१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ट्वीटरको आम्दानी ४० प्रतिशतले घट्यो

एजेन्सी

सान फ्रान्सिस्को — इलन मस्कले सामाजिक सञ्जाल ट्वीटर खरिद गरेयता पाँच सयभन्दा बढीले विज्ञापन रोकेका छन् । ट्वीटरको विज्ञापनसँग जानकार एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले बुधबार यो समाचार सार्वजनिक गरेको हो ।

ट्वीटरको आम्दानी ४० प्रतिशतले घट्यो

यस वर्ष जनवरी १७ सम्म ट्वीटरको आम्दानी अघिल्लो दिनको तुलनामा ४० प्रतिशतले घटेको समाचारमा जनाइएको छ । यस बारेको समाचार सबभन्दा पहिले मंगलबार प्रविधिसम्बन्धी न्युजलेटर प्ल्याटफर्मरले प्रकाशित गरेको थियो । ट्वीटरले भने यसबारे कुनै प्रतिक्रिया नदिएको समाचार संस्था रोयटर्सले जनाएको छ । ट्वीटरले सन् २०१९ मा राजनीतिक विज्ञापन रोक्ने निर्णय हालै उल्टाउँदै विज्ञापन नीति खुकुलो पार्ने जनाएको थियो ।

मस्कले गत अक्टोबरमा २७ मा ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गरेका हुन् । उनी विद्युतीय कार निर्माण कम्पनी टेस्ला र स्पेस एक्स कम्पनीका समेत मालिक हुन् । ट्वीटर खरिद गरेसँगै मस्कले २०२१ को नोभेम्बरदेखि २०२२ को डिसेम्बरसम्ममा १ खर्ब ६५ अर्ब अमेरिकी डलर बराबरको रकम गुमाएका हालै सार्वजनिक भएको छ ।

ट्वीटर किनेपछि टेस्लाका लागि समय नदिने लगानीकर्ताको चिन्ताका कारण उनको कम्पनीको सेयरमा भारी गिरावट आएको हो । कम्पनीले गत वर्ष जम्मा १३ लाख वटा गाडी मात्रै बजारमा पुर्‍याएका कारण सेयर मूल्य घटेको जनाइएको छ । त्यसका साथै, ट्वीटर खरिद गरेपछि ठूलो संख्यामा कर्मचारीलाई बर्खास्त गर्ने र सामग्रीसम्बन्धी नीतिमा ल्याएको हेरफेरका कारण सेयरमा गिरावट आएको हो ।

मस्कले गुमाएको सम्पत्तिको विवरण उनको स्वामित्वमा रहेका सेयरमा आएको गिरावटका आधारमा निकालिएको हो । जसका कारण सेयरको मूल्य पुनः बढेको खण्डमा भने उनको गुमेको सम्पत्ति फेरि बढ्न सक्छ  । यसअघि जापानी प्रविधि लगानीकर्ता मासायोसी सोनले सन् २००० मा ५८.६ अर्ब अमेरिकी डलर गुमाएका थिए । उक्त कीर्तिमान मस्कले तोडेका हुन् ।

प्रकाशित : माघ ५, २०७९ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?