बागलुङ — बडिगाड गाउँपालिकाबाट कोरोना संक्रमित महिला सुत्केरीका लागि धौलागिरि अस्पताल आइन् । उनले आफू संक्रमित भएको जानकारी दिएकाले अस्पतालले समयमै सजग भई उनलाई सुत्केरी बनायो ।
वरिष्ठ नर्स देवी भट्टराईले भनिन्, ‘कोरोनाको संक्रमण छल्दै अत्यावश्यक सेवा पनि सुरक्षित बनाएका छौं ।’ अस्पतालको सबै वार्ड, आइसोलेसन कक्ष र इमर्जेन्सीसमेत कोरोनाका बिरामीले भरिभराउ हुँदा पनि सुत्केरी सेवालाई थप सुरक्षित बनाउन खटिएको उनले बताइन् ।
अस्पतालले सामान्य समस्याका बिरामीलाई घरमै बस्न सुझाव दिएको छ । अत्यावश्यकबाहेक ओपीडी सेवा बन्दै गरिएको अस्पतालका मेसु डा. शैलेन्द्र पोखरेलले बताए । प्रसूति सेवाका लागि भने अस्पताल आउनैपर्ने बाध्यता छ । ‘आएका जोसुकैलाई कोरोनाको लक्षण भए, नभएको खोजी गर्छौं, सामान्य लक्षण भए पनि पीसीआर गराएका छौं,’ उनले भने, ‘डेलिभरी गराउँदा पनि पीपीई लगाउने गरिएको छ ।’
सुत्केरी सेवा लिइसकेपछि अधिकांशलाई घरमै राखेर स्याहार गर्न पठाइएको छ । ‘घरमा भएमा तातो र झोल पदार्थ खान पाउँछन्, अस्पतालमा बस्दा जोखिम बढी छ,’ भट्टराईले भनिन्, ‘संयोगवश धेरै दिन राख्नुपर्ने जटिल समस्या आएको छैन ।’ अस्पतालले प्रसूति कक्ष र अपरेसन गरेका सुत्केरीलाई राख्ने सुरक्षित वार्ड बनाएको छ । जेठ लागेपछि ३ सुत्केरीको अपरेसनपछि कोरोना मुक्त भएर घर फर्केको उनले बताइन् ।
अस्पतालमा ५० संक्रमित नियमित उपचाररत छन् । जटिल समस्या भएकाले अक्सिजनसहित चौबिसै घण्टा चिकित्सकको समेत सेवा चाहिन्छ । त्यसका लागि २ जना डाक्टर र २ नर्सले कोभिड वार्डलाई २४ घण्टे निगरानी गरिरहेको पोखरेलले बताए ।
अस्पतालले जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीलाई बर्थिङ सेन्टर नियमित चलाउन भनेको छ । स्वास्थ्य कार्यालयले पनि प्रसूति सेवा भएका स्वास्थ्य चौकीलाई नियमित सञ्चालन गर्न लगाएको कार्यालय प्रमुख सुरज गुरौले बताए ।
