ललितपुरले ५० शय्याको आइसोलेसन बनाउने

वैशाख २०, २०७८

कान्तिपुर संवाददाता

ललितपुर — अक्सिजन कन्सन्ट्रेटरसहित ५० शय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याउने ललितपुर महानगरपालिकाले निर्णय गरेको छ । महानगरको आइतबार बसेको बैठकले सुनाकोठीस्थित पोषण पुन:स्थापना गृहमा आइसोलेसन सञ्चालन गर्ने निर्णय गरेको हो ।

महानगरले उक्त स्थानलाई गत वर्ष महिला र बालबालिकाका लागि क्वारेन्टाइनको रूपमा सञ्चालनमा ल्याएको थियो । महानगर प्रमुख चिरिबाबु महर्जनले बागडोलस्थित ज्यापु समाजको वृद्धाश्रम भवनमा पनि एक सय १० शय्याको आइसोलेसन सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।

‘संक्रमणको दोस्रो लहरबाट नागरिकलाई जोगाउन कुनै कसर बाँकी राख्दैनौं,’ उनले भने, ‘यहाँको आइसोलेसन अन्यको भन्दा उत्कृष्ट र बिरामीले राम्रो सेवा पाउन सक्नेछन् ।’ आइसोलेसनमा मेडिकल कन्सल्ट्यान्ट र दुई जना मेडिकल अफिसरको व्यवस्था गर्ने महानगरको योजना छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully