कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

क्रिटिक्स च्वाइसमा आरआरआर उत्कृष्ट

एजेन्सी

लस एन्जेल्स — ऐतिहासिक गोल्डेन ग्लोब अवार्ड जितेको केही दिनमा तेलगु फिल्म ‘आरआरआर’ ले अर्को महत्त्वपूर्ण सफलता हासिल गरेको छ । अमेरिकाको लस एन्जल्समा आयोजित क्रिटिक्स च्वाइस अवार्डको २८ औं संस्करणमा ‘आरआरआर’ ले विदेशी भाषाको उत्कृष्ट फिल्म र ‘नाटु नाटु’ ले उत्कृष्ट गीतको अवार्ड प्राप्त गरेका छन् । 

क्रिटिक्स च्वाइसमा आरआरआर उत्कृष्ट

आरआरआरको ‘नाटु नाटु’ गीतले केही दिनअघि गोल्डेन ग्लोब अवार्ड जितेको थियो । तर गोल्डेन ग्लोबमा उत्कृष्ट फिल्म घोषित ‘अर्जेन्टिना १९८५’ लाई पछि पार्दै क्रिटिक्स च्वाइस अवार्ड भने ‘आरआरआर’ ले हात पारेको हो । ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’ ले उत्कृष्ट फिल्मको अवार्ड प्राप्त गरेको छ । त्यस्तै, ‘द ह्वेल’ बाट ब्रेन्डन फ्रासर उत्कृष्ट अभिनेता र ‘टार’ बाट केट ब्लानचेटले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेका छन् । ‘अवतार ः द वे अफ वाटर’ बाट जेम्स क्यामेरुन उत्कृष्ट निर्देशक बने ।

अवार्ड प्राप्त गरेपछि फिल्मका निर्देशक एसएस राजामौलीले ‘आफ्नी आमाको मार्गदर्शनका कारण’ आफू यहाँसम्म आइपुगेको बताएका छन् । ‘विद्यालय शिक्षालाई अनावश्यक बढाइचढाइ गर्ने गरिएको ठान्ने मेरी आमाले मलाई कमिक्स र कथाहरू पढ्न प्रोत्साहित गर्नुहुन्थ्यो,’ उनले भनेका छन् । उत्कृष्ट फिल्मको सम्मानमा अमेरिकी–क्यानाडेली क्रिटिक्स च्वाइस एसोसिएसनले हरेक वर्ष उक्त अवार्ड प्रदान गर्दै आएको छ । अवार्डको ट्वीटर पेजमार्फत आरआरआर र यसको निर्माण टिमलाई विदेशी भाषाको उत्कृष्ट फिल्म र गीतको अवार्ड जितेकोमा बधाई दिइएको छ । आरआरआरको सफलतासँगै भारतीय फ्यानहरूले खुसी मनाएका छन् । सामाजिक सञ्जालहरूमा उनीहरूले ‘देशका लागि गौरवको समय भएको’ लेखेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सन् १९२० मा बेलायती उपनिवेशबाट मुक्त हुन संघर्ष गरिरहेको भारतका दुई नायकलाई फिल्मले मुख्य कथावस्तु बनाएको छ । देशलाई स्वतन्त्र बनाउन संघर्ष गर्ने ‘राष्ट्रका हिरो’ का रूपमा राजामौलीले रामचरण र जुनियर एनटीआरलाई पर्दामा उतारेका हुन् । उपनिवेशबाट मुक्त हुन उनीहरूले गरेको संघर्षलाई फिल्मले नयाँ शैलीमा बुनेको छ ।

यसअघि ‘बाहुबली’ र ‘मागाधिरा’ जस्ता ब्लकबस्टर फिल्मका निर्देशक राजामौलीले यसपटक भने ‘राष्ट्रवाद’ मार्फत अन्तर्राष्ट्रिय सफलता पाउन सफल भएका छन् । भारतको महँगोमध्येको फिल्मलाई भारत र अन्य कतिपय देशका बक्स अफिसमा निकै ठूलो सफलता मिलेको जनाइएको छ । कतिपय हलिउडकर्मीले पनि फिल्मको खुलेरै चर्चा गर्ने गरेका छन् ।

‘नाटु नाटु’ गीतका कम्पोजर एमएम किरावानीले ओस्कार विजेता निर्देशक जेम्स क्यामेरुनसँगको तस्बिर ट्वीट गरेका छन् । ‘आफूलाई क्यामेरुनले दुई पटक फिल्म हेरेको बताएका’ किरावानीले ट्वीटमा उल्लेख गरेका छन् । त्यस्तै, बलिउड अभिनेत्री आलिया भट्टले पनि ‘क्यामेरुनले फिल्मको प्रशंसा गरेको’ बताएकी छन् । फिल्ममा आलियाले रामचरणको बाल्यकालको साथी तथा प्रेमिकाको भूमिका निर्वाह गरेकी छन् ।

प्रकाशित : माघ ३, २०७९ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×