किशोरले बनाए ‘इ–स्कुटर’- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किशोरले बनाए ‘इ–स्कुटर’

आश गुरुङ

लमजुङ — मध्यनेपाल नगरपालिका–६ भोर्लेटारस्थित ईशानेश्वर मावि कक्षा १२ मा अध्ययन गर्ने अविनाश गुरुङ १७ वर्ष पुगे । मध्यनेपाल–८ डडुवामा कक्षा ८ पास गरेपछि ईशानेश्वर माविमा भर्ना भएका उनले प्राविधिक शिक्षाअन्तर्गत बाली विज्ञान विषय रोजे । तर उनको मन भने इन्जिनियरिङ विषयमा मोडियो । त्यतिबेला नै डोजर बनाएर सबैलाई चकित पारेका अविनाशले यस पटक ‘इलेक्ट्रिक स्कुटर’ बनाएका छन् । आफैं गुडाउँदै पनि हिँड्छन् ।

आफ्नै ज्ञान र खर्चमा सामग्री संकलन गरी करिब ५५ हजार रुपैयाँको लागतमा बनाइएको स्कुटरलाई उनले विद्यालय आउजाउ गर्न प्रयोग गर्छन् । स्कुटर एक पटक चार्ज गरेपछि ३ देखि ४ किलोमिटरसम्म गुड्ने उनी बताउँछन् । ‘अहिले स्कुल जान–आउन यही स्कुटर प्रयोग गर्छु । हिँडेर १५ मिनेट लाग्ने स्कुल अहिले ५/६ मिनेटमा पुगिन्छ,’ उनले भने । स्कुटरमा उनले २४ भोल्ट २ सय ५० वाटको मोटर प्रयोग गरेका छन् ।

शिक्षक रमेशचन्द्र घिमिरेका अनुसार अविनाशले राम्रो कोरियोग्राफी गर्छन् । नाटकमा पनि अभिनय गर्छन् । चित्र र कलात्मक पेन्टिङसमेत गर्छन् । सबैभन्दा बढी विज्ञान सामग्री अध्ययन र निर्माणमा उनको समय जान्छ । अविनाशले गतवर्ष विद्युतीय रोबोटसमेत तयार पारे । रकेट पनि बनाए ।

विद्यालयका विज्ञान शिक्षक निर्मल अधिकारीका अनुसार करिब २ सय मिटरमाथिसम्म उडेको रकेट त्यसैमा राखिएको प्यारासुटबाट झरेको थियो । ‘अविनाशले पढ्ने विषय बाली विज्ञान हो । तर ध्यान सबै इन्जिनियरिङतिर छ । उसको लगाब र इन्जिनियरिङ क्षमता एक किसिमको अद्भुत नै छ ।’ ब्याट्री सानो र कम क्षमताको भएकाले कम दूरी गुडेको भन्दै विद्यालयले उनको हौसलाका लागि केही ठूलो खाले ब्याट्री खरिद गरिदिने सल्लाह भइरहेको उनले बताए ।

बुवा आशबहादुर गुरुङ केही महिनाअघि मात्रै कतारबाट घर बिदामा आएका छन् । उनी आमा उरमाया गुरुङसँगै भोर्लेटारमा बस्छन् । अविनाशका भाइ अभिषेक ईशानेश्वरमै कक्षा ८ मा पढ्छन् । विदेशमा कमाएको पैसाबाट छोराले ‘इलेक्ट्रिक स्कुटर’ बनाएको देख्दा आशबहादुर निकै खुसी छन् । ‘यस्तो बनाउने दिमाग कहाँबाट आउँछ भनेर छक्क पर्छु,’ उनले भने, ‘जे गरेको छ, छोराले राम्रो गरेको छ ।’

अविनाशका अनुसार ‘इलेक्ट्रिक स्कुटर’ लाई मेला महोत्सवतिर पनि प्रदर्शन गर्ने गरिएको छ । यसमा इलेक्ट्रिक भेइकलको मोटर जडान गरिएको छ । अगाडि र पछाडिको पांग्रा सानोखाले साइकलको हो । दुवै पांग्रामा ब्रेक छ । उनले अँध्यारोमा गुडाउन मिल्ने गरी लाइट पनि राखेका छन् । टिन र ग्रिल उद्योगमा पाइने फलामे सामग्रीबाट यो ‘इलेक्ट्रिक स्कुटर’ बनाउन एक महिना लागेको उनले बताए । ‘दिउँसो त स्कुल जानुपर्‍यो । साँझबिहानको समयमा बनाएको हुँ,’ उनले भने । उनले यसको अध्ययन भने इन्टरनेटको माध्यमबाट गरेको बताए ।

प्रकाशित : माघ १, २०७९ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्

बोरामा बसेर पढाइ

झन्डै २ सय विद्यार्थी पढ्ने विद्यालयमा संरचनाको नाममा सानो फुसको झुपडी मात्र छ, डेस्कबेन्च नहुँदा विद्यार्थी खुला आकाशमुनि बोरा ओछ्याएर पढ्छन्
शिव पुरी

रौतहट — एउटा हातमा बोरा, अर्कोमा किताब । रौतहटको फतुवाविजयपुर नगरपालिका–१ स्थित श्रीदलित प्राविमा पढ्ने विद्यार्थी हरेक दिन विद्यालय जाँदा देखिने दृश्य हो यो । विद्यालयको नाममा सानो फुसको झुपडी छ । विद्यार्थी बाहिरै खुला आकाशमुनि बोरा ओछ्याएर पढ्छन् । 

झन्डै २ सयको हाराहारीमा विद्यार्थी रहेको यो विद्यालय २०६४ सालमा स्थापना भएको हो । बाल विकासका दुई शिक्षिकासहित ४ शिक्षक रहेको विद्यालयमा शिशुदेखि ५ कक्षासम्म पढाइन्छ । यति धेरै विद्यार्थी भए पनि विद्यालयको आफ्नै भवन, कक्षाकोठा र डेक्सबेन्च छैन । फुसले छाएको चारैतिरबाट खुला एउटा झुपडी छ । अगाडि सानो चौर । विद्यालयमा विशेषगरी विपन्न र दलित समुदायका बालबालिका पढ्छन् । संरचना अभावमा उनीहरू बोरा ओछ्याएर पढ्न बाध्य छन् ।

कक्षा ४ मा पढ्ने इन्द्रकुमारी पासवानले खुला चौरमा बोरा बिछ्याएर पढ्नुपर्दा अप्ठ्यारो हुने गरेको बताइन् । उनले शिक्षकले पढाएको बुझ्न पनि समस्या हुने गरेको सुनाइन् । ‘एक कक्षादेखि नै बोरा बोक्न थालेको हुँ, अहिले चारमा पुगिसकें । कहिलेसम्म बोरा बोक्नुपर्ने हो ?’ उनले प्रश्न गरिन् । विद्यालयमा फर्निचर मात्र होइन, खानेपानी र शौचालय पनि छैनन् । कक्षाअनुसार छुट्टाछुट्टै समूह बनाएर चौरमा पढाउने गरिएको छ । कालोपाटी नहुँदा मौखिक रूपमा पढाउँदै आएको शिक्षक हीरालाल यादवले सुनाए । विद्यालयको दयनीय अवस्थाकै कारण शिक्षण सिकाइ पनि प्रभावकारी नभएको उनले बताए । उनका अनुसार साना उमेरका बालबालिका बोरा ओछ्याएर चिसो चौरमा दिनभर बस्दा बिरामी पर्ने गरेका छन् । ‘विद्यार्थीलाई कहिले चर्को घाम त कहिले चिसोले सताउँछ । बर्खामा भिज्नुपर्ने बाध्यता छ,’ उनले भने ।

भवनलगायत संरचनाका लागि पटकपटक नगरपालिकासित माग गर्दा पनि सुनुवाइ नभएको विद्यालयका प्रधानाध्यापक राजेन्द्र हजाराले बताए । ‘बर्खा र हिउँदमा बालबालिकाको अवस्था बिजोग हुन्छ,’ उनले भने, ‘चिसो भुइँमा पढ्नुपर्दा विद्यार्थी आउन छाडेका छन् । विद्यालय राम्रो बनाउन सबैले चासो दिनुपर्नेमा वास्ता गरेकै छैनन् ।’ पालिकाले दिवा खाजाको रकम पठाए पनि सामान राख्ने र पकाउने ठाउँको अभावले खुवाउन नसकिएको उनले बताए । ‘बाध्य भएर विद्यार्थीलाई चाउचाउ र बिस्कुट दिने गरेका छौं,’ हजाराले भने । अभिभावक सुरेन्द्र पासवानले शिक्षा क्षेत्र पालिकाको मातहतमा आए पनि विद्यालय सुधारका लागि कुनै काम हुन नसकेको गुनासो गरे । ‘बालबालिकालाई बोरा बोकाएर पठाउनुपर्छ । यो कति लाजमर्दो कुरा हो,’ उनले भने, ‘विद्यालय र बालबालिकाको अवस्था नाजुक छ । पालिकाले कहिले ध्यान दिने होला ?

नगरपालिकाका शिक्षा संयोजक तेजनारायण यादवले तत्काल भवन नबनुन्जेल घर भाडामा लिएर भए पनि उक्त विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको बताए । ‘नगरसभाबाट भवन बनाउन केही बजेटसमेत छुट्याएको सुनेको छु । तर किन निर्माण अघि बढेन भन्ने बुझ्छु,’ उनले भने । हाल मधेसमा शीतलहर सुरु भएकाले उक्त विद्यालय बन्द छ । भाडाको घर लिएर विद्यालय खुलाउने तयारी भइरहेको संयोजक यादवले बताए । पालिकाकी उपप्रमुख अमवेय खातुनले उक्त विद्यालयका लागि के गर्न सकिन्छ भने छलफल भइरहेको बताइन् ।

जिल्लाका १८ वटा पालिकामा झन्डै ४ सय हाराहारीमा आधारभूत विद्यालय छन् । ती सबैमा भवन र अन्य भौतिक संरचना पर्याप्त छैनन् । पालिकाले बजेट विनियोजन गरेर विद्यालयलाई राम्रो बनाउनुपर्नेमा अधिकांशको अवस्था सुध्रन नसकेको जिल्ला शिक्षा इकाइ प्रमुख रामविनय सिंहले बताए । ‘फतुवा विजयपुरको जस्तो अवस्था अरू ठाउँमा पनि छ,,’ उनले भने, ‘हामीले पनि खोजी गरिरहेका छौं । स्थानीय तहले विद्यालयको अवस्था हेरेर राम्रो बनाउन सक्नुपर्छ ।’

रौतहटको फतुवाविजयपुर–१ स्थित श्रीदलित प्राविका विद्यार्थी भुइँमा बसेर पढ्दै ।तस्बिर ः शिव/कान्तिपुर



प्रकाशित : माघ १, २०७९ ०९:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×