कञ्चनपुर — कञ्चनपुरमा सोमबार कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । ३ जनाको महाकाली अस्पताल, २ जनाको पुनर्वासको कोभिड अस्पताल र १ जनाको दोधारा स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार भीमदत्त नगरपालिकाका ३, पुनर्वासका २ र दोधारा चाँदनीका १ जनाको मृत्यु भएको हो । आइतबार पनि कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको थियो । जिल्लामा हालसम्म कोरोना संक्रमणबाट ८७ पुरुष ३४ महिलागरी १२१ जनाको मृत्यु भएको छ ।
सोमबार जिल्लामा १३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणबाट १०७ र एन्टिजेन परीक्षणबाट २७ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ९६९ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार सोमबार जिल्लामा १६० जनाले कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
