कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सुरक्षा निकायमा बाहिरी भेटघाट बन्द

सेना, प्रहरी र सशस्त्रका ३ सयभन्दा बढीमा संक्रमण
कैदी र थुनुवासँग बाहिरका मानिसलाई भेटघाट गर्न बन्देज
मातृका दाहाल

काठमाडौँ — तीनवटै सुरक्षा निकायले ब्यारेक र कार्यालयमा अत्यावश्यक कामबाहेकका बाहिरी मानिससँग भेटघाट बन्द गरेका छन् । सुरक्षा निकायमा कार्यरत अधिकृत तथा जवानमा कोरोना संक्रमण देखिएपछि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले कार्यालय र ब्यारेकमा अत्यावश्यकबाहेक सबै भेटघाट र सम्पर्क स्थगित गरेका हुन् ।

सुरक्षा निकायमा बाहिरी भेटघाट बन्द

फिल्डमा तैनाथ युनिट एवं घर बिदाबाट आएका र ब्यारेक तैनाथ रिजर्भ फोर्सबीच घुलमिल हुन नदिन भान्सा र आवास छुट्टाछुट्टै बनाइएको छ ।

बाहिरबाट आएका जनशक्तिलाई सेना र सशस्त्र प्रहरीले अनिवार्य क्वारेन्टाइनमा बस्ने व्यवस्था गरेका छन् । प्रहरीमा भने ब्यारेकीकृत फौजी संयन्त्रका युनिटमा मात्रै यस्तो व्यवस्था गरिएको छ । नियमित ड्युटीमा खटिनुपर्ने र जनशक्ति अपर्याप्त हुँदा आवश्यक उच्चतम स्वास्थ्य सावधानी अपनाएर दैनिक जिम्मेवारी निर्वाह गर्न प्रहरी प्रधान कार्यालयले मातहत युनिटलाई निर्देशन दिएको छ । सेना, सशस्त्र र प्रहरीमा सक्रिय संक्रमितको संख्या ३ सय नाघेको छ । अस्पताल र आइसोलेसनमा प्रहरीका करिब डेढ सय, सेनाका करिब १ सय र सशस्त्रमा करिब ५० जना सुरक्षाकर्मी संक्रमणविरुद्ध जुधिरहेका छन् ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले वृत्तिविकासमा नगरी नहुनेबाहेक सबै तालिम, सेमिनार, गोष्ठी एवं भेटघाट अर्को आदेश नभएकासम्मका लागि रोकिएको बताए । उनका अनुसार वृत्तिविकाससँग जोडिएका तालिम एवं प्रशिक्षण पनि २५ जना नबढ्ने गरी आवश्यक जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गरिएको छ । सेनाले खरिपाटीमा १ सय २५ र सूर्यविनायकस्थित ब्यारेकमा ७५ जना अट्ने आइसोलेसन सेन्टर निर्माण गरेको छ । देशभरका ब्यारेकमा सबैलाई खोपको व्यवस्था गर्न सैनिक अस्पतालहरू, इटहरी, पोखरा र नेपालगन्जबाट मेडिकल टिम खटाइएको छ ।

सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार फिल्डमा खटिएका र ब्यारेकमा भएकाबीच घुलमिल हुन नदिन आन्तरिक व्यवस्थापन त्यहीअनुसार मिलाइएको बताए । उनका अनुसार सशस्त्रमा पनि देशभरका युनिटलाई फौजलाई बिदा नदिन र बिदा सकेर फर्किएकालाई अनिवार्य क्वारेन्टाइनमा राख्न निर्देशन दिइएको छ ।

फिल्डमा नागरिकसँग सबैभन्दा बढी घुलमिल हुने प्रहरीमा भौतिक संरचना र जनशक्ति अपर्याप्त हुँदा रिजर्भ र ड्युटीमा खटिएकाबीच दूरी कायम गर्न छुट्टै मेसको व्यवस्था छैन । प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले भएकै मेसलाई जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गरिएको बताए । सम्भव भएसम्म कार्यालय आलोपालो सिस्टममा जनशक्ति व्यवस्थापन गरेर सञ्चालन गर्न निर्देशन दिइएको उनको भनाइ छ । अपराध अनुसन्धान तथा नियन्त्रण, थुनुवा व्यवस्थापन, फिल्डमा नियमित जनशक्ति परिचालन एवं जोखिम उच्च देखिएका जिल्लामा निषेधाज्ञा जारी भएका कारण त्यसको पालनामा पनि बढी कार्यबोझ प्रहरीमा परेको छ । त्यसका अलवा सशस्त्र प्रहरीलाई सीमा सुरक्षा र सीमा नाकाबाट आउने मानिस व्यवस्थापनमा बढी घुलमिल हुनुपर्दा संक्रमण सर्ने जोखिम बढी देखिएको छ ।

कारागार व्यवस्थापन विभागले भने कैदीबन्दी सरुवा तथा स्थानान्तरण स्थगित गरेको छ । विभागले हरेक कारागारमा कैदीको चाप र जोखिमअनुसार आइसोलेसन/ क्वारेन्टाइनको व्यवस्था गर्न पनि बिहीबार परिपत्र गरेको छ । कारागार सुरक्षामा तैनाथ प्रहरीलाई बाहिर निस्कन पनि रोक लगाइएको छ । अत्यावश्यक काम र अदालतमा कैदीबन्दी लिएर जाँदा उच्च सावधानी अपनाउन भनिएको छ । हालसम्म डिल्लीबजार, नख्खु र नुवाकोट कारागारमा रहेका तीनजना कैदी तथा थुनुवामा संक्रमण देखिएको छ । ललिता निवासको सरकारी जग्गा घोटालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतको आदेशमा अख्तियारकै पूर्वप्रमुख आयुक्त दीप बस्न्यात डिल्लीबजार कारागारमा पुर्पक्षका क्रममा थिए । केही समयअघि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएका बस्न्यातमा कोरोना संक्रमण देखिएको छ ।

संक्रमण फैलिन नदिन देशभरका कारागारमा कैदी र थुनुवासँग बाहिरका मानिसलाई भेटघाट गर्न पूर्णरूपमा बन्देज लगाइएको विभागका निर्देशक रामचन्द्र तिवारीले बताए । कार्यबोझ हेरेर काममा आलोपालो प्रणाली लागू गर्न पनि विभागले देशभरका कारागारलाई निर्देशन दिएको छ । पछिल्लो तथ्यांकअनुसार देशभर कैदीबन्दीको संख्या करिब २४ हजार ९ सय छ ।

प्रकाशित : वैशाख २०, २०७८ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?