१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

युवाले बनाए पानीको प्रदूषण हटाउने प्रविधि

गोविन्द पोखरेल

काठमाडौँ — ताल, पोखरी तथा सिमसारमा पानीको प्रदूषण हटाउन नेपालमै पहिलो पटक ‘एफटीडब्लूएस’ नामक वातावरणमैत्री प्रविधि प्रयोगमा ल्याइएको छ । ललितपुर महानगरपालिकास्थित नागदहमा ‘फ्लोटिङ ट्रिटमेन्ट वेटलेन्ड सिस्टम (एफटीडब्लूएस)’ को प्रयोग सुरु गरिएको हो ।

युवाले बनाए पानीको प्रदूषण हटाउने प्रविधि

प्रविधिअन्तर्गत जराको माध्यमबाट पानीमा भएका प्रदूषक तत्त्वहरू हटाइन्छ । ‘द स्मल अर्थ’ नेपालको पहलमा नागदहका चार कुनामा ४० वटा एफटीडब्लूएस राखिएको छ । एउटा एफटीडब्लूएस ४/६ वर्ग फिटको राफ्ट आकार छ । त्यसमा ५० वटा बिरुवा राखिन्छ । हाल भने सर्वदा र ठूलो ल्वाङ फूलको प्रयोग गरिएको द स्मल अर्थ नेपालकी अनुसन्धानकर्ता असोरी ब्यान्जुले बताइन् । ‘सिमसारको सुरक्षाका लागि हामीले पहिलोपटक यो जैविक विधि अपनाएका हौं,’ उनले भनिन् ।

राफ्टको माथिल्लो भागमा राखिएका फूलका जराले पानीको सतह छुने किसिमका छन् । दहमा आउने चराहरूले राफ्टमा क्षति पुर्‍याउन सक्ने भएकाले सुरक्षाका लागि बीचमा निगालोका मान्द्रा राखिएको छ । ब्यान्जुका अनुसार मान्द्रामा प्वाल खोपेर फूल राखिएको हो । बिरुवाका जरा पानीको सतहसम्म फैलिएका कारण बिरुवाले प्रदूषक तत्त्वहरू सोस्ने उनले बताइन् । ‘दिगो रूपमा पानीमा भएका प्रदूषक तत्त्वहरू हटाउने यो उत्तम प्रविधि हो,’ उनले भनिन्, ‘यो प्रविधि सफल भएमा अन्य ठाउँमा प्रयोग गर्ने योजना छ ।’ प्रविधि पानीमा हुने इयुट्रोफिकेसन (सुपोषण) हटाउने काममा प्रभावकारी हुने विज्ञहरू बताउँछन् । सिमसार विज्ञ एवं त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक दीपनारायण शाह भन्छन्, ‘पानीमा हुने नाइट्रोजन र फोस्फोरसका कारण पोषक तत्त्व बढ्दै जाँदा लेउ (अल्गी) को वृद्धि हुन्छ । जसले पानीको सतहलाई पूर्ण रूपमा ढाकिदिन्छ ।’

पानीका सतहलाई लेउलगायतका जलीय बिरुवाले ढाक्दा जलीय पारिस्थितिक प्रणालीलाई प्रत्यक्ष असर गर्छ । जलस्रोतमा सुपोषण धेरै हुँदा जलजीवनको स्वच्छतामाथि नकारात्मक प्रभाव पार्छ । धेरै धेरैजसो स्थानमा भने जलकुम्भीजस्ता मिचाहा झारले पानीको स्रोतलाई पूरै ढाकिदिने सिमसार विज्ञ शाहले बताए । नेपालका सिमसारमा पनि सुपोषण बढ्दै जाँदा लेउसहित जलकुम्भी झार बढ्ने र पारिस्थितिक प्रणालीलाई असर गर्ने विभिन्न अनुसन्धानहरूबाट पुष्टि भएको छ ।

एफटीडब्लूएस प्रविधिको प्रयोगले पोखरी र दहजस्ता जलस्रोतमा सुपोषणको समस्याबाट मुक्त गराउन भूमिका खेल्ने स्मल अर्थ नेपालको दाबी छ । नागदहमा यसको प्रयोग गर्नुअघिको अध्ययनमा सकारात्मक नतिजा प्राप्त भएको निर्माणकर्ताको भनाइ छ । प्रविधिको प्रयोगबाट पानीमा भएको नाइट्रेटको मात्रा ९९.५ प्रतिशतले, एमोनिया ९०.२, अर्थोफोस्फेट ८६.७ र आइरन ६१ प्रतिशतले घटेको पाइएको हो । प्रविधिको प्रयोगले पानीमा घुलित अक्सिजनको मात्रा ५० प्रतिशतले बढेको छ भने बायोलोजिकल अक्सिजन डिमान्ड ४१.५ प्रतिशतले घटेको पाइएको थियो । ‘यो नतिजाबाट हामी उत्साहित छौं । नागदहको पानीको गुणस्तर पनि सुधार हुने आशा लिएका छौं,’ ब्यान्जुले भनिन् ।

नेपालमा पहिलो पटक प्रयोग भएकाले यो प्रविधिको प्रभावकारिताबारे अहिले नै भन्न सकिने अवस्था भने छैन । उपप्राध्यापक शाह भन्छन्, ‘यो खालका प्रविधि नेचुरल बेस्ड सोलुसन चाहिँ हो । लामो समयसम्मको तथ्यांक प्रयोग नगरी प्रभावकारिताबारे भन्न सकिँदैन ।’ चीन लगायत मुलुकमा यो प्रविधि सफल भइसकेको उनको भनाइ छ ।

प्रकाशित : माघ २, २०७९ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?