कोरोनाको त्राससँगै बढ्यो योगमा आकर्षण

नारायण खड्का

सिड्नी — अस्ट्रेलियास्थित पत्रकार सुजित सिग्देलले हालसालै सिड्नीमा आयोजित ७ दिने विपश्यना ध्यान गरे । उनीसँगै ध्यान गर्नेमा अन्य करिब एक दर्जन नेपाली थिए । पछिल्लो समय कोरोना भाइरसको संक्रमण फैलिएपछि अस्ट्रेलियामा ध्यान तथा योग गर्ने नेपालीको संख्या निकै बढेको छ । 

कोरोनाको त्राससँगै बढ्यो योगमा आकर्षण

त्यस्तै दक्षिण अस्ट्रेलियामा नेपालीलाई लक्षित गरेर दुईदिने योग शिविर सम्पन्न गरिएको छ । एनआरएनए अस्ट्रेलिया र पुण्य फाउन्डेसनको सहयोगमा ब्रह्मकुमारी राजयोगले गरेको कार्यक्रममा नेपाली मात्र नभई दर्जनौं नेपालीभाषी भुटानीसमेत सहभागी भएका थिए ।

शिविरमा युवायुवतीको समेत उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी संगीतकार रामचन्द्र थापाले योगको माध्यमबाट मनको चिन्ता र तनाव हटाउन सकिने भएकाले आफू सहभागी भएको सुनाए ।

‘अहिलेको अवस्थालाई मध्यनजर गरेर नै कार्यक्रमको आयोजना गरिएको हो,’ एनआरएनए उपाध्यक्ष सन्तोषी गौतमले भनिन् । उनले यस किसिमका अन्य कार्यक्रम भविष्यमा समेत आवश्यकताअनुसार गरिने जनाइन् ।

पछिल्लो समय रोजगारी र अध्ययनको खोजीका क्रममा अस्ट्रेलियामा नेपालीहरूको संख्या बढ्दै गएको छ । त्यसका साथै कोरोना भाइरसको संक्रमणका कारण विभिन्न समस्यासँगै मानसिक तनाव पनि बढ्दै गएको देखिन्छ । मानसिक क्षेत्रमा काम गर्ने नेपाली विज्ञहरूले कोरोना महामारीका कारण जागिर गुमाएका र आर्थिक समस्यामा परेका नेपाली निकै तनावमा रहेको बताउँछन् ।

अस्ट्रेलियाको मेलबर्नस्थित मानसिक रोग विशेषज्ञ डा. अनुपम पोखरेल अहिलेको समयमा अस्ट्रेलियाली मात्र नभएर नेपालीमा समेत मानसिक तनाव बढ्नु सामान्य भएको बताउँछन् । ध्यान तथा योगले धेरै किसिमका तनावबाट मुक्ति मिल्ने भएकाले नेपाली यसतर्फ आकर्षित भएको हुन सक्ने सुनाउँछन् । ‘ध्यानले मानसिक मात्र नभई शारीरिक स्वास्थ्यमा समेत सकारात्मक असर गर्ने भएकाले यसको अभ्यासले निकै फाइदा पुग्छ,’ उनले भने ।

अस्ट्रेलियाका मुख्य सहरहरूमा हाल प्रत्येक साताजसो ‘रिट्रिट र ध्यानसम्बन्धी’ कार्यक्रम आयोजना हुने गरेको छ । जुन कोरोना महामारी आएपछि अझ लोकप्रिय भएको सहभागी संख्याले प्रस्ट पार्छ ।

‘ध्यान तथा योगमा सहभागी भएपछि फोन तथा सामाजिक सञ्जालबाट टाढा भएर एकान्तमा समय बिताउन पाइन्छ । जसका कारण एक सातामा धेरै ऊर्जा दिएको महसुस हुन्छ,’ सिग्देलले कान्तिपुरसँग भने । ध्यान र योगले मनको चिन्ता र तनाव कम गर्ने मात्र नभई व्यक्तिगत समय निकाल्न सकिने भएकाले समेत नेपालीको आकर्षण बढ्दै गएको उनको अनुभव छ ।

प्रकाशित : वैशाख २०, २०७८ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?