कामकाजी आमालाई थप बोझ

निषेधाज्ञामा घरमै भए पनि परिवारका अन्य सदस्यले साथ नदिँदा धेरै आमालाई ‘वर्कलोड’

वैशाख २०, २०७८

विद्या राई

काठमाडौँ — छोरीको अनलाइन कक्षा भ्याउने कि आफ्नो कार्यालयको काम, निषेधाज्ञासँगै लेखक तथा अभियन्ता विमला तुम्खेवालाई समय व्यवस्थापन गर्न सास्ती थपिएको छ । ‘छोरीको क्लास र छुटाउनै नमिल्ने अफिसको भर्चुअल मिटिङ एकैचोटि परेको बेला त यति हैरानी हुन्छ नि, भनिसाध्य छैन,’ तुम्खेवाले भनिन् ।

लेखन कार्यमा पनि सक्रिय तुम्खेवा पछिल्लो समय बिहान ५ बजेदेखि राति नसुतेसम्म काममै व्यस्त हुन्छिन् । अहिले कोरोना महामारीका कारण भौतिक भेटघाट गर्ने अवस्था पनि छैन । परिवारका सदस्यले आफ्नो कामलाई सहज रूपले हेरिदिँदैनन् । भन्छिन्, ‘ल्यापटप खोलेर बसेको देखेपछि फेसबुकमै झुन्डिएर बसेको छ सोच्छन्, सामान्य अवस्थामा भए १० देखि ५ सम्म अफिसमा शान्तिले काम गर्न त पाइन्थ्यो, छोरी पनि स्कुलतिरै हुन्थ्यो ।’

अरू बेला कार्यालय जाने भएपछि छोरीको हेरचाह र घरधन्दा गर्न परिवारका सदस्यले सहयोग गर्थे । अचेल घरैमा बस्ने ठानेर सबै कामको जिम्मेवारी उनीमाथि मात्र छ । ‘घरैमा आमा छ भनेर अरूले पनि छोरी हेरिदिँदैनन्, मेरो आफ्नै कामले छोरीले पनि आमाबाट पाउनुपर्ने समय पाउँदैन,’ तुम्खेवाले भनिन् ।

तुम्खेवाजस्ता कामकाजी आमाहरूलाई यतिबेला जिम्मेवारी बढेको छ । ‘यसमा त मेरो आफ्नै पनि स्टोरी छ,’ मनोविद् करुणा कुँवर भन्छिन्, ‘तीन कक्षासम्म पढ्ने साना नानी हुनेले सँगै राखेर पढाउनुपर्ने, घरधन्दा, अफिसको काम भ्याउनुपर्ने, कतिपय अभिभावकहरूसँग कुरा गर्दा यो बेला आमाहरूलाई वर्कलोड एकदमै बढेको पाएको छु ।’

पत्रकार लोग्सरी कुँवरका अनुसार भाडामा बस्ने, सीमित स्रोतसाधनले काम चलाउने तथा परिवारमा अन्य सदस्य नभएकालाई त झन्झटिलो मात्रै होइन, खर्चिलो पनि भएको छ निषेधाज्ञाको समय । ‘अरू बेला नानीलाई स्कुल पठायो, आफू आफ्नो काममा जान सजिलो हुन्थ्यो, अहिले त एकजना उसैको हेरालु चाहिएको छ,’ लोग्सरीले भनिन्, ‘छोरीलाई समय दिनुपर्ने त हो तर साथमा अरू नहुँदा समय व्यवस्थापन गर्नै समस्या भइरहेको छ ।’

निषेधाज्ञाले कार्यालय छुट्टी भएपछि बानेश्वरकी सरु ढकालको व्यस्तता झनै बढेको छ । भाँडाकुँडा र लत्ताकपडा धुने, घर सफाइ गर्ने, खानाखाजा पकाउने, खुवाउने काम गर्दै दिन बित्छ । संयुक्त परिवारमा बस्ने भए पनि कार्यालय छुट्टी भएपछि सबै कामको बोझ उनैलाई छ । ‘निषेधाज्ञाका बेला पढुँला भनेर किनेका किताब पनि पल्टाउन भ्याएको छैन । अरूले सहयोग गरिदिने भए केही राहत त हुन्थ्यो,’ उनले भनिन् ।

महिला अधिकारका क्षेत्रमा काम गर्ने संस्था वोरेक नेपालले २०२० जुन १५ प्रकाशित गरेको ‘वुमन्स वर्कलोड ड्युरिङ कोभिड–१९ लकडाउन’ अध्ययनमा लकडाउनमा महिलालाई घरायसी जिम्मेवारी बढेको उल्लेख गरेको छ । गतवर्षको लकडाउनमा गरिएको अध्ययनमा सहभागी कामकाजी महिलाहरूमध्ये ४५.७ प्रतिशतले घरायसी जिम्मेवारी बढेको, ६४.६६ प्रतिशतले घरायसी जिम्मेवारी र कार्यालयको कामकाजको सन्तुलन मिलाउन चुनौती भएको र ७९.५ प्रतिशतले दैनिक १–४ घण्टासम्म कामको बोझ बढेको जनाएका थिए ।

अध्ययनमा २१–३५ वर्ष उमेर समूहका सातै प्रदेशबाट २९ जिल्लाका ३१७ महिला उत्तरदाता थिए । जसमध्ये ७३.८ प्रतिशत विवाहित थिए भने ७७.८ प्रतिशत आमाहरू थिए । गैरसरकारी, सरकारी, विदेशी नियोग, राजनीतिक, शिक्षण, पत्रकारिता, लेखनलगायत क्षेत्रमा काम गर्नेहरू समावेश थिए ।

कोरोना भाइरस

विद्या विद्या राई कान्तिपुरकी संवाददाता हुन् । उनी जलवायु र लैगिंकता, मानवअधिकारलगायत सामाजिक मामिला सम्बन्धी विषयमा समाचार तथा लेख लेख्छिन् ।

Link copied successfully