काठमाडौँ — काठमाडौं (कास)– वर्षकै प्रतीक्षित मानिएको फिल्म ‘प्रसाद २’ ले छायांकन सकाएलगत्तै प्रदर्शन मिति वैशाख १ लाई निश्चित गरेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित ल्वाङ गाउँमा गरिएको फिल्मको छायांकन शनिबार सकिएको हो ।
सुदर्शन थापा निर्देशित ‘प्रसाद २’ एसजी फिल्मस् र सुलभ थापा प्रोडक्सनको संयुक्त ब्यानरमा सुदर्शन बस्नेतले बनाएका हुन् । फिल्मको कार्यकारी निर्माता सुवास थापा रहेका छन् ।
अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारी मुख्य जोडी रहेको ‘प्रसाद २’ मा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डेलगायतको पनि मुख्य भूमिका छ ।
सुशील पौडेलको लेखन रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, राजनराज सिवाकोटीको संगीत र उत्तम न्यौपानेको ध्वनि रहेको छ । इन्डक्ल्यापपछि निर्देशक थापाले फिल्म आगामी वर्षको वैशाख १ मा रिलिज गरिने बताएका हुन् ।
निर्देशक थापाले भने, ‘फिल्म ‘प्रसाद’ लाई दर्शकले अपार माया दिनुभएको छ । यस्तै, माया ‘प्रसाद २’ बाट पनि पाउनेमा विश्वस्त छौं । दर्शकका लागि नयाँ वर्ष ‘प्रसाद २’ ले विशेष बनाउनेमा आशावादी छौं ।’
अन्तर्जातीय विवाह गरेका निःसन्तान दम्पतीको आरोह/अवरोहलाई समेटिएको ‘प्रसाद’ कै सिक्वेलका रूपमा आउन लागेको ‘प्रसाद २’ मा सोही दम्पतीले समाजसँग गर्ने संघर्षलाई पस्कन खोजेको लेखक पौडेलले बताए । दिनेश राउत निर्देशित ‘प्रसाद’ ले व्यावसायिक तथा समीक्षात्मक रूपमा प्रशंसा बटुलेको थियो ।
