भारतबाट फर्कनेमा गम्भीर संक्रमित धेरै

दिल्लीबाट आउने ९० प्रतिशतमा संक्रमण

वैशाख १५, २०७८

भवानी भट्ट

कञ्‍चनपुर — भारतको दिल्लीबाट ४० वर्षीय पुरुष सोमबार अर्धचेत अवस्थामा कञ्चनपुरको गड्डाचौकी नाकामा आइपुगे । कोरोना संक्रमणका कारण गम्भीर भएका उनलाई नाकाबाट सोझै महेन्द्रनगरस्थित महाकाली अस्पताल पुर्‍याइयो ।

आईसीयूमा उपचार भइरहेका उनको श्वासप्रश्वाससम्बन्धी समस्या बढ्दै गएपछि सोमबार राति नै मृत्यु भयो । सोमबार गड्डाचौकी नाकामा श्वासप्रश्वासका गम्भीर समस्या भएका दुई संक्रमित आइपुगेका थिए । उक्त दिन भित्रिएका ४ सय ४६ मध्ये २ सय ७७ जनाको एन्टिजेन परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको थियो । 

‘मंगलबार पनि तीन जना श्वासप्रश्वासको गम्भीर समस्या भएका संक्रमित भित्रिएका छन्,’ गड्डाचौकीस्थित हेल्थ डेस्कका इन्चार्ज आकाश बारुडीले भने, ‘संक्रमितको संख्या पनि दिन प्रतिदिन बढ्दो छ ।’ उनका अनुसार मंगलबार १ सय ९५ को एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको छ । परीक्षण गरिएकामध्ये १८ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । ‘भारतबाट फर्किनेमा संक्रमण बढी देखिन थालेको छ, उनीहरू गम्भीर अवस्थाका समेत आउन थालेका छन्,’ बारुडीले भने, ‘दिल्लीबाट फर्किने ९० प्रतिशत संक्रमित छन् ।’ गड्डाचौकी नाकामा फागुन २८ देखि हालसम्म ४ हजार ७ सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ६० जनामा संक्रमण पुष्टि भइसकेको छ । 

नाकामा परीक्षण सुरु हुँदाका डेढ महिनासम्म दुई/तीन प्रतिशतमा मात्रै संक्रमण देखिएको थियो । अहिले परीक्षण गरिएकामध्ये दिनको १७/१८ प्रतिशतमा संक्रमण देखिन थालेको छ । जसमा गम्भीर खालका संक्रमित आउन थालेका छन् । घर फर्किनेमध्ये डेढ/दुई सयको मात्रै परीक्षण हुन्छ । अन्यलाई सोझै सार्वजनिक यातायातमार्फत घरतर्फ पठाइन्छ । परीक्षणबिनै सामान्य चेकजाँचको भरमा घर पठाउँदा समुदायमा संक्रमण बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् ।

नाकामा घर फर्किने सबैको परीक्षणका लागि एन्टिजेन टेस्ट किटको समेत अभाव रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका निमित्त प्रमुख नरेन्द्र रावलले बताए । ‘अहिले लक्षण देखिएकालाई मात्रै परीक्षण गरिरहेका छौं, घर फर्किने सबैको परीक्षण गर्न पर्याप्त किट र जनशक्ति छैन,’ रावलले भने, ‘अहिले हामीसँग २५/३० किट मात्रै बाँकी छ, भोलिका लागि आपूर्ति नभए नाकामा परीक्षण गर्नसमेत अभाव हुने देखिन्छ ।’

उनका अनुसार गड्डाचौकी नाकामा संक्रमण पुष्टि भएकालाई महेन्द्रनगरस्थित आइसोलेसनमा राख्ने गरिएको छ । स्वास्थ्य समस्या देखिए महाकाली अस्पताल पठाउने गरिएको छ । कोरोना संक्रमण तीव्र भइरहेकाले जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि महेन्द्रनगरलगायत ग्रामीण भेगका सबै बजारहरू बिहान ८ देखि दिउँसो ३ बजेसम्म मात्रै खुला हुने निर्णय गरेको छ । 

कोरोना भाइरस

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully