कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नोभेम्बरदेखि अस्ट्रेलियाका सीमा नाका खुल्ने

अस्ट्रेलिया प्रवेशमा लगाइएको बन्देज हट्ने
नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलिया सरकारले करिब २ वर्षदेखि बन्द गरेको अन्तर्राष्ट्रिय सीमा नाका नोभेम्बरदेखि खुला गर्ने भएको छ । सीमा नाका खुला गर्ने निर्णयसँगै २० महिनादेखि अस्ट्रेलिया प्रवेशमा लगाइएको बन्देज र पछिल्लो समयमा अस्ट्रेलिया आगमनमा लगाइएको कोटा समेत हट्नेछ ।

नोभेम्बरदेखि अस्ट्रेलियाका सीमा नाका खुल्ने

तत्काललाई अस्ट्रेलियाली नागरिक तथा स्थायी बासिन्दाका लागि मात्र सीमा नाका खुला गर्न लागिएको हो ।

प्रधानमन्त्री स्कट मरिसनले मान्यता पाएका दुवै डोज खोप लगाइसकेका नागरिकलाई ७ दिनमात्र आफ्नै घरमा क्वारेन्टाइन बस्न पाउने नियम समेत सार्वजनिक गरेका छन् । विस्तारै दुवै खोप लगाइसकेका विद्यार्थीका लागि समेत सीमा नाका खुला गरिने समाचारमा जनाइएको छ । जसअन्तर्गत अस्ट्रेलियास्थित नियमन निकाय थ्यूरापेटिक गुड्स एडमिनिस्ट्रेसन (टीजीए) ले चीन र भारतमा उत्पादित कोरोना भाइरसविरुद्धको खोपलाई समेत यात्रा प्रयोजनका लागि स्वीकृति दिने बताएको छ । विद्यार्थीलाई समेत भित्र्याउने निर्णयले दुवै खोप लगाएका नेपालका विद्यार्थीले अस्ट्रेलियामा समेत सहज प्रवेश पाउनेछन् ।

टीजीएले मुख्य चार खोप फाइजर, जोन्सन एण्ड जोन्सन, अस्ट्राजेनेका र मोर्डनालाई मात्र अहिलेसम्म पूर्णरुपमा स्वीकृति दिएको छ । यात्रा प्रयोजनका लागि सिनोभ्याक्स र कोभिसिल्डलाई समेत अनुमति दिइने भएपछि नेपालमा अड्किएर रहेका हजारौं विद्यार्थी समेत सहज रुपमा यहाँ आउन पाउने भएका हुन् ।

नेपालमा मुख्य रुपमा यिनै दुई खोप प्रचलनमा आएका कारण समेत टीजीएको निर्णयले नेपाली विद्यार्थीलाई यहाँ आउन सहज हुने देखिएको हो । प्रधानमन्त्री मरिसनले अस्ट्रेलियामा केही साताभित्रैमा ८० प्रतिशत पूर्ण खोप लगाइसक्ने सम्भावना हुने भएकाले आउने महिनादेखि सीमाना खोल्‍ने निर्णय गरिएको जनाएका छन् ।

अस्ट्रेलियाले गतवर्षको मार्चदेखि नै सम्पूर्ण विदेशीका लागि सीमाना बन्द गर्ने निर्णय गरेको थियो भने आफ्ना नागरिक तथा स्थायी बासिन्दाले यात्रा गर्नुपरे सरकारबाट अनुमति लिनुपर्ने नियम लगाएको थियो । अन्तर्राष्ट्रिय सीमाना खुलेसँगै विदेशमा रहेका आफ्ना नागरिकलाई भित्र्याउनका लागि आवश्यक्ता अनुसार राज्य सरकारसँगको सल्लाहमा उडान सेवामा समेत सहयोग पुर्‍याउनेछ ।

प्रधानमन्त्री कार्यलयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार अस्ट्रेलियास्थित नियमन निकायले स्वीकृति दिएको दुवै खोप लगाएका नागरिकले जम्मा ७ दिन मात्र आफ्नै घरमा क्वारेन्टाइनमा बस्नुपर्नेछ । विदेशमा रहेका तर खोप नलगाएका वा मान्यता नदिइएको खोप लगाएका अस्ट्रेलियाली नागरिकलाई समेत प्रवेश दिइनेछ तर उनीहरुले भने पूर्ण १४ दिनसम्म सरकारद्वारा निर्धारण गरिएको स्थानमा क्वारेन्टाइनमा बस्नुपर्नेछ । त्यसका साथै १२ वर्षभन्दा मुनिका बालबालिकालाई भने यात्रा उद्देश्यका लागि पूर्ण खोप लगाए बराबर मान्यता दिइनेछ ।

सरकारले सार्वजनिक गरेको यो नियम नागरिक तथा स्थायी बासिन्दा बाहेकका हकमा भने कहिलेदेखि लागू हुने भन्नेबारेमा प्रधानमन्त्री कार्यलयको विज्ञप्तिमा केही उल्लेख गरिएको छैन । तर, यस क्षेत्रमा काम गरिरहेका भने कम्तिमा पनि जुलाइदेखि ठूलो संख्यामा विद्यार्थी भित्रने बताउँछन् । अहिले न्यू साउथ वेल्स राज्य सरकारले डिसेम्बर महिनाको पहिलो सातादेखि हरेक महिना ५ सयका दरले विदेशी विद्यार्थीलाई अस्ट्रेलिया प्रवेश दिने नमुना कार्यक्रम सुरु गर्ने बताइसकेको छ ।

प्रकाशित : आश्विन २१, २०७८ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?