विमान उडेपछि कोरोना पुष्टि, ५ घण्टा शौचालयमै 'आइसोलेसन'

पुस १६, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — एक जना अमेरिकी शिक्षिकाले विमानमा उडिरहेका बेला कोरोना संक्रमित भएको थाहा पाएपछि शौचालयमै ५ घण्टा बिताएको बताएकी छिन् ।

गत डिसेम्बर २० मा आइसल्यान्ड एयरमार्फत अमेरिकाको सिकागोबाट आइसल्यान्डको रिक्याभिकको यात्रा गरिरहेका बेला मारिसा फोसियोले आफूलाई विमानको शौचालयमै आइसोलेट गरेकी हुन् । विमानमा घाँटी दुखेपछि उनले आफूसँगै ल्याएको र्‍यापिड टेस्ट किटमार्फत कोभिड परीक्षण गरेकी थिइन् । परीक्षणमा पोजिटिभ देखिएपछि उनले बाँकी यात्रा शौचालयमै बसेर पूरा गरेको बताएकी छिन् ।

विमान परिचारिकाले शौचालयमै उनलाई खाना र पेय पदार्थ उपलब्ध गराएकी थिइन् । विमान चढ्नुअघि नै उनले कोभिड परीक्षणको रिपोर्ट बुझाउनुपर्ने अवस्था थियो/थिएन भन्नेबारे भने अहिलेसम्म केही खुलेको छैन । 'यो एउटा अद्भुत अनुभव थियो,' मिसिगनकी स्थायी बासिन्दा फोसियोले एनबीसी न्युजसँग भनिन्, 'विमानमा १५० जना यात्रु थिए । अरुलाई संक्रमण हुन्छ भन्ने मलाई ठूलो डर थियो।'

विमानको शौचालयमा आइसोलेट भएर बस्दाको भिडियो उनले टिकटकमा पनि पोस्ट गरेकी छिन् । अहिलेसम्म उक्त भिडियो ४४ लाखभन्दा बढी पटक हेरिएको छ । उनले विमान परिचारिकाको पनि प्रशंसा गरेकी छिन् । ५ घण्टासम्म आफूलाई चाहिने सबै चिजको प्रबन्ध मिलाइदिएको र बेलाबेलामा आफ्नो हालखबर सोधिरहेको भन्दै उनले परिचारिकाको प्रशंसा गरेकी हुन् । रिक्याभिक पुगेपछि भने उनले रेड क्रस होटेलमा आइसोलेसनमा बसेकी थिइन् । 

पछिल्लो समय ओमिक्रोन र डेल्टा भेरिएन्टका कारण अमेरिका र युरोपेली मुलुकहरूमा संक्रमण तीव्र रूपमा विस्तार भइरहेको छ । समाचार संस्था रोयटर्सका अनुसार विश्वभर दैनिक ९ लाखको हाराहारीमा संक्रमण पुष्टि भइरहेको छ । 

कोरोना भाइरसकोरोना खोप

कान्तिपुर

Link copied successfully