यिनै दुई अल्बमका कारण उनी पश्चिममा खुबै कहलिए, विशेषतः अमेरिकामा ।

हाम्रोतिर पनि अंग्रेजी गीतका रूपमा पश्चिमेली संगीतलाई खुबै चाख दिएर सुन्ने बाक्लै जमात छ । यो जमातमा सबैभन्दा लोकप्रिय गायक/गायिका अथवा ब्यान्ड कुन हुन सक्छ त ? यसको ठ्याक्कै उत्तर हामीसँग छैन । फेरि यसको उत्तर गाह्रो पनि छ, किनभने सबैलाई मन पर्ने संगीत एकै खाले हुन्न । कम्तीमा यति भने मज्जाले दाबी गर्न सकिन्छ, हाम्रोमा पनि ‘रेगे’ संगीत उत्तिकै लोकप्रिय छ, जति ‘रक’ र ‘हेभिमेटल’ छन् । रेगेभन्दा हामी सबैको अगाडि त्यसै पनि आउने नाम त बब मार्ली नै हुन् ।

खासमा उनै त हुन्, आफ्नो विशिष्ट खाले संगीतलाई विश्वभरि लोकप्रिय बनाउने । बब मार्ली एक प्रकारले बिम्ब पनि हुन्, जसको नामसँगै अनुहार पनि जोडिएर आउँछ । ‘ड्रेडलक्स’ कपालको शैली उनीसँगै जोडिन्छ । त्यस बिम्बले संगीतको माध्यमबाट राजनीतिक चेतनाका सन्देश दिने गर्छ, अनि रंगभेदप्रति विद्रोह पनि । बब मार्लीका अधिकांश गीत विशेष हुने गर्छन्, किनभने यसमा आफ्नो समाज र त्यससँग जोडिएका कुरीतिप्रति आक्रोश हुने गर्छ ।

कुनै समय हाम्रा रेस्टुरेन्ट अथवा बाटो छेउका पसलतिर पृष्ठभूमिमा गीत बजिरहेको हुन्थ्यो । विशेषतः झोछेँ र ठमेलतिर । त्यसमध्ये असाध्यै सुन्न पाइने दुई गीत हुन्, ‘नो ओमन नो क्राई’ र ‘बफेलो सोल्जर’ पनि हुन् । दुवै बब मार्लीकै गीत त हुन् । उनका जति पनि गीत छन्, त्यससँगै उनको ब्यान्ड पनि जोडिन्छ, ‘द वेलर्स’ को नाममा । किङ्सटन जमैकाको ब्यान्ड हो, यो । बब मार्लीलाई खासै नपछ्याउनेले पनि कम्तीमा ती दुई गीत त पक्कै सुनेकै हुनुपर्छ ।

‘ग्लोबल फिगर’

फेरि दोहोर्‍याएर भन्दा पनि फरक पर्दैन, उनको परिचयका लागि उनको एक तस्बिर नै काफी छ । तर उनको छोटो जीवनलाई पृष्ठभूमि बनाएर उनका संगीत सुन्ने हो भने फरक भने धेरै पर्नेछ । त्यसैले उनको इतिहास बुझ्न आवश्यक छ । जमैका दुई कुराका लागि बढी चिनिन्छ, त्यही रेगे संगीत र क्रिकेटका लागि । बब मार्लीले जमैकाको संगीतलाई विश्व प्रसिद्ध बनाए । उनी गीतकार पनि हुन् उनका शब्द नै फरक छन् । उनको स्वर अझ फरक र विशेष छ ।

रोबर्ट नेस्टा मार्ली नामले सन् १९४५ मा जन्मिँदा उनीको देश आर्थिक रूपमा कमजोर र राजनीतिक रूपमा छिन्नभिन्न थियो । नाइन माइलमा जन्मे, किशोर उमेरमै कुनै एक दिन आफ्नो जीवन संगीतकै लागि भनेर किङ्सटनतिर लागे । केही नजिकका साथीसँग मिलेर ब्यान्ड पनि बनाए, जसको नामपछि त्यही द वेलर्स रह्यो । सुरुमै उनीहरूको एउटा गीत खुबै लोकप्रिय बन्यो, त्यो थियो, ‘वन लभ’ । जति बेला बब मार्ली ‘रस्टाफरी’ नामको एक धार्मिक आन्दोलनसँग जोडिए, उनको संगीत अझ विशेष हुन थाल्यो ।

यो बाइबलमै आधारित धार्मिक आन्दोलन हो, जसले भन्छ, भगवान्ले मानिसलाई जे जति दियो, ती सबै अमूल्य छन् । यो धार्मिक आन्दोलन विशेषतः अफ्रिकी मूलका बीच बढी लोकप्रिय छ । यसको सुरुआत सन् ३० तिर भएको मानिन्छ । बब मार्लीले यसलाई अझ लोकप्रिय बनाइदिए । उनले यही धार्मिक आन्दोलनलाई रेगे संगीतसँग जोडे र एकआपसमा मिसाए । रेगे संगीतको जन्मथलो पनि जमैका नै हो । यसको विशेषता भनेकै संगीतको माध्यमबाट सामाजिक र राजनीतिक मुद्दामा चर्चा गर्नु हो ।

बब मार्लीको व्यक्तित्वको एउटा खास ठूलो पक्ष के भने उनका बुबा गोरा थिए । त्यसैले उनी आफ्ना साथाीभाइबीच केही बढी नै गोरो थिए । त्यसैले सानामा उनको नामै थियो, ‘ह्वाइट ब्वाई’ । तर पनि उनले सक्दो रंगभेद सहनै पर्‍यो । सानैदेखि भेदभाव खेप्नुपर्‍यो । यसको प्रभाव उनका गीतमा पर्ने नै थियो । आफ्नो संगीत करियरको चरम बिन्दुमा उनले जमैकाको राजनीतिलाई संगीतको माध्यमबाट मिलाउने प्रयास पनि गरे, शान्त राख्ने काम पनि गरे ।

‘स्माइल जमैका’ नामको एक सांगीतिक कार्यक्रम अगाडि उनलाई गोली पनि हानिएको थियो । उनले इथोपिया र जिम्बावेका लागि पनि धेरै काम गरे । उनले धेरै लामो जीवन भने पाएनन् । सन् १९७८ तिर उनी बिरामी हुन थाले, पछि थाहा भयो, क्यान्सरकै कारण दायाँ खुट्टाको बूढीऔंला काट्नुपर्ने भयो । तर उनले सुरुमा मानेनन् । जति बेला माने, त्यो धेरै ढिला भइसकेको थियो । नसामै रमाइरहने बानीले पनि उनलाई राम्रो गरेन, अनि सन् १९८१ मा उनको निधन भयो ।

नेपाल साइनो

हाम्रोतिर एउटा दाबी के गरिन्छ भने बब मार्ली सन् ७० तिर नेपाल आएका थिए । उनी मुस्ताङतिर पनि गए । त्यहीं केही दिन मज्जाले रमाए । त्यसैले अहिले पनि उनको नाम जोडिएका होटल रेस्टुरेन्टहरू मनाङतिर पाइन्छ । विशेष गरेर जति बेला झोछेँ आफ्नो प्रसिद्धीको अन्त्यतिर पुगिसकेको थियो, त्यही बेला पनि त्यहाँ बब मार्ली नेपाल आएको प्रशस्त गफ सुन्न पाइन्थ्यो । के साँच्चै कुनै समय बब मार्ली नेपाल आएका थिए त ? यसको ठ्याक्कै उत्तर भने कोहीसँग छैन ।

सायद उनी आएकै थिएनन् । अझ भनौं, आएकै होइनन् । यसलाई एक अर्को ‘बब मार्ली लेजेन्ड’ भन्दा हुन्छ । यस्ता अनौठा कथा किङ्सटनमा जत्ति पनि सुन्न पाइन्छ, अनि लन्डन र न्युयोर्कमा पनि । मनाङ पनि अपवाद नभएको मात्रै हो । भनिन्छ, कोही एक स्टार कति ठूलो हो भनेर नाप्ने औजार भनेको उनलाई लिएर चल्ने कथा हुन् । जति धेरै कथा, त्यति ठूला स्टार । यी सबै कथा सत्य हुनुपर्छ भन्ने पनि छैन । बब मार्ली नेपाल आएको पनि यस्तै एउटा कथा मात्र हो ।

हो, यसले एउटा तथ्य भने निकै ठोस ढंगले स्थापित भने गर्छ । र, यो हो, नेपालमा पनि बब मार्ली खुबै लोकप्रिय छ, जति अरूतिर । सन् सत्तरीको समय त्यस्तै थियो, हिप्पी युग सकिनै लागेको समय । यही युगले जन्माएको एउटा कथा हो, बब मार्लीको नेपाल आगमन । अनि यस्ता कथा त्यही बेला ‘फ्रिक स्ट्रिट’ नामले चिनिने झोछेँमा सुन्न पाइन्न भने कता पाइन्छ त ? तय छ, यो कथा कहिले पनि सेलाउने छैन । बब मार्ली नेपाल आएको एकै कथाले पनि हामीलाई उनका गीत सुन्न प्रेरित गरिरहनेछ ।

प्रकाशित : माघ ४, २०७९ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?