दोस्रो लहरयता कति जुट्यो अन्तर्राष्ट्रिय सहयोग ?- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोस्रो लहरयता कति जुट्यो अन्तर्राष्ट्रिय सहयोग ?

चीनबाट ८ लाख मात्रा खोप आज ल्याइँदै, दुई लाख मात्रा तिब्बत सरकारले स्थलमार्गबाट पठाउने
जगदीश्वर पाण्डे

काठमाडौँ — नेपालमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै विदेशी मुलुक तथा संघ–संस्थाबाट सहयोग आउने क्रम जारी छ । वैशाख १ देखि जेठ १६ सम्म विदेशी मुलुक, अन्तर्राष्ट्रिय संस्था, विदेशमा रहेका नेपालीका संघ–संस्था तथा व्यक्तिगत रूपमा सहयोग प्राप्त भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परराष्ट्र मन्त्रालय र नेपालस्थित विभिन्न दूतावासहरूका अनुसार नेपाललाई पछिल्लो डेढ महिनामा कति सामग्री प्राप्त भएको छ त ?

चीन

दोस्रो लहर सुरु भएसँगै सबैभन्दा पहिले सहयोग गर्ने प्रतिबद्धता उत्तरी छिमेक चीनले गरेको थियो । चीनले सबैभन्दा पहिले ५० लाख युआन बराबरको स्वास्थ्य सामग्री दिने वाचा गरेको थियो । नेपालसहित दक्षिण एसियाका अन्य मुलुक पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेश सम्मिलित भर्चुअल मिटिङमा चीनका स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यीले वैशाख १६ मा नेपाललाई उक्त रकमबराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने जनाएका थिए ।

जसअन्तर्गत नेपालले चीनबाट अक्सिजन ग्यास सिलिन्डर, भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री ल्याइरहेको छ । सोही अनुदानअन्तर्गत नेपालले चीनबाट ३५ सय अक्सिजन सिलिन्डर र अन्य स्वास्थ्य सामग्री प्राप्त गरेको हो । उक्त सामग्री पटक–पटक गरेर हवाई र स्थलमार्ग हुँदै नेपाल आइरहेको छ । जेठ १६ गते तातोपानी नाकाबाट आएको स्वास्थ्य सामग्री पनि त्यसैको एक पाटो हो ।

त्यसबाहेक चीनले नेपाललाई थप १० लाख मात्रा खोप दिने जनाएको छ । यसअघि उसले ८ लाख मात्रा दिएको थियो । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग जेठ १३ गते भएको टेलिफोन संवादमा चिनियाँ राष्ट्रपति सी चिनफिङले थप खोप सहयोग गर्ने घोषणा गरेका थिए, त्यसमध्ये ८ लाख मात्रा मंगलबार नेपाल आइपुग्दैछ । चिनियाँ सरकारले नेपाली दूतावासलाई हस्तान्तरण गरेको उक्त खोप दूतावासले नेपाल एयरलाइन्सको विमानमा नेपाल पठाएको हो । बाँकी २ लाख मात्रा भने तिब्बत सरकारले स्थलमार्गबाट नेपाल पठाउनेछ । त्यसका साथै चिनियाँ कम्पनी होङ्सी शिवम् सिमेन्टले पनि नेपाललाई १७० अक्सिजन कन्सन्ट्रेटर वैशाख २८ गते हस्तान्तरण गरेको थियो ।

अमेरिका

चिनियाँ परराष्ट्रमन्त्री वाङले नेपाललाई सहयोग गर्ने घोषणा गरेकै भोलिपल्ट वैशाख १७ गते अमेरिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि थप ८५ लाख अमेरिकी डलर दिने घोषणा गर्‍यो । नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै अमेरिकी सहयोग नियोग यूएसएआईडीमार्फत उक्त सहयोग गर्ने जनायो ।

थप सहयोग नेपालको कोरोना परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, केसको अनुसन्धान, उपचार, संक्रमण रोकथाम र नियन्त्रण, सीमा नियन्त्रण र अन्य संघीय, प्रादेशिक र स्थानीय तहका लागि भएको अमेरिकाले जनाएको थियो । त्यसपछि वैशाख ३० मा अमेरिकी इन्डो–प्यासिफिक कमान्डले अन्तर्राष्ट्रिय मानवीय विपत्ति सहायता तथा नेपालका लागि नागरिक सहयोगअन्तर्गत कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । उक्त कमान्डले अक्सिजन प्लान्ट, सिलिन्डर, तथा भन्डार ट्यांकहरू उपलब्ध गराउन थप २७ लाख ५० हजार अमेरिकी डलरबराबरको सहयोग दिएको छ ।

दोस्रो लहरले मुलुकमा अक्सिजन ग्यास सिलिन्डरसहित अन्य अत्यावश्यक स्वास्थ्य सामग्री अभाव हुन थालेपछि परराष्ट्र मन्त्रालयले विदेशस्थित आफ्ना नियोगहरूलाई सम्बन्धित मुलुकसँग त्यहाँको अवस्थाअनुसार सहयोग जुटाउन पहल गर्न वैशाख २३ गते पत्राचार गरेको थियो । उक्त पत्र वासिङ्टनस्थित नेपाली दूतावासमा पुगेपछि अमेरिकासँग पनि थप सहयोगका लागि नेपाली राजदूत युवराज खतिवडाले आग्रह गरेका थिए । त्यसबीचमा नेपालको अवस्थालाई लिएर अमेरिकाको संसद्मा समेत छलफल भएको थियो । त्यहाँका सांसदले नेपाललाई अप्ठेरो अवस्थामा सहयोग गर्नुपर्ने सुझाव अमेरिकी सरकारलाई दिएका थिए ।

त्यसैको परिणामस्वरूप जेठ ८ गते अमेरिकाले आपत्कालीन सहयोगस्वरूप एयर लिफ्ट गरेर कार्गो विमानमा पहिलो लटको स्वास्थ्य सामग्री पठाएको थियो । अमेरिकाले तीनपटक कार्गो विमानमा सहयोग पठाउने जनाएको थियो । अमेरिकी सहयोग नियोग यूएसएआईडीद्वारा आएको सहयोगको पहिलो कार्गो विमानमा एक हजार अक्सिजन सिलिन्डरसहित सर्जिकल मास्क, फेस सिल्ड, ग्लोब्स, सयवटा भेन्टिलेर तथा अन्य स्वास्थ्य सामग्री थियो ।

अमेरिकामा रहेको सेवा अन्तर्राष्ट्रियले पनि नौवटा प्लेटसहित एक सय १० वटा अक्सिजन कन्सन्ट्रेटर, ७६० वटा अक्सिमिटर र अन्य स्वास्थ्य सामग्री वासिङ्टनस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरेको छ ।

अस्ट्रेलिया

कोभिड–१९ सँग सामना गर्न अस्ट्रेलियाले पनि नेपाललाई सहयोग गरेको छ । नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भाल्कले नेपाललाई कोरोना भाइरस रोकथामका लागि अस्ट्रेलियन सरकारले ७० लाख अस्ट्रेलियन डलर सहयोग गर्ने जानकारी दिइन् । उक्त निर्णय अस्ट्रेलियाली सरकारले जेठ ७ गते गरेको थियो । उक्त निर्णयअनुसार कोरोना भाइरसविरुद्ध लड्नका लागि दक्षिण एसियाली क्षेत्रका अन्य मुलुकसहित नेपाललाई पनि सहयोग गरेको हो ।

बेलायत

कोरोना भाइरसको कारण नेपालमा संकट बढ्दै गएपछि बेलायतको संसद्मा नेपाललाई सहयोग गर्नुपर्ने आवाज त्यहाँका सांसदहरूले उठाएका थिए । उनीहरूले सरकारसँग नेपाललाई सहयोग गर्न कस्तो योजना छ भन्ने प्रश्न पनि गरेका थिए । साथै, गोर्खा सैनिकसहित बेलायतका विभिन्न क्षेत्रका लोकप्रिय व्यक्तिहरूले संयुक्त रूपमा विदेश मन्त्रालयलाई पत्र लेख्दै असल मित्रलाई संकटको बेलामा सहयोग गर्न अनुरोध गरेका थिए । त्यसपछि बेलायतले जेठ १५ गते नेपाललाई एक कार्गो विमानमा स्वास्थ्य सामग्री पठाएको थियो ।

जसमा २६० वटा भेन्टिलेटर, भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री र १९ हजार २०० फेस सिल्डलगायत स्वास्थ्य सामग्री थिए । काठमाडौंस्थित बेलायती दूतावासकी राजदूत निकोला पोलिटले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन विमानस्थलमा उक्त सामग्री हस्तान्तरण गरेकी थिइन् । बेलायतले त्यसअघि नेपाल प्रहरीको अस्पतालमा अक्सिजन प्यान्ट सुचारु गर्नका लागि सहयोग पनि गरेको थियो ।

फिनल्यान्ड

फिनल्यान्ड सरकारले पनि नेपालमा कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । बेलायतको सामग्रीसँगै फिनल्यान्ड सरकारको सामग्री पनि आइपुगेको थियो, जसमा २४ लाख ९८ हजार ५४० थान सर्जिकल मास्क, ३ लाख ४९ हजार ९२० थान केएन–९५ मास्क, एक लाख ६४ हजार ५०० ग्लोब्स, २६ हजार आइसोलेसन गाउन र २ लाख ८८ हजार फेस सिल्ड थियो । नेपालका लागि फिनल्यान्डका राजदूत पेर्टी अन्टिनेनले स्वास्थ्यमन्त्री त्रिपाठीलाई सहयोग हस्तान्तरण गरेकी थिइन् ।

थाइल्यान्ड

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि नेपाललाई सहयोगको रूपमा थाइल्यान्डबाट दुईपटक स्वास्थ्य सामग्री आइपुगेको छ । पहिलोपटक जेठ २ गते थाइल्यान्डको विदेश मामिला मन्त्रालयसहित थाई प्रवासी धर्मदूता भिख्खुस र थाइल्यान्डको भेरापुगोङ्ग फाउन्डेसनले नेपाललाई ४६ अक्सिजन कन्सन्ट्रेटरसहित सहयोग गरेको थियो । दोस्रोपटक जेठ १६ गते थाइल्यान्डका राजपरिवारले दिएका स्वास्थ्य सामग्रीहरू थाई एयर फोर्सको जहाजमार्फत सहयोग पठाएको हो ।

स्वास्थ्य सामग्रीहरूमा १० लाख थान सर्जिकल मास्क, व्यक्तिगत सुरक्षा साधन (पीपीई) गाउन ११ हजार ५२० थान, पीपीईको लेग कभर १० हजार जोर, पीपीई सर्जिक क्याप १० हजार थान, फेस सिल्ड पाँच हजार, र्‍यापिड एन्टिजन युनिट २० हजार युनिट, फिंगर टिप्स पल्स अक्सिमिटर ६०० थान, डिजिटल थर्मोमिटर एक हजार ५०० थान, अक्सिजन नाजल ३० थान, अक्सिजन कन्सन्ट्रेटर आठ थानलगायत छन् । ती सामग्रीहरूलाई नेपालका लागि थाई राजदूत भोषिता भोरासाफले विमानस्थलमा नेपाली पक्षलाई हस्तान्तरण गरेकी थिइन् ।

स्विट्जरल्यान्ड

जेठ ८ गते स्विट्जरल्यान्डले नेपाललाई कोभिड–१९ विरुद्ध लड्नका लागि ८० लाख अमेरिकी डलरबराबरको अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गर्‍यो । उक्त स्वास्थ्य सामग्री नेपालका लागि स्विस राजदूत एलिजावेथ भोन क्यापेलरले स्वास्थ्यमन्त्री त्रिपाठीलाई हस्तान्तरण गरिन् । स्विट्जरल्यान्ड ९४ करोड नेपाली रुपैयाँबराबरको ३० टन स्वास्थ्य सामग्री सहयोग गरेको हो । स्वास्थ्य सामग्रीहरूमा ४० भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, ११ लाख एन्टिजेट, १ लाख १० हजार केएन–९५ मास्क, ५० हजार पन्जा र १५ हजार पीपीई सेट छन् ।

युरोपेली युनियन

युरोपियन युनियन (ईयू) ले वैशाख २९ गते नेपाललाई कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि २० लाख युरोको मानवीय सहयोग छुट्याएको छ । नेपाललाई घरमै आइसोलेसनमा बस्दासमेत अनुगमन गर्न सक्ने टेली–हेल्थ, टेली–औषधि सेवालगायत प्रविधि सहयोग गर्न लागेको ईयूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, राष्ट्रिय आपत्कालीन मेडिकल टिमहरू प्रयोग र अन्तर्राष्ट्रिय आपत्कालीन मेडिकल टिमहरूको परिचालन सुविधा तथा नेपालमा कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि आवश्यक उपकरणहरूको खरिद तथा आपूर्ति गर्ने पनि ईयूले जनाएको छ ।

जसमा अक्सिजन ग्यास सिलिन्डरहरू, अक्सिजन कन्सन्ट्रेटर, होम केयर किटहरू, एन्टिजेट टेस्ट किटहरूसहित डायग्नोस्टिक्स र व्यक्तिगत सुरक्षा उपकरण छन् । ईयूका लागि नेपालका राजदूत गहेन्द्र राजभण्डारीले कोरोना भाइरसविरुद्ध आवश्यक सहयोगका लागि परराष्ट्र मन्त्रालयको समन्वयमा ईयूसँग सहकार्य गरिरहेको र ईयूले थप सहयोग गर्न सकारात्मक संकेत दिएको पनि जानकारी दिए ।

स्पेन

स्पेनले नेपाललाई जेठ ७ गते १० लाख युरो (करिब १४ करोड नेपाली रुपैयाँ) बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्पेनले पठाएका स्वास्थ्य सामग्रीहरूमा १५ रेस्पिर्टर, १० ओटा अक्सिजन कन्सन्ट्रेटर र त्यसलाई आवश्यक अन्य सामग्री, एक लाख ४४ हजार फेस मास्क तथा एक लाख २५ हजार एन्टिजेन टेस्ट किट छन् । उक्त सामग्री स्पेनी अन्तर्राष्ट्रिय विकास सहकार्य एजेन्डी एईसीआईडीका निर्देशक म्याग्डी मार्टिनेज सोलिमनले नेपालका सरकारी पक्षलाई हस्तान्तरण गरेका थिए । उक्त अवसरमा स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पा पनि थिइन् ।

सिंगापुर

टेमासेक फाउन्डेसन सिंगापुरद्वारा लोटस लाइफ फाउन्डेसन र गोरखा ब्रुअरी सहकार्यमा जेठ ९ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोना भाइरसविरुद्ध लड्नको लागि स्वास्थ्य सामग्री सहयोग गरेको थियो । एक लाख २३ हजार थान पीसीआर किट्स, चार हजार पल्स अक्सिमिटर, २५ सय ६० आरएनए एक्स्ट्रक्सन किट, १५ थान टेले भेन्टिलेटर, ५० थान बी पीएपी मेसिन, दुई लाख ५५ हजार ७५० स्वाब किट, दुई थान आरएनए एक्स्ट्रक्सन मेसिन र ६ थान भेन्टिलेटर सहयोग आएका हुन् ।

जापान

जापानले जेठ ४ गते नेपाललाई २३ अस्पताललाई पोर्टेबल अल्ट्रासाउन्ड इमेज डायग्नोस्टिक सिस्टम हस्तान्तरण गरेको थियो । नेपालका २५ अस्पताललाई सहयोग गर्ने योजनाअनुसार उक्त सामग्री हस्तान्तरण गरिएको छ । अन्ट्रासाउन्ट डायग्नोस्टिक सिस्टम प्रयोग गर्न सहज हुने र यसले कोभिड–१९ उपचारमा सहयोग पुर्‍याउने जापानी राजदूत किकुता युताकाले बताएका थिए । जापानले नेपालमा कोरोनाको पहिलो लहर हुँदा गत माघ महिनामा २५ अस्पतालहरूलाई ब्लड ग्यास एनलाइजर अनुदान सहयोगमा दिएको थियो । जापानले असार महिनामा १ सय ६० अक्सिजन कन्सन्ट्रेटर र छ वटा एम्बुलेन्स अनुदानमा दिने तयारी गरेको छ । जापानले नेपालका ५८ अस्पतालमा कन्सन्ट्रेटर उपलब्ध गराउने प्रतिबद्धता गरेको छ ।

खाडीका नेपालीबाट

पश्चिम एसिया अर्थात् खाडी मुलुकमा रहेका गैरआवासीय नेपाली संघले त्यहाँ रहेका नेपालीको सहयोगमा ओमानको मस्कटस्थित नेपाली दूतावासको संयोजनमा ५६० अक्सिजन ग्यास सिलिन्डर नेपाल पठाएको थियो । नेपाल एयरलाइन्सको बाइड बडी विमानबाट ती सिलिन्डरहरू जेठ २ गते ल्याइएको थियो । अक्सिजन सिलिन्डर पठाउने क्रममा कतारमा रहेका नेपालीले ३५ लाख, बहराइनमा रहेकाले २१ लाख, ओमानमा रहेकाले १५ लाख, यूएईमा रहेकाले १५ लाख, कुवेतमा रहेकाले १३ लाख ५० हजार र साउदी अरेबियामा रहेकाले १२ लाख रुपैयाँ जुटाएका हुन् । सम्पूर्ण संकलित पैसा ओमानमा पठाएर त्यहाँ रहेको अक्सिजनको सिलिन्डर किनेर नेपाल पठाइएको हो ।

अन्य

सरकारलाई कोरोना भाइरसविरुद्ध लड्नका लागि स्वास्थ्य सामग्री सहयोग गर्ने क्रममा एनसेल आजियाटाद्वारा १५० थान अक्सिजन कन्सन्ट्रेटर, वल्ड हर्ट वर्ल्डवाइडद्वारा १२५ थान अक्सिजन कन्सन्ट्रेटर र गैरआवासीय नेपाली संघले जेठ ७ गते अक्सिजन सिलिन्डरमा प्रयोग हुने ५६० थान रेगुलेटरले स्वास्थ्य मन्त्रालयलाई दिएका छन् ।

यस्तै, महिला मन्त्रालयको समन्वयमा वर्ल्ड भिजन इन्टरनेशनलले १२ सय २५ पीपीई, एक हजार १२ अक्सिमिटर, एक हजार १२ आईआर थर्मोमिटर, २० थान अक्सिजन कन्सन्ट्रेटर, २५ बेड र १४ सय अक्सिजन सिलिन्डर सहयोग गरेको छ भने नेपाल रेडक्रम सोसाइटीले कोभेरल दुई हजार, अक्सिजन कन्सन्ट्रेटर ९० र अर्जिकल मास्क ७ लाख सरकारलाई सहयोग गरेको छ । जेठ १ गते इटालीका रोटरियनहरूले नेपालको रोटरी क्लब पाटनको माध्यमबाट ५६ लाख नेपाली रुपैयाँ बराबरको किटाणुनाशक औषधि नेपालका स्वास्थ्य संस्थाहरूमा प्रयोग गर्नका लागि सहयोग गरेका छन् ।

प्रकाशित : जेष्ठ १८, २०७८ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्

विप्रेषण नेपाललाई, अक्सिजन नेपालीलाई

सीता घिमिरे

वैदेशिक रोजगारीमा, विशेषतः खाडीमा रहेका नेपालीले स्वदेशमा आइपर्ने विपत्मा सघाउँदै आइरहेका छन् । २०७२ सालको विनाशकारी भूकम्प वा अन्य समय आइपरेका बाढीपहिरो तथा आगलागीमा उनीहरूले आफ्नो गाँस कटाएर सहयोग गरेको तथ्य सबैसामु छर्लंग छ ।

कोभिड–१९ महामारीमा भने व्यवस्थित रूपबाट गैरआवासीय नेपाली संघको अगुवाइमा साना–ठूला सबै कामदारले ‘अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियानमार्फत ५६० सिलिन्डर अक्सिजन नेपाल पठाए । अन्य अत्यावश्यक स्वास्थ्य सामग्री पनि पठाउने उनीहरूको अभियान जारी छ । खाडीका विभिन्न मुलुकमा रहेका नेपालीहरूले चन्दा उठाएर पठाएको अक्सिजन आफ्ना नातागोताले नै पाउनुपर्ने भावना राखेनन् । सबै नेपालीलाई नै आफन्त ठाने यी ठूला छाती भएका श्रमिक नेपालीहरूले ।

तर नेपाल आइपुगेका ती अक्सिजन सिलिन्डरको व्यवस्थापनमा बेथिति देख्दा तिनको मन पक्कै रोएको हुनुपर्छ । स्वास्थ्य मन्त्रालयले आवश्यकताका आधारमा पाँचवटा प्रदेशमा ती सिलिन्डर पठाइएको भने पनि नेतृत्वतहमा रहेका पहुँचवाला र कालोबजारीले लुकाउन वा आफूखुसी गर्न भ्याइहाले । नेपाल प्रहरीलाई धन्यवाद दिनैपर्छ, लुकाइएका सिलिन्डर फर्काउन सफल भएकामा । तिनलाई कडा कारबाही भएन भने फेरि पनि कालोबजारी मौलाउँछ । कसैले फेर्दै गरेको सास मैले थुतें कि भन्नेतिर यिनलाई के चासो ?

कुरा आउँछ फेरि तिनै श्रमिकहरूको । रहरले भन्दा बाध्यताले बिदेसिनेको संख्या कैयौं गुणा बढी छ । तीनै तहका सरकारले नीति नियममा जति नै मिठो भाषामा स्वदेशमा रोजगारी सृजना गर्ने वाचा गरे पनि त्यो व्यवहारमा उत्रन सकेको छैन । हैन भने यो विश्वव्यापी महामारीमा कसलाई आफ्नो घरपरिवार छोडेर बिदेसिने रहर हुन्थ्यो र ? हालको निषेधाज्ञा लागू हुनुअगाडि मात्र पनि दैनिक ४ सयजति कामदार तेस्रो मुलुक जानुले अनि हजारौंको संख्यामा इन्डिया जाने र कोरोनाको डरले नेपाल फर्कने क्रमले यही तथ्य पुष्टि गर्छ । बाध्यतावश कामको खोजीमा बिदेसिनेहरू त बिदेसिए, तर एक पटक आफैंप्रति इमानदार भएर सोचौं त, बिदेसिने प्रक्रियामा मानवतापूर्ण व्यवहार कति पाएका छन् यिनले ? चाहे म्यानपावर कम्पनी धाउने क्रममा होस् वा श्रम स्वीकृति लिने प्रक्रियामा वा विदेश उड्नका लागि अध्यागमनमा लाइन लाग्दा, जहाँ पनि र जहिले पनि यिनले हेपाइ सहनुपरेकै छ ।

आखिर यिनैले पठाएको विप्रेषणबाट देशको अर्थतन्त्र चलायमान भएको छ । अनि बालबालिकाले राम्रो शिक्षादीक्षा पाएका छन् । जसरी आज तिनले पठाएका अक्सिजन सिलिन्डरको तानातान भएको छ, त्यसरी नै ती सिलिन्डर पठाउने व्यक्तिहरूले पनि सम्मानजनक व्यवहार पाउनुपर्ने हैन र ? यिनीहरू जान्दैनन्–बुझ्दैनन् भन्ने सोचाइमा खालि हेपाइ, चेपाइ र गालीगलौज ? जन्मजात जान्ने–बुझ्ने कोही हुँदैन । सिक्ने–बुझ्ने अवसर पाएनन्, जानेनन् भने यिनको के दोष ? दोष त यिनलाई सचेतना जगाउने तथा सीपयुक्त बनाउनुपर्ने जिम्मेवार निकायहरू (सरकारी, गैरसरकारी संस्था तथा म्यानपावर कम्पनी) को पो हो त !

आपत्को घडीमा परिवार तथा समाजले सघाउने बलियो नेपाली परम्परा तथा संरचना ध्वस्त भएको छ, कोरोनाका कारण । चाहेर पनि बिरामी व्यक्ति तथा परिवारलाई आफन्त, छरछिमेकी अनि साथीभाइले सहयोग गर्न सक्ने अवस्था छैन । यस्तो इमर्जेन्सीको अवस्थामा सरकारी संयन्त्रले ढाक्नुपर्ने थियो, आशा र विश्वास जगाउनुपर्ने थियो । तर यो संयन्त्र पनि सारै कमजोर देख्दा हरेक नेपालीले भरोसा गर्ने ठाउँको अभाव महसुस गरिरहेका छन् । मुटुले ढ्याङ्ग्रो ठोकिरहेको छ, यो महामारीबाट बच्न सकिने हो कि होइन भनेर । अभाव र भोकमरीका कारण भोकै मर्नुभन्दा बरु कोरोनाले मरौंला भन्नेको जमात पनि सानो छैन । आफूले विश्वास र भरोसासहित चुनेर पठाएका नेतृत्वको ध्यान विपत्मा केन्द्रित हुन नसकेको दुःखद क्षणमा नागरिक आफैं सचेत हुनुसिबाय अरू उपाय देखिँदैन ।

बरु यो विपत्को घडीमा वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूकै योगदान नै सर्वोच्च हुने देखिन्छ, चाहे अक्सिजन होस्, वा स्वास्थ्य सामग्री वा विप्रेषणका रूपमै । देशको अर्थतन्त्र ठप्प भएको अवस्थामा विप्रेषणले ठूलो भरथेग दिएको छ देशलाई । नेपाल राष्ट्र बैंकको एक अध्ययनले गत नौ महिनामा ७ खर्ब २९ अर्ब २ करोड रुपैयाँ विप्रेषण नेपाल भित्रिएको देखाएको छ र विप्रेषण भित्रिने क्रम घटेको पनि छैन । परदेशका ती श्रमिक नेपालीको योगदानलाई उच्च सम्मान गर्नैपर्छ, जसले नेपाललाई विप्रेषण मात्र होइन अक्सिजन पठाएर पनि बचाएका छन् ।

(सुरक्षित आप्रवासन परियोजना (सामी) मा कार्यरत घिमिरेका यी निजी विचार हुन् ।)

प्रकाशित : जेष्ठ १८, २०७८ ०७:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×