सिरहा — सिरहाको गोलबजार नगरपालिकाले २५ बेडको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । नगरपालिकाको १ करोड ३५ लाख लगानीमा अस्पताल तयार गरेको हो । नगर प्रमुख देवनाथ साहले अस्पतालको शुभारम्भ गरे ।
अस्पताल निर्माणका लागि स्थानीय समाजसेवी ललितबहादुर थापाले करिब ४ करोड मूल्यबराबरको एक बिघा जमिन निःशुल्क दान गरेका थिए । यसअघि नगरक्षेत्रका होम आइसोलेसनमा बस्न सम्भव भएका संक्रमितहरूलाई राख्ने गरी नगरपालिकाले गोलबजार–३ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा ६५ बेडको आइसोलेसन सेन्टर सञ्चालन गरेको थियो ।
कोरोनालाई नै लक्षित गरी सञ्चालन गरिएकाले यसले अहिले कोरोना संक्रमितको उपचार गर्ने अस्पतालका डा. रामकुमार साहले जानकारी दिए । जिल्लामा पछिल्लोपटक कोरोना संक्रमणको दरमा कमी आए पनि महामारी नियन्त्रणमा अस्पताल सञ्चालनबाट राहत पुग्ने प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए ।
