भारतमा सोमबार ५४ दिनयताकै कम संक्रमित

पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ५ सय १० जना संक्रमित

जेष्ठ १८, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण अस्तव्यस्त बनेको भारतमा पछिल्ला केही दिनयता संक्रमण घट्न थालेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ५ सय १० जना संक्रमित थपिएका छन् ।

यो एकैदिन संक्रमित हुने अप्रिल ७ अर्थात् ५४ दिनयताकै न्यून संख्या भएको पनि मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५५ हजारभन्दा बढी निको भएका छन् । भारतमा हालसम्म कुल २ करोड ८१लाख ७५ हजार ४४ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै भारतमा संक्रमणमुक्त हुनेको संख्षा २ करोड ५९ लाख ४७ हजारभन्दा बढी छ । 

मन्त्रालयका अनुसार दैनिक मृत्युदरमा भने उल्लेखनीय रूपमा कमी आएको छैन । पछिल्लो २४ घण्टामा भाइरसको संक्रमणका कारण २ हजार ७ सय ९५ जनाले ज्यान गुमाएका छन् । योसँगै भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ३१ हजार ८ सय ९५ पुगेको छ । भारतमा हाल १८ लाख ९५ हजार ५ सय २० जना सक्रिय संक्रमित छन् । त्यस्तै  ४३ दिनपछि भारतमा सक्रिय संक्रमितको संख्या २० लाखभन्दा तल पुगेको छ ।

भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च बिन्दुमा पुगेको थियो ।  त्यस्तै मे ७ मा एकैदिन ४ लाख १४ हजार १ सय ८८ जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा एकैदिन सबैभन्दा बढी मे १९ मा ४ हजार ५ सय २९ जनाको कोरोनाले मृत्यु भएको थियो ।

भाइरस प्रभावित देशहरूको सूचीमा भारत विश्वकै दोस्रो स्थानमा छ । सबैभन्दा बढी प्रभावित अमेरिकामा ३ करोड ३२ लाख ६४ हजारभन्दा बढी संक्रमित छन् । ५ लाख ९४ हजार ५ सय ६८ जनाको भाइरसले मृत्यु भइसकेको छ । मंगलबार बिहानसम्म विश्वभर १७ करोड ५ लाख ८७ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । तीमध्ये ३५ लाख ४७ हजार ६१  जनाको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ

दिल्लीमा एक प्रतिशतभन्दा कम संक्रमण 

भारतीय राजधानी दिल्लीमा पछिल्ला दिनमा संक्रमण निकै न्यून देखिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीमा परीक्षण गरिएकामध्ये एक प्रतिशतभन्दा कममा मात्र संक्रमण पुष्टि भएको छ । जुन मार्च १८ यताकै कम संक्रमण दर हो । दिल्लीमा सोमबार ६ सय ४८ जना संक्रमित थपिएका हुन् । त्यस्तै कोरोनाका कारण ८६ जनाले ज्यान गुमाएका छन् । 

त्यस्तै, मुम्बई, बैंग्लोर, चेन्नई तथा कोलकतामा पनि पछिल्लो समय भाइरसको संक्रमण घट्दै गएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा मुम्बईमा ६ सय ७६, बैंग्लोरमा ३ हजार ९ सय ९२, चेन्नईमा २ हजार ५ सय ९६ र कोलकतामा १ हजार ३ सय २४ संक्रमित थपिएका हुन् । 

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले संक्रमण दरमा कमी आएको भए पनि कोरोना भाइरसबाट दीर्घकालीन रूपमा बच्न खोप लगाउनुका विकल्प नभएको दोहोर्‍याएका छन् । ‘जति चाँडो खोप लगाउन सक्यो त्यति नै मानिसहरू सुरक्षित हुन्छन् । त्यसैले मेरो उद्देश्य मानिसहरूको ज्यान बचाउनु हो,’ केजरीवालले सोमबार ट्वीटरमा लेखेका छन् । भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डालगायतले आफ्नो भाइरस नियन्त्रण अभियानप्रति आलोचना गरेपछि केजरीवालले उक्त जवाफ दिएका हुन् । 

१८ देखि ४४ वर्षका २ करोडले लगाए खोप 

भारतमा १८ देखि ४४ वर्षभित्रका २ करोडभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म कुल २१ करोड ६० लाख ४६ हजार ६ सय ३८ जनाले खोप लगाइसकेका छन् । 

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुतनिक–५ गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायहरूले जनाएका छन् । भारत सरकारले गत जनवरी १६ देखि खोप अभियान सुरु गरेको हो । रुसले विकास गरेको ‘स्पुतनिक–५’ खोप अप्रिल १२ देखि लगाउन थालिएको हो । भारत सरकारले जुलाई अन्तिमसम्म २५ करोड जनलाई खोप दिने लक्ष्य राखेको छ । 

नक्कली औषधि बेच्ने ३५० पक्राउ

भारतमा नक्कली औषधि तथा सामग्री बेच्ने ३ सय ५० जना पक्राउ परेका छन् । भारतीय प्रहरीले राजधानी दिल्लीका विभिन्न स्थानमा कोरोना भाइरस संक्रमित बिरामीहरूको उपचारमा प्रभावकारी हुने भन्दै विभिन्न नक्कली औषधि तथा सामग्री बेचेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो । दिल्ली प्रहरीले सयौं घटनाको अनुसन्धान गरेपछि त्यस्ता ठगहरूलाई पक्राउ गरेको हो । 

कोरोना खोपकोरोना भाइरस

कान्तिपुर

Link copied successfully