अमेरिकाले अस्ट्राजेनेकाको ६ करोड मात्रा खोप बाँड्ने

वैशाख १५, २०७८

एजेन्सी

वासिङ्टन — अमेरिकाले कोरोना भाइरसविरुद्ध अस्ट्राजेनेकाले विकास गरेको ६ करोड मात्रा खोप अन्य देशलाई बाँड्ने घोषणा गरेको छ । उक्त खोप खाद्य तथा औषधि नियामक निकायले सुरक्षा मूल्यांकन सम्पन्न गरेपछि बाँडिने जनाइएको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले एक विज्ञप्ति जारी गर्दै उक्त खोप केही महिनाभित्र निर्यात गर्न सकिने जनाएको छ । विश्वभरि अस्ट्राजेनेकाको खोप प्रयोग भइरहेको भएतापनि अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले सो खोपलाई अझै स्वीकृति दिएको छैन ।

अमेरिकाले खोप थुपारेको भन्दै कतिपय देशले उसको आलोचना गर्दै अएका छन् । राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकारले अमेरिकाले अस्ट्राजेनेका खोप प्रयोग गर्ने निश्चित नभएको बताइसकेका छन् ।

छिमेकी देशहरु क्यानडा र मेक्सिकोलगायतले अमेरिकी आपूर्तिमा पहुँचको अनुरोध गरिरहेका छन् । राष्ट्रपति बाइडनले गत महिना क्यानाडा र मेक्सिकोलाई अस्ट्राजेनेका खोपको ४० लाख मात्रा दिने बताएका थिए । दुवै देशले उक्त खोपको प्रयोगलाई अनुमति दिइसकेका छन् । एफडीएले अनुमति नदिएपनि अमेरिकामा भने उक्त खोपको स्टक रहेको छ ।

कोरोना खोपकोरोना भाइरस

एजेन्सी

Link copied successfully