विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ करोड नाघ्यो- विश्व - कान्तिपुर समाचार

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ करोड नाघ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ करोड नाघेको छ । समाचार संस्था रोयटर्सको तथ्यांकअनुसार सोमबार विश्वभर कोरोना संक्रमितको संख्या २५ करोड नाघेको हो ।

पछिल्लो समय विश्वका केही देशमा संक्रमण दर घटे पनि डेल्टा भेरियन्टका कारण पूर्वी युरोपमा भने संक्रमण बढिरहेको छ । रोयटर्सको तथ्यांक विश्लेषणअनुसार पछिल्ला ३ महिनामा दैनिक संक्रमण ३६ प्रतिशतले घटेको छ । विश्व स्वास्थ्य संगठनकी संक्रामक रोग विशेषज्ञ मारिया भान केरखोबेले सन २०२२ को अन्त्यसम्ममा कोरोना नियन्त्रण हुन सक्ने सम्भावना रहेको बताएकी छिन् ।

२४० मध्ये ५५ देशमा अहिले पनि कोरोना संक्रमण बढिरहेको छ । पछिल्लो समय रुस, युक्रेन, ग्रीसलगायतका देशमा संक्रमण बढिरहेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार सबैभन्दा बढी अमेरिकामा ४ करोड ६४ लाखभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै अमेरिकामा ७ लाख ५४ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० लाख ४९ हजार नाघेको छ । पछिल्लो समय विश्वका विभिन्न मुलुकले कोरोनाविरुद्धको खोप अभियानलाई पनि तीव्रता दिएका छन् । अहिलेसम्म विश्वभर ७ अर्ब २४ करोड डोजभन्दा बढी खोप लगाइसकिएको छ ।

प्रकाशित : कार्तिक २२, २०७८ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्

तिहारपछि बढ्यो सुनको मूल्य, प्रतितोला ९२ हजार ५०० रुपैयाँ

रासस

काठमाडौँ — तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँले उकालो लागेर ९२ हजार ५०० कायम भएको छ । सुन गत बिहीबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ रहने छ जसको मूल्य बिहीबार प्रतितोला ९० हजार ५०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य बिहीबारका तुलनामा रु २५ ले उकालो लागेर एक हजार २५० कायम भएको छ । चाँदी बिहीबार प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८१९ दशमलव ७३ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित : कार्तिक २२, २०७८ ११:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही विश्वबाट
×