नेपालगन्ज — बाँकेमा सोमबार राति तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको नेपालगन्ज र कोहलपुर तथा दाङको तुलसीपुर उपमहानगरपालिकाका एक–एकजनाको मृत्यु भएको हो ।
वैशाख १२ गते नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ का २६ वर्षीय पुरुषलाई १३ गते कोरोना पुष्टि भएको थियो । उनको सोमबार राति साढे ८ बजे मृत्यु भएको हो ।
कोहलपुर नगरपालिका वडा नम्बर १ का ६० वर्षीया महिलाको बिहान दुई बजेर ४० मिनेट जाँदा मृत्यु भएको छ । वैशाख १० गते मेडिकल कलेजमा परीक्षण गर्दा पोजिटिभ देखिएपछि ११ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो ।
यस्तै नेपालगन्ज मेडिकल कलेजमा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का ७४ वर्षीया महिलाको मृत्यु भएको छ । वैशाख १२ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । उनको बिहीबार बिहान ६ बजेर २० मिनेट जाँदा मृत्यु भएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९२ जना पुगेको छ ।बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या १०६ पुगेको छ ।
