पुस मसान्तसम्म १२ वर्षमाथिका ६६ प्रतिशतलाई खोप दिइसक्ने दाबी
काठमाडौँ — सरकारले तय गरेको दैनिक पाँच लाखलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य पूरा नहुने देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस मसान्तसम्म हरेक दिन पाँच लाख खोप लगाउने लक्ष्य सोमबार सार्वजनिक गरेको थियो ।
पुसभित्र ६६ प्रतिशत नागरिकलाई खोप लगाइसक्ने लक्ष्यअनुसार सरकारले दैनिक ५ लाख खोप लगाउने कार्यक्रम राखेको थियो । तर, मंगलबार, बुधबार र बिहीबारको तथ्यांकले यो लक्ष्य पूरा नहुने देखिएको छ ।
गत सोमबार देशभरमा ५ लाख ६८ हजार ३ सय १९ डोज खोप लगाइएपछि स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले उत्साहित हुँदै फेसबुक पेजमार्फत पनि उक्त लक्ष्य सार्वजनिक गरेका थिए । ‘अबको आवश्यकता ५ लाख प्रतिदिन, १५ दिन’ उनले लेखेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सोमबार हालसम्मकै बढी खोप लगाएकोमा बधाई दिएका थिए । तर भोलिपल्ट मंगलबार खोप लगाउनेको संख्या घटेर २ लाख ८३ हजार २ सय ६५ मा झर्यो । अझ बुधबार त्यसभन्दा पनि कम २ लाख २ हजार ६ सय ८७ जनाले खोप लगाए भने बिहीबार त ५६ हजार १ सय १२ जनाले मात्र खोप लगाएका छन् ।
दैनिक पाँच लाखको लक्ष्य हासिल नभए पनि पुस मसान्तसम्म १२ वर्षमाथिका ६६ प्रतिशत जनसंख्यालाई खोप दिने सरकारी लक्ष्य हासिल हुने सचिव डा. पोखरेलले दाबी गरे । उनका अनुसार सरकारले पुस मसान्तसम्म १२ वर्षमाथिका ६६ प्रतिशतलाई पूर्ण खोप लगाउने लक्ष्य राखेको छ । ‘मौसमले अलि धोका दियो, सोमबारदेखि दैनिक ५ लाख खोप लगाउने लक्ष्य दुई दिनयता पूरा भएन,’ उनले भने, ‘१५ दिनमा दैनिक ३ लाखका दरले लगाउँदा पुससम्म थप ४५–५० लाख पुग्छ । यसले पनि १२ वर्षमाथिको ६६ प्रतिशत जनसंख्यालाई पुससम्म पूर्ण डोज खोप लगाउने हाम्रो लक्ष्य पूरा हुन्छ ।’
खोप लगाउनेको संख्या घटे पनि आगामी १६ दिनमा उक्त उद्देश्य पूरा हुन सक्ने पोखरेल बताउँछन् । ८ जिल्लामा १२ देखि १७ वर्ष लक्षित फाइजर खोप अभियान सुरु भए दैनिक थप एकदेखि डेढ लाखले खोप लगाउने उनको दाबी छ ।
सरकारको लक्ष्य पुस महिनासम्म कुल जनसंख्याको ६६ प्रतिशत र चैतसम्म सबैलाई खोप लगाउने रहे पनि आफ्नो सहजताका लागि यसलाई १८ वर्ष वा १२ वर्षमाथिको जनसंख्या भन्ने गरिएको स्वास्थ्य मन्त्रालयकै केही उच्च पदाधिकारी बताउँछन् ।
‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको समयमा पुस मसान्तसम्म कुल जनसंख्याको ६६ प्रतिशतलाई खोप लगाउने भनिएको थियो,’ एक अधिकारीले भने, ‘कोभिड–१९ विरुद्घको खोप राष्ट्रिय कार्य योजनामा प्रस्ट लेखिएको छ– पुस मसान्तसम्म कुल जनसंख्याको ६६ प्रतिशत र चैत मसान्तसम्म सम्पूर्ण नेपालीलाई खोप दिइनेछ ।’ राष्ट्रिय खोप सल्लाहकार समिति र विज्ञ समितिले समेत त्यसताका यस्तै सुझाव दिएका थिए ।
मुलुकमा १२ वर्षमाथिको जनसंख्या करिब २ करोड ३६ लाख छ । बिहीबारसम्म २ करोड ४२ लाख ८२ हजार ३ सय ६० डोज खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म कुल जनसंख्याको ३३.९ प्रतिशत अर्थात् १ करोड ३ लाख १० हजार ६ सय ९२ जनालाई पूर्ण खोप लगाइएको छ भने ४६ प्रतिशत अर्थात् १ करोड ३९ लाख ७१ हजार ६ सय ६८ जनाले एक डोज खोप लगाएका छन् । बिहीबारसम्ममा १८ वर्ष वा सोभन्दा माथिका लक्षित जनसंख्याको ५१.८ प्रतिशतलाई पूर्ण र ७०.१ प्रतिशतलाई एक डोज लगाइएको मन्त्रालयले जनाएको छ ।
नेपालमा १४ माघ २०७७ मा खोप अभियान सुरु गरिएको थियो । हालसम्म अनुदान र खरिद गरी ३ करोड ९२ लाख ३ हजार ९ सय २७ खोप भित्रिएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट शून्य मृत्यु भएको छ । सोही अवधिमा कुल ८ हजार ८ सय ९७ परीक्षण गरिएकामा २ सय ४१ जनामा संक्रमण पुष्टि भएको छ । २ सय २८ जना निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ४ हजार ८ सय ७१ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
