होम आइसोलेसनमा बस्नेबाटै बढ्यो जोखिम
ओखलढुंगा — मानेभन्ज्याङ गाउँपालिकाका एक कोरोना संक्रमित घाँस/दाउरा, गोठालो र खेतीपातीको कामभन्दा बाहेक कहीँ गएका थिएनन् । निषेधाज्ञा जारी भएपछि काठमाडौंदेखि केही युवा गाउँ आए । उनीहरू गाउँ आएदेखि घर नबसी घुमघाम गरिरहे ।
त्यही बीचमा गाउँमा केही बिहे भोजभतेर पनि चल्यो । ती युवाहरू पनि सरिक भए । उनीहरूबाट जोखिम महसुस गरेरै गाउँलेले सतर्क गराएका पनि हुन्, तर भएनन् । अन्ततः ती युवाहरूमा कोभिडको लक्षण देखापर्यो र संक्रमण पुष्टि भयो । होम आइसोलेसनमा अक्सिजनको लेभल निकै तल झरेपछि अस्पताल भर्ना भए ।
संक्रमितमध्येका एकका पारिवारिक सदस्यले भने, ‘फैलिनचाहिँ काठमाडौंबाट आउनेहरूले नै गाउँमा फैलाएका हुन् । तर कतिपयले सहजै पचाउने रहेछन् । नपचाउनेलाई सरेपछि कठिन बनाउँदो रहेछ ।’ उनले भने, ‘गाउँमा निषेधाज्ञाको कुरै छैन । जो पनि घरघरै पुगिरहेका छन् ।’
जिल्लामा निषेधाज्ञा जारी भएको तीन साता भइसकेको छ । निषेधाज्ञा जारी हुनुअघि पाँच जनामा कोभिड संक्रमण पुष्टि भएको थियो । निषेधाज्ञापछि हाल ६ सय ६७ जनामा पुष्टि भइसकेको छ । जिल्लाभित्र ५ जनाले ज्यान गुमाइसकेका छन् । ५६ जना संक्रमण मुक्त भएका छन् । संक्रमण फैलिने क्रम बढ्दो छ । सदरमुकाममा भन्दा गाउँमा भुसको आगोझैं संक्रमण फैलिरहेको छ ।
‘गाउँमा निषेधाज्ञाको पालना शून्यझैं छ । कोभिड नफैलिने कुरै भएन,’ जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले भने, ‘मान्छेहरू एक घरदेखि अर्को घर गएका छन् । तास खेलेका छन् । भोजभतेर गरेका छन् । प्रत्येक नागरिकमा चेतना नपुगेसम्म स्थिति भयावह हुन सक्ने सम्भावना छ ।’
प्रहरीलाई पनि मुख्य सडक र चोक बजारबाहेक गाउँगाउँमा निषेधाज्ञाको अनुगमन गर्न सम्भव छैन । गाउँमा भूमे पूजा, व्रतबन्धलगायतका कार्य रोकिएका छैनन् । जिल्लाको आठ स्थानीय तहमध्ये सबै वडामा संक्रमण पुष्टि भइसकेको छ । अझ लक्षण देखिएकासमेत परीक्षण नगराई ‘मलाई सामान्य रुघाखोकी लागेको हो’ भन्दै डुल्नेहरूले धेरै संक्रमण फैलाएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
परीक्षणको दायरा बढाइएको छ । पीसीआर र एन्टिजेन दुवै परीक्षणको मात्रा जिल्ला स्वास्थ्यले थप गरिरहेको छ । तत्काल सबै स्थानीय तहलाई ५ सयका दरले एन्टिजेन किट उपलब्ध गराउन लागिएको स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए ।
गाउँमा कोभिडसँग लक्षण मिल्दो बिरामीले परीक्षण गर्न नमान्दा संक्रमण रोकिएको छैन । त्यसैगरी संक्रमण पुष्टि भएर पनि होम आइसोलेसनमा बसेकाबाट थप जोखिम बढेको छ ।
उनीहरू अस्पतालको आइसोलेसनमा जस्तो सुरक्षित रूपमा नबसी, पुनः परीक्षण गरेर नेगेटिभ नदेखिईकनै निको भएको भन्दै बाहिर हिँडडुल गर्दा जोखिम बढेको हो ।
होम आइसोलेसनमा रहेका भनिएका केही संक्रमित शनिबारे हाटबजारमा, सदरमुकाममै तरकारी किन्न पुगेकोसमेत स्थानीयले बताए । संक्रमितको संख्या धेरै भएकाले कसैले होम आइसोलेसनमा बसेकाको निगरानी गर्न सक्ने अवस्था छैन ।
एकाघरमा रहेका परिवारमा पनि घरमा कोठा धेरै नभएकाले होम आइसोलेसन प्रभावकारी हुन नसकेको नागरिक समाजकी प्रतिनिधि पेमडोमा शेर्पाले बताइन् । अझै भूकम्पपछिको पुनर्निर्माणमा अधिकांशले दुईकोठे घर बनाएकाले होम आइसोलेसन प्रभावकारी हुन नसकेको उनले बताइन् ।
खेतीको मौसम सुरु भइसकेकाले पनि गाउँमा निषेधाज्ञा लागू गराउन सकिने अवस्था छैन । सञ्चारमाध्यम र स्थानीय निकायहरूबाट चेतनामूलक जानकारी गराउनुको अरू कुनै विकल्प नरहेको नागरिक समाजका प्रतिनिधिहरूको भनाइ छ ।
