आजकै दिन

अमेरिकी राष्ट्रपिताको जन्म

काठमाडौँ — सन् १७०६ मा आजकै दिन (जनवरी १७) मा अमेरिकी वैज्ञानिक, लेखक, कूटनीतिज्ञ तथा दार्शनिक बेन्जामिन फ्रांकलिनको जन्म भएको थियो । अमेरिकाको बोस्टन (मासाचुसेट्स) मा जन्मिएका उनी १७ वर्षको उमेरमा नयाँ कामको खोजी गर्दै फिलाडेल्फिया (पेन्सलभेनिया) पुगेका थिए ।

अमेरिकी राष्ट्रपिताको जन्म

बेलायती उपनिवेश अन्त्यका लागि भएका चारवटा प्रमुख सम्झौता सबैमा हस्ताक्षर गर्ने उनी एक मात्र अमेरिकी राष्ट्रपिता हुन् । ती सम्झौता स्वतन्त्रताको घोषणापत्र (१७७६), फ्रान्ससँगको सन्धि (१७७८), पेरिस सम्झौता (१७८३) र अमेरिकी संविधान (१७८७) हुन् ।

फ्रांकलिन अमेरिका र बेलायतको युद्ध अन्त्य गर्ने ‘पेरिस सम्झौता’ का प्रमुख वार्ताकारसमेत थिए । उनले लाइटनिङ रड, बाइफोक लेन्स, फ्रांकलिन स्टोभलगायतका विभिन्न आविष्कारहरू गरेका हुन् । फ्रांकलिन अमेरिकाका राष्ट्रपितामध्ये एक हुन् । जर्ज वासिङ्टन, थोमस जेफर्सन, जोन एडम्स, अलेक्जेन्डर हामिल्टन, जोन जे र जेम्स मेडिसन अन्य हुन् । अमेरिकी एक सय डलरको नोटमा फ्रांकलिनको तस्बिर प्रकाशित हुन्छ । अमेरिकी गैरराष्ट्रपति दुई जनाको मात्र अमेरिकी नोटमा तस्बिर हुने गर्छ । उनीहरू फ्रांकलिन र हामिल्टन हुन् ।

प्रकाशक र सम्पादकका रूपमा समेत उनी निकै सफल मानिन्छन् । उनले २३ वर्षको उमेरमा अमेरिकाको फिलाडेल्फियामा पेन्सिलभानिया गजेटको प्रकाशन गरेका थिए । सन् १७६७ मा भने उनी पेन्सलभेनिया क्रोनिकलसँग आबद्ध भएका थिए । बेलायती संसद् र राजसंस्थाको कडा आलोचना गर्ने उक्त पत्रिकाले सर्वसाधारणमा क्रान्तिकारी छवि बनाएको थियो । उनी सन् १७८५ देखि तीन वर्ष पेन्सलभेनियाको गभर्नर भएका थिए । त्यसअघि उनी सन् १७७६ देखि १७८५ सम्म फ्रान्सका लागि राजदूत थिए । आफ्नो जीवनकालमा फ्रांकलिनले ३० हजारभन्दा बढी पत्रहरू लेख्ने तथा आदानप्रदान गरेका थिए । संगीतमा विशेष रुचि राख्ने फ्रांकलिनले भायोलिन, हार्प तथा गिटार बजाउने गर्थे । उनी पहिलो अमेरिकी चेस खेलाडीका रूपमा समेत चिनिन्छन् । फ्रांकलिनको सन् १७९० अप्रिल १७ मा फिलाडेल्फियास्थित घरमा ८४ वर्षको उमेरमा मृत्यु भएको थियो ।

प्रकाशित : माघ ३, २०७९ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?