१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भारतमा कोरोनाविरुद्ध नयाँ औषधि

एजेन्सी

नयाँदिल्ली — भारतमा कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गर्न नयाँ औषधि विकास गरिएको छ । भारतको औषधि नियामक निकायले ‘टू–डीजी’ नामक औषधि संक्रमितको उपचारमा प्रयोग गर्न सोमबार आपत्कालीन अनुमति दिएको हो ।

भारतमा कोरोनाविरुद्ध नयाँ औषधि

भारतीय रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनले सोमबार ‘टू–डीजी’ (टू–डीअक्सी–डी–ग्लुकोज) औषधि सार्वजनिक गरेका हुन् । औषधि डिफेन्स रिसर्च डिभलपमन्ट अर्गनाइजेसन (डीआरडीओ) ले डाक्टर रेड्डिजसँगको सहकार्यमा विकास गरेको हो । डाक्टर रेड्डिज प्रयोगशाला हैदराबादस्थित औषधि उत्पादक कम्पनी हो ।

धूलोका रूपमा प्याकेटमा आउने औषधि पानीमा घोलेर खान मिल्ने गरी उत्पादन गरिएको हो । शरीरका कोषसम्म पुगेर औषधिले भाइरसको वृद्धि रोक्ने तथा ताकत बढाउने बताइएको छ । कम्पनीका अनुसार औषधि आवश्यकताअनुसार जुनसुकै परिमाणमा उत्पादन गर्न सकिन्छ । भारत सरकारले उक्त औषधि ‘कोरोना संक्रमित बिरामीका लागि अत्यन्तै लाभदायक’ रहेको उल्लेख गरेको छ ।

‘क्लिनिकल परीक्षणका नतिजाअनुसार यो मलिक्युलले अस्पताल भर्ना भएका बिरामी छिटो निको हुन सहयोग गर्छ र अक्सिजनप्रतिको निर्भरता कम गर्छ,’ सरकारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा यो औषधि मध्यमदेखि गम्भीर स्थितिमा रहेका बिरामीलाई एड्जंक्ट थेरापी (सहायक उपचारविधि) का रूपमा प्रयोग गरिने उल्लेख छ ।

डीआरडीओका अध्यक्ष डा. जी सतीश रेड्डीले भारतका ३० वटा अस्पताल र ठूलो संख्याका बिरामीमा परीक्षण गरेपछि औषधि सार्वजनिक गरिएको बताएका छन् । सन् २०२० अप्रिलमा गरिएको परीक्षणमा उक्त औषधि कोभिडविरुद्ध प्रभावकारी हुने पुष्टि भएपछि मेदेखि अक्टोबरसम्म दोस्रो चरणको क्लिनिकल परीक्षण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै सन् २०२० डिसेम्बरदेखि २०२१ को मार्चसम्म २ सय २० जना संक्रमितमा तेस्रो चरणको क्लिनिकल परीक्षण गरिएको जनाइएको छ । स्वास्थ्यविद्ले भने कोरोनाको उपचारका लागि औषधिलाई आपत्कालीन स्वीकृति दिन आवश्यक तथ्यांक उपलब्ध नभएको भन्दै आलोचना गरेका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७८ ०५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?