चितवनमा १५ जना कोरोना संक्रमितको मृत्यु

जेष्ठ ३, २०७८

रमेशकुमार पौडेल

चितवन — कोरोना संक्रमण पुष्टि भएर भरतपुरका विभिन्न अस्पतालमा उपचार गराइ रहेकामध्ये सोमबार १५ जनाको मृत्यु भएको छ । यो संख्या हालसम्मकै उच्च हो । यसअघि वैशाख २५ गते शनिबार चितवनका अस्पतालहरुमा १४ जना संक्रमितको मृत्यु भएको थियो । चितवन स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार सोमबार मृत्यु भएकामध्ये ६ जना चितवनका हुन् ।

चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा सात जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । जसमा तीन जना चितवनका हुन् । रुपन्देहीका दुई जना तथा गुल्मी र मकवानपुरका एक/एक जनाको मृत्यु भएको छ । 

त्यसैगरी, पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा चितवनका एकजनाका साथै रुपन्देही, बारा र गोर्खाका थप एक/एकजनाको मृत्यु भएको छ ।

भरतपुरको सरकारी अस्पतालमा चितवनका दुई जनाको मृत्यु भएको छ । त्यस्तै, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कोभिड उपचार केन्द्रमा बाग्लुङ र रुपन्देहीका एक/एकजना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । भरतपुरका अस्पतालहरुमा चितवनभन्दा बाहिरका धेरै संक्रमितहरुको उपचार हुने गरेको छ । सोमबार मृत्यु हुनेमा रुपन्देहीका मात्रै चार जना छन् । 

कोरोना भाइरस

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully