आजकै दिन : मार्टिन लुथर किङको जन्म

माघ १, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९२९ मा आजकै दिन (जनवरी १५) मा मार्टिन लुथर किङ जुनियरको जन्म भएको थियो । नागरिक अधिकारसम्बन्धी अमेरिकामा भएको आन्दोलनका उनी एक प्रभावशाली नेता हुन् ।

नश्लीय विभेदसम्बन्धी संघीय तथा राज्यस्तरीय कानुनमा रहेको व्यवस्था अन्त्यको माग गर्दै अमेरिकामा सन् १९५५ देखि १९६८ सम्म आन्दोलन भएको थियो । माग पूरा गराउन शान्तिपूर्ण आन्दोलन तथा नागरिक अवज्ञामा लुथर किङले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए । 

उनको नेतृत्वमा १९५० को मध्य–दशकमा सुरु भएको आन्दोलनले अश्वेत अमेरिकीका लागि शिक्षा र रोजगारीको समान अधिकार स्थापित गरेको थियो । लुथर किङ ‘आइ ह्याभ अ ड्रिम’ भाषणबाट समेत चर्चित छन् । भाषणमार्फत उनले अमेरिकी संघीय सरकारलाई नश्लीय विभेद स्वीकार गरी समानताको पक्षमा कानुन ल्याउन प्रभावित पारेका थिए । 

नागरिक अधिकार र सामाजिक न्याय स्थापित गर्न पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सन् १९६४ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । उनको अग्रसरतामा भएको आन्दोलनका कारण अमेरिकामा सन् १९६४ मा नागरिक अधिकार ऐन र १९६५ मा मताधिकार ऐन कार्यान्वयनमा ल्याइएको थियो । उनले भियतनाम युद्धमा अमेरिकी संलग्नताको समेत विरोध जनाएका थिए । 

सन् १९८३ मा तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले समान अधिकार र न्यायका पक्षमा उनका प्रतिबद्धताको सम्मानका लागि संघीय बिदा दिने विधेयक ल्याएका थिए । समानता र न्यायको पक्षमा आन्दोलन गर्ने क्रममा लुथर किङले २ हजार ५ सयभन्दा बढी भाषण दिएका थिए । त्यसक्रममा उनी १५ पटक पक्राउ परेका थिए । 

उनको सन् १९६८ को अप्रिल ४ मा गोली हानी हत्या गरिएको थियो । त्यसको एक दशकअघि भएको हत्या प्रयासबाट भने उनी बचेका थिए ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully