नयाँदिल्ली — कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण तीव्र बनिरहेका बेला भारतले दुई नयाँ खोपलाई अनुमति दिएको छ । सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा निर्मित कोभोभ्याक्स र बायोलोजिकल ईले बनाएको कोर्बेभ्याक्सलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको हो ।
पछिल्लो निर्णयसँगै भारत सरकारको मान्यता पाएको कोभिडविरुद्धका खोपको संख्या ८ पुगेको छ । तीमध्ये तीनवटा खोप भारतमा बनेका हुन् ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बुधबार साँझसम्म भारतमा १ अर्ब ४३ डोज कोभिडविरुद्धको खोप दिइसकिएको छ । भारतले सन् २०२१ को अन्त्यसम्म्मा सबै नागरिकलाई खोप दिइसक्ने लक्ष्य लिएको थियो, तर त्यो सम्भव नहुने देखिएको छ । खोप लिन योग्य ६२ प्रतिशत नागरिकले मात्रै पूर्ण मात्रा खोप पाएका छन् । खोपको एक मात्रा मात्र लगाउने ९० प्रतिशतभन्दा बढी छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्यकर्मी, अग्रपंक्तिमा खटिएका तथा ६० वर्ष उमेर नाघेकालाई जनवरी १० देखि बुस्टर डोज दिइने घोषणा गरिसकेका छन् । त्यस्तै, जनवरी ३ बाट १५ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीलाई पनि खोप दिइने जनाइएको छ ।
कोर्बेभ्याक्स अमेरिकी कम्पनी डाइनाभ्याक्स र बेलोर कलेज अफ मेडिसिनसँगको सहकार्यमा बनाइएको खोप हो । स्वास्थ्यमन्त्री मनसुख एल मन्दाभियले स्पाइक प्रोटिनबाट निर्मित खोप लगाएपछि मानिसको शरीरमा रोगप्रतिरोधी क्षमता सक्रिय हुने बताए । कोभोभ्याक्स भने नोभाभ्याक्सको स्थानीय नाम हो । यो खोप सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गर्छ । सिरमले कोभिसिल्डको नाममा अस्ट्राजेनेका खोप बनाइरहेको छ । कम्पनीका अनुसार अमेरिकामा गरिएको परीक्षणमा यो खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको छ ।
पछिल्लो समय भारतमा कोभिड संक्रमितको संख्या दैनिक रूपमा बढिरहेको छ । बुधबार ९ हजार १ सय ९५ जनामा संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो संख्या अघिल्लो दिनको तुलनामा ४४ प्रतिशतले बढी हो । योसँगै भारतमा सक्रिय संक्रमितको संख्या ७७ हजार नाघेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमितको संख्या भने ७ सय ८१ पुगेको छ । तीमध्ये सबैभन्दा बढी दिल्लीमा छन् ।
