पछिल्लो २४ घण्टामा २७७१ को मृत्यु
काठमाडौँ — भारतमा लगातार छैटौं दिन ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ३ लाख २३ हजार १ सय ४४ जना नयाँ संक्रमित थपिएका छन् ।
अघिल्लो दिनको तुलनामा सोमबार भारतमा संक्रमितको संख्या थोरै घटेको छ । यसअघि आइतबार भारतमा अहिलेसम्मकै बढी ३ लाख ५२ हजार ९ सय ९१ जनामा संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी पछिल्लो एक दिनमा २ हजार ७ सय ७१ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुने १ लाख ९८ हजार ८ सय ९४ पुगेको छ । भारतमा अहिलेसम्म १ करोड ७६ लाख ३६ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ४५ लाख संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या २८ लाख ८२ हजारभन्दा बढी छ । भारतमा पछिल्लो २४ घण्टामा १६ लाख ५८ हजार ७ सय नमुना परीक्षण भएको थियो ।
India reports 3,23,144 new #COVID19 cases, 2771 deaths and 2,51,827 discharges in the last 24 hours, as per Union Health Ministry
— ANI (@ANI) April 27, 2021
Total cases: 1,76,36,307
Total recoveries: 1,45,56,209
Death toll: 1,97,894
Active cases: 28,82,204
Total vaccination: 14,52,71,186 pic.twitter.com/ynq5OSrzCT
भारत विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकमध्ये अमेरिकापछि दोस्रोमा पर्छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा उच्च संक्रमण देखिएको छ ।
महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ७१ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ भने ५ सय २४ जनाको मृत्यु भएको छ । त्यस्तै राजधानी दिल्लीमा दिल्लीमा पछिल्लो २४ घण्टामा २२ हजार ५५ जनामा संक्रमण पुष्टि हुनुका साथै ३ सय ८० जनाको मृत्यु भएको छ ।
पछिल्लो समय नेपालसँग सीमा जोडिएका भारतका राज्यहरूमा पनि संक्रमण बढिरहेको छ । पछिल्लो २४ घण्टामा उत्तर प्रदेशमा २६ हजार ७ सय १९ जनामा संक्रमण पुष्टि भएको छ भने २ सय ४९ जनाको मृत्यु भएको छ । त्यस्तै पश्चिम बंगालमा ९ हजार ७ सय ७५ जनामा संक्रमण पुष्टि भएको छ भने ६८ जनाको मृत्यु भएको छ । त्यस्तै नेपालसँग सीमा जोडिएको बिहारमा पछिल्लो २४ घण्टामा ९ हजार २ सय २८ जनामा संक्रमण पुष्टि भएको छ भने ६७ जनाको मृत्यु भएको छ ।
भारतमा आइतबारसम्ममा १४ करोड ५२ लाख ७१ हजारभन्दा बढीले खोप लगाएका छन् ।आगामी १ मेदेखि अठार वर्षमाथिका सबै उमेर समूहका लागि खुला गरिएको छ । भारतमा १६ जनवरीदेखि खोप अभियान सुरु गरिएको हो । गत १ अप्रिलदेखि ४५ वर्षमाथि उमेरका लागि खोप उपलब्ध हुँदै आएको थियो । तर, कोरोना महामारी नियन्त्रणका लागि खोप अभियान पर्याप्त नभएको भन्दै मोदी सरकारको आलोचना भएपछि उमेर समूह घटाइएको हो ।
