काठमाडौँ — सन् १९६२ मा आजकै दिन (जनवरी १६) मा जेम्स बोन्ड सिरिजको पहिलो फिल्म ‘डा.नो’ को निर्माण सुरु भएको थियो । फिल्म ‘डा.नो’ उपन्यासमा आधारित रहेर निर्माण गरिएको हो ।
टेरेन्स योङले निर्देशन गरेको फिल्ममा पहिलो जेम्स बोन्डका रूपमा सिन कोनेरीले अभिनय गरेका हुन् । उनीसँगै फिल्ममा उर्सुला एन्ड्रेस, जोसेफ वाइजमेन र ज्याक लर्डको फिल्ममा मुख्य भूमिका रहेको छ ।
ह्यारी साल्ट्जमेनले र अल्बर्ट आर ब्रोकोलीको लगानीमा फिल्म निर्माण भएको हो । उनीहरूले सन् १९७५ सम्म विभिन्न फिल्म निर्माण गरेका थिए । एक बेलायती एजेन्ट बेपत्ता भएपछि छानबिनका लागि जेम्स बोन्ड जमैका गएको विषयवस्तुमा फिल्म केन्द्रित छ । जेम्स बोन्ड सिरिजअन्तर्गत हालसम्म २७ वटा फिल्म निर्माण भइसकेका छन् । ‘डा.नो’ पछि जेम्स बोन्ड सिरिजको अर्को फिल्म ‘फ्रम रसिया विथ लभ’ सन् १९६३ मा बनाइएको थियो । यस सिरिजको पछिल्लो फिल्म ‘नो टाइम टु डाई’ हो । उक्त फिल्म सन् २०२१ मा रिलिज भएको थियो । फिल्ममा डानियल क्रेगले जेम्स बोन्डको भूमिका निर्वाह गरेका छन् ।
६ दशक लामो समयमा सिरिजअन्तर्गत सात जना अभिनेताले जेम्स बोन्डको भूमिका निर्वाह गरिसकेका छन् । उनीहरू सिन कोनेरी, डेभिड निभेन, जर्ज लाजेनबाई, रोगर मुर, टिमोथी डाल्टन, पियर्स ब्रोसनन र डानियल क्रेग हुन् ।
जेम्स बोन्ड सिरिजअन्तर्गत हालसम्म प्रदर्शनमा आएकामध्ये ‘डा.नो (१९६२)’, ‘फ्रम रसिया विथ लभ (१९६३)’, ‘गोल्डफिंगर (१९६४)’, ‘थन्डरबेल (१९६५)’, ‘क्यासिनो रोयल (२००६)’, ‘स्काइफल (२०१२)’, नो टाइम टु डाई (२०२१) चर्चित फिल्म हुन् ।
